समय बदलिइरहेको छ । मान्छे बदलिइरहेको छ । मान्छेको मन बदलिइरहेको छ । थोरै समयमा धेरै कुरा बदलिइरहेको छ । सङ्घार काटेर भित्र छिरिसकेको एक्काइसौँ शताब्दीले अझ धेरै कुरा बदल्नेवाला छ । पुराना र पाका कुराप्रति मान्छेको चाह हुन्न । त्यसैले चाख र चाहना बदलिइरहेको छ । सोच र विचारहरूमा परिवर्तन आइरहेको छ । बदलिनु भनेको बदला लिनु पनि हो, बदलाले रिस फेर्छ । रिसको आँखा हुँदैन । “रिसाएको बेला बाहुनले त वेद पढ्दैन” भने झन् अरूले के गर्ला ! रिसले मान्छेलाई बदलेर विलकुल पशु बनाउँछ । यसरी बद्नाम हुन पनि बदलिनु पर्छ । नामलाई बद्नाम हुनबाट जोगाउन पनि बदलिनु पर्छ । यो दुनिया अदलबदलमै टिकेको छ । अदलबदलमै रमेको र रमाएको छ । नाम कमाउन होस् या दाम कमाउन, स्वास्नी बेचेर जारी उठाउन होस् या कबुलेको दाइजो नदिने ससुराको टाउको फुटाउनसम्म मान्छे बदलिनु पर्छ । इमानलाई बेइमानमा नबदली स्वाभिमानलाई अभिमानमा नबदली, नैतिकतालाई अनैतिकतामा नझारी, एकसय असी डिग्री घुमाएर त्यागलाई स्वार्थमा र वलिदानलाई आलिशान महलमा परिवर्तन नगरी मान्छे अब बाँच्नै नसक्ने भएको छ ।
बदलिएको परिस्थितिसँग एकाकार हुन सबभन्दा पहिले नाम बदल्न सक्नुपर्छ । नामले कामलाई पनि सङ्केत गर्छ, नामले उसको गुण, स्वभाव र रुचिको समेत प्रतिनिधित्व गर्छ । आमनेपालीका तमाम नाम यसैका उदाहरण हुन् । जोदाहा र लडाकु स्वभाव भएको मानिसको नाम ‘जुद्धबहादुर’ हुन्छ भने कहिलै हार नखाने वा हराउनै नसकिने मान्छेको नाम ‘जीतबहादुर’ हुन्छ । त्यसैगरी जालझेल र षड्यन्त्रमा माहिर मनुवाको नाम ‘शकुनी’ हुने गर्छ भने आफ्नो स्वार्थ पूरा गर्न छुरा उध्याउँदै भए–नभएका कुरा लाउन खप्पीस प्राणी ‘नारद’ कहलिन्छ । चाकडीका नाममा थोपै दान गर्न नसक्नेको नाम ‘दाताराम’, कमिसनको ‘मिसन’ बोकेर आएको हिम्मती ज्यानलाई चिन्नै नसक्नेको नाम ‘नेत्रप्रसाद’ अनि कालो अँध्यारोमा पनि टलक्क टल्कनै नसक्नेको नाम ‘दिपक’ भएर अब व्यवहार चल्न सक्दैन । त्यसकारण पनि रुचि, कार्यक्षेत्र र कामअनुसार ठ्याम्म मिलेर ड्याम्म हुने गरी नाम बदल्नुपर्छ । भन्नोस् तपाईं के गर्न चाहनुहुन्छ ? कुनै पनि खाले ‘टिकट’को थोक बिक्रेता बनेर थोरै समयमा अकुत धनराशी बटुल्ने तपाईंको इच्छा छ भने ‘टिकटप्रसाद’ बन्नु होस् । त्यतिमै पनि तपाईंको चित्त बुझ्दैन होला, तस्करीको जालो फिजाएर यसैमार्फत देश सेवालाई टेवा दिने इच्छा छ भने तपाईं ‘तस्करीलाल’ बन्नुहोस् । त्यसो पनि हैन, शैक्षिक क्षेत्रमा हात हाल्दै बौद्धिक व्यवशाय चलाई यावत् वुद्धिजीविहरूको बुद्धि भुटेर पैसा असुल्ने मनसाय छ भने तपाईं आफ्नो नाम ‘बुद्धिकान्त’ राख्न सक्नुहुन्छ । यस्तो धन्दाभन्दा कम मेहनतमै राजनीतिको ‘फशल’ फल्ने र गज्जबको फलिफाप हुने अरु कुनै विजनेस–व्यापारतर्फ तपाईंको रुचि जाग्न सक्छ । यस्तो रुचि पनि उम्दा रुचिमै गनिन्छ । राजनीति, त्यसमा पनि दलीय राजनीतिमा चुनाव धेरै अर्थमा महत्वको हुन्छ । सम्झनोस् विरोधीलाई बेहोस् पार्ने ‘इथर’ भनेको चुनाव नै हो । चुनाव जित्न कि त ‘खुमबहादुर’ हुनुपर्छ कम्सेकम पनि कि त ‘पाल्तेन’ हुनुपर्छ । ‘ख्यामनारान’ या ‘पलट’ जस्ता नामले चुनावमा नराम्रोसँग पल्टा खान्छन् । पल्टा खाँदैछन् । धेरैले पल्टा खानुृ अवस्यम्भावी भइसक्यो । त्यसकारण पनि नाम बदल्नोस् र यो अनिवार्य सफलताको दैलो उघार्नोस् ।
यसरी नाम बदलिएपछि तपाईंको कामको प्रकृति, क्षेत्र, आम्दानीको स्रोत स्वभावत बदलिन्छ । अनि त्यसै अनुरूप तपाईंको योग्यता, क्षमता, शीप र दक्षता दनादन बदलिन थाल्छ । अब परिवर्तनको बाढी कसैले रोक्न सक्दैन । आफू बदलिएपछि अरू धेरै कुरा बदल्न सकिन्छ । ‘जस्तो आफू उस्तै च्यापु’ हुनु परिहाल्यो नि । यस्तो बेलामा ‘आफू भलो त जगत् भलो’ जस्तो संस्कारले निहुरमुन्टी लाउन बाध्य हुन्छ । अनि स्वयम् नामले दाम कमाउन थाल्दछ, दामले नाम कमाउन थाल्छ । नाम र दामको संयुक्त पहलमा ठूलाठूला कामहरू सम्पन्न हुन थाल्छन् । कामले काम सिकाउँछ, सिकेको कामले काम बढाउँछ, तपाईंको कामले कतिलाई लडाउँछ, सडाउँछ, कतिलाई अगाडि बढाउँछ । परिवर्तनको पर्याय नै यही हो । नाम बदलिएपछि काम बदलिन्छ । काम बदलिएपछि तपाईं सगरमाथा चढ्न हिउँचितुवा आङ्रिता र काजी शेर्पाहरूलाई हेलै जित्नु हुन्छ ।
बदल्ने र बदलिने कुरा मामुली र ख्यालख्याल होइन । जो बदलिन चाहँदैन उसले कुकुरले नपाएको दुख पाउँछ । अदलाबदलको पक्षमा नलाग्ने लठुवाको ‘टेक्ने हाँगो न समाउने डालो’ हुन्छ, यस्तालाई जसले पनि कठालो समाउँछ । ‘हिङ नभए पनि हिङ बाँधेको टालो’ले समेत नराम्रोसँ‘ग मार खान्छ, बेस्वादसँग हार खान्छ । जो बदलिन तयार हुन्छ, उसको जीवनमा भने वसन्तको वहार आउँछ । सुख शान्ति र ऐश्वर्य लहराउँछ । पहिले हिरोसिमामा भएको नरसंहार बदलिन नचाहनुको परिणाम थियो । अहिले इराकमा भइरहेको विष्फोटक धमाका बदल्न खोज्ने सोचको परिणाम हो । हिजो अमेरिका बदलिएको थियो र जापानलाई बदल्न चाहन्थ्यो । यसरी अदलाबदलमा अलमल हुँदा आतङ्कपूर्ण स्थिति पैदा हुन्छ भन्ने कुरा नाकैमुनि देखेर पनि कोही सतर्क हुँदैन भने उसले धूलो चाट्दै दुलोभित्र बस्न बाध्य हुनुपर्छ । बदलाको डण्डा बदलिन नचाहने बज्रस्वाँठहरूको टाउकोमा मात्रै बज्रिन्छ भन्ने कुरा सबै बबुराहरूले बुझ्नै पर्दछ । यस किसिमका बबुराहरूको विचार बदल्न, विवेक बदल्न र बर्गत बदल्न बीसौँ शताब्दीले सकेन । एक्काइसौँ शताब्दीले यसतर्फ उल्लेखनीय पाइला चाल्ने छ भनी आशा गर्नु सर्वथा युक्तिसङ्गत ठहर्छ ।
बाँदर बदलिएर मान्छे बन्यो– जीवविज्ञानले यसै भनेको छ । जीवविज्ञानको स्रष्टा स्वयम मान्छे हो । तर मान्छेको सोच नबदलिएको भए मान्छे र बाँदर उस्तै हुने थिए । सिर्फ मान्छेमै मात्र सीमित रहेर मान्छे अझ अगाडि बढ्न सक्दैन । त्यसै भएर मान्छे बदलिनुपर्छ । दिशा उल्टो होस् कि सुल्टो, बदलिन पाए पुग्यो । कोइली बदलिए काग हुन्छ र धेरै फोहर खान्छ । गाई बदलिए गधा हुन्छ र धेरै धुनुपर्छ । धोएपछि गधा फेरि गाई हुन्छ । यसरी गधा धोएर भएको गाईलाई जति चाह्यो दुहुन सकिन्छ । बिरालो बदलिए बाघ हुन्छ । यसरी बिरालोबाट बनेको बाघले बढ्ता चिथोर्छ, घिच्रो फोर्छ र बढी बाख्रा मार्छ । कुकुर बदलियो भने बहुलाउँछ । बहुलाएको कुकुरले जेलाई भेट्यो उसैलाई टोक्छ । यसरी टोक्ने कुकुरले टोक्दैन मात्रै, रेबीजको जीवाणु पनि सार्छ । अकालमै धेरैको ज्यान मार्छ । तर मान्छे बदलियो भने के हुन्छ ? मानवशास्त्रीहरूको मथिङ्गल हल्लाउने यो प्रश्नको जवाफ मसँग पनि छैन । म नेता भएको भए सजिलै भनिदिन्थेँ– ‘मान्छे बदलियो भने बाँदर हुन्छ ।’ बाँदर बदलिएर भएको मान्छे फेरि बाँदर हुने कुरा त्यति सजिलै पत्याउन कोही मान्छे तयार छैन । तपाईं पनि पत्याउनुस् या नपत्याउनुस्– मैले जानेको गुदी कुरो तपार्इंहरूको अगाडि बिनापूर्वाग्रह राखिदिन मन लागेको छ । त्यो गुदी कुरो भनेको मान्छे बदलिएर बाँदर होस् या बिरालो, चिम्पान्जी होस् या चमेरो, मान्छे बदलिनुपर्छ । नाम र काम बदलिएर मात्रै हुँदैन, सिङ्गुलै मान्छे बदलिनुपर्छ । मान्छे नबदलिए सभ्यताको रथ अब टक्क रोकिनेवाला छ ।

कलङ्की, काठमाडौँ
(मधुपर्क– हास्यव्यङ्ग्य अङ्क २०५४ भदौ)