शहरको कुनै एउटा कन्या पाठशालाको वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरिएको कविगोष्ठीको मलाई पहिलो याद छ । त्यो जिल्लाका प्रमुख जिल्ला अधिकारी सो कविगोष्ठीका सभाध्यक्ष थिए । अगाडिको टेबुलमा फूल र अविरको थुप्रो थियो । अध्यक्ष त्यहाँ गण्यमाण्य व्यक्ति थिए थप साहित्य, कला र सङ्गीतका पारखी पनि । त्यसैले हरेक कवियत्रीहरूलाई कविता वाचनपछि आफूछेउ बोलाएर शिरदेखि पुछारसम्म हेर्दै काँधमा थप्थपाउँथे शिरको केशराशी मुसार्दै । जसले गर्दा वीररसको कविता वाचन गरे पनि यथार्थता शृङ्गार रसमा रूपान्तरित हुन्थ्यो । स्रोताहरू यस्तो प्रोत्साहन सि.डि.ओ.बाट चाहँदैनथे परन्तु पाठशालाका सञ्चालक समितिका अध्यक्ष पनि उनै सी.डी.ओ. थिए जसका अङ्गरक्षकहरू कार्यक्रमस्थल वरपर यत्रतत्र थिए ।

दोस्रो कविगोष्ठी मैले गङ्गास्नान गर्ने क्रमा देखेको थिएँ । कुनै राजनीतिज्ञ सो गोष्ठीका अध्यक्ष थिए । मलाई अझ पनि याद छ उनले ठूलो परिमाणमा बिजुलीपानी पिएको हुँदा स्रोतादीर्घामा पनि त्यसको वास्ना (?) ह्वास्स आइरहेको थियो । गाउँलेहरू पनि सभामा निकै उपस्थित थिए– पाल लगाई बनाइएको गोष्ठीस्थल– छेउमै हिन्दुस्तानी सरकस चलिरहेको थियो । कतिपय गाउँलेहरू सरकसको पालभित्र पस्न खोज्दा झुक्किएर कविगोष्ठीमा पसेका थिए ।

तोकिएको समयभन्दा दुई घण्टा पछाडि कार्यक्रम सुरु भयो । कविगोष्ठी सुरुभएपछि सभाध्यक्ष टेबुलमा शिर राखेर घुर्न थालेकाले कविता त्यति प्रष्ट नसुनिए पनि यदाकदा ताली भने प्रष्टै सुनिन्थ्यो । एक जना कविले आञ्चलिक विषयवस्तुको कविता पढ्न थालेपछि हास्यरसले गर्दा सबै ताली बजाउन थाले जसले गर्दा सरकस भनी भुक्किएर कविगोष्ठीमा पसेका स्रोता पनि खुशी भए । तालीको आवाजले ब्यूँझेर एक आँखा खोल्दै सभाध्यक्षले जनतालाई अभिवादन गरे । कवितामा क्रमशः वीररसको प्रवेश भयो जसले गर्दा सभाध्यक्षले दुवै आँखा खोल्दै टेबुलमा राखेको टोपी शिरमा लगाए । कवितामा कसैले अन्तर्जातीय विवाह गरेकामा प्रताडित भएर मर्नु परेको प्रसङ्ग जब आयो त्यो प्रसङ्ग सभाध्यक्षको छेउमा बसेका उनका निकट सहयोगी दण्डपाणिको जीवनसित ठ्याक्कै मिल्थ्यो । रिसले झोक्किए उनी र टेबुलमा रहेको फूलदानीले कविलाई ठटाए, कविको नाकैमा लाग्यो । अब गोष्ठी रौद्र हुँदै विभत्स रसतिर अघि बढ्यो । सभाध्यक्षले आफ्नै जुत्ता फुकालेर कवितिर हु¥याए । स्रोतामध्ये एकले पाल थेगिरहेको बाँस ढाल्यो जसले गर्दा पालमुनि स्रोता, आयोजक तथा अतिथि सबै देखिए । छेवैको सरकसको व्यवस्थापन आफ्नो सरकस प्रदर्शन स्थगित गर्दै कविगोष्ठीस्थलको उद्धार गर्नतिर लाग्यो ।

एउटा अर्को कविगोष्ठी मेरै टोलमा भएको थियो । एउटा कवि थिए जसको साइकलका कारण कुनै समयमा कुनै एउटी युवतीलाई ठक्कर लागेको थियो, उनै कवि कविता वाचन गरिरहेका थिए । एउटा साधारण घटनालाई लिएर ती कविले यस्तो मार्मिक काव्य रचे जसमा हास्यदेखि लिएर रौद्ररससम्मको प्राचुर्यता थियो । साइकलले धक्का लाग्दा त्यसको प्रक्रिया, त्यसको उद्भव र विकास, भूत र भविष्य तथा सांस्कृतिक र कलात्मक परिणामलाई वडो मार्मिक ढङ्गले अभिनय सहित वाचन गरिरहेका थिए । झण्डै गोष्ठीकै तीन चौथाई भाग समय उनले लिएपछि गोष्ठी आयोजकले समय लिएर मञ्चबाट उद्घोष गरे– “यदि अर्को धक्का कुनै युवतीलाई ती कविले दिए भने त मुलुकको साहित्यिक क्षेत्रले पक्कै पनि अर्को एउटा सुन्दर काव्य पाउने छ । त्यसो गर्न तयार हुने भए एउटा साइकल कविजीलाई इनाम दिइनेछ ।” अर्को एक काव्य अनुरागीले स्रोतादीर्घाबाटै ठूलो स्वरमा उद्घोष गरे– “अहिले यही रङ्गमञ्चमा यहाँ उपस्थित कुनै युवतीलाई राखेर उसलाई धक्का दिई कविता रची सुनाएमा तत्कालै आफ्नो साइकल कविलाई उपहार दिनेछु ।” यति भनेपछि कविको ललाट उज्यालो भयो– उपस्थित एउटी सुन्दर युवतीलाई तानेर उनले मञ्चमा लान खोज्दै थिए, युवतीले चप्पल फुकालेर उनको नाकैमा मर्मत गरिन्– उनका सहयोगीले थपे । अब कविगोष्ठीमा रौद्र र विभत्स रस हावी हुन थाल्यो ।

स्थिति अप्ठ्याारो अवस्थातिर जान लागेपछि आयोजकले मञ्चबाट उद्घोषण गरे– “अब कविगोष्ठीलाई रौनकता दिन यो देशको सिने उद्योगकी प्रसिद्ध नायिका........ लाई मञ्चमा गीत र नृत्यका लागि निम्त्याउँदैछु ।” नृत्य गर्दा पोशाकलाई एउटा पैसा राख्ने लेडिज पर्समा सजिलै राख्न सकिने क्षमता भएकी ती नायिकाको नाम उद्घोषण गर्ने बित्तिकै गोष्ठी हलमा “साइलेन्स” छायो । ती साइकलवादी कवि स्रोतादीर्घाको सबैभन्दा अघिल्लो पङ्क्तिमा बसेका थिए । अब गोष्ठी जम्न थाल्यो ।

अर्को एउट महिला कविसम्मेलनमा भाग लिने अवसर मलाई प्राप्त भयो । कलेजका छात्राहरू गलामा रुमाल भिरेर सुसञ्जित थिए । बृद्धा कवियत्री, जवान कवियत्री तथा किशोरी कवियत्रीहरू एकपछि अर्को गर्दै कविता वाचन गर्दै थिए । एक बृद्धा कवियत्रीले कविता वाचन गरिन् जसमा क्षितिजपारि जाने इच्छा, कुनै निर्मोहीले त्यो इच्छामा तगारो लगाएको यथार्थता र नयाँ प्रेमको खोजीमा आफू लागेको इच्छा सहितको कविता, ताली र हाँसोयुक्त दर्शकदीर्घा रहेकै बेला– उद्घोषकले अर्की कवियत्रीलाई मञ्चमा बोलाए । तीनको एउटा आँखाले पटक्कै देख्दैनथ्यो भने अर्कोले अलिकति देख्थ्यो । उनले आफ्नो हेण्डव्याग बत्तीको छेउमा लगेर एउटा कागत झिकेर वाचन गर्न थालिन् तर दुर्भाग्य घर नजिकको किराना पसलको उधारो बिल परेछ त्यो त ! कवियत्रीलाई भन्दा स्रोतालाई पहिला त्यो कुरा थाहा भएपछि स्रोताहरू थप्पडी मार्न थाले । किराना पसले जसको पसलबाट उधारो लागिएको बिल वाचन गरिँदैथ्यो ऊ झन जोडले ताली पिट्दै सुइय पार्दै थियो ।

यसपछि केही कवियत्रीहरूले क्रमैसित कविता वाचन गरे जसका सपना, तिर्सना, मुटुको साटफेर, घाइते प्रेम तथा उसको यादमा जस्ता शब्द र भावको प्रधानता थियो अर्थात शृङ्गाररस । मैले कुनै पनि कविगोष्ठीको अध्यक्षता गरेको छैन । किनभने एउटा बधाई कार्यक्रमको सभापतित्व ग्रहण गर्न जानलाग्दा बधाईको भागिदारको अवस्थाको मलाई झझल्को आइरहन्छ । मेरै वडाका नवनिर्वाचित वडाध्यक्षको बधाई कार्यक्रमको अध्यक्षता ग्रहण गर्न म जान लाग्दैथिएँ– सडकमा दशबाह्र जना सडक बालबालिकाहरू झुरुप्प परेर कसैलाई सडक किनारातर्फ फर्केर घेरिरहेका थिए । तिनै नवनियुक्त वडाध्यक्ष (जसलाई बधाई दिन म जाँदैथिए ।) नालीमा लम्पसार परेका थिए । ह्वास्स ठर्राको गन्ध परसम्म आइरहेको थियो । ठर्रासित मासु पनि सितन भएर होला मुख, ओठ तथा गाला चाट्न दुई भुस्याहा कुकुरहरू तँछाडमछाड गरिरहेका थिए ।

अनुवाद : नीलकमल