सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सत्र प्रतिशतको थ्यौरी

Nepal Telecom ad

अन्ततः सत्र प्रतिशत कमिसनमा पशुपतिनाथ मन्दिरका आन्दोलनरत पुजारी भट्टहरू तथा पशुपति विकास कोषबीच यावत् कुराकानी मिलेकोमा मजस्तो कुनै पनि धर्म–वर्म नमान्नेलाई त अपार हर्ष लागिरहेको छ भने स्वयम्लाई शत–प्रतिशत धर्म–प्राण ठान्ने मनुवाहरूका के अवस्था होला ?

लामो समयदेखि पशुपतिनाथ मन्दिरमा परम भक्तिभावले चढाइने कुस्त नगद एवम् जिन्सीमाललाई लिएर त्यहाँका परम्परागत भट्ट पुजारीहरू र सम्पूर्ण व्यवस्थापकीय हेरचाह गर्ने अभिभारा पाएका पशुपति विकास कोषमा भीषण द्वन्द्वव चलिरहेको थियो । वस्तुतः यो कमिसनको लडाइँ थियो । विशेष पूजा गरेबापत मूलभट्ट र उनका चेला–चपाटी भट्टहरू कम्तीमा पनि पच्चीस प्रतिशत कमिसनको माग गरिरहेका थिए । यसमा पशुपति विकास कोषका पदाधिकारीहरूको पटक्कै सहमति थिएन । त्यसकारण कमिसनको संघर्ष चरममा पुगेको थियो । लगभग सवा महिनादेखि पशुपतिनाथ मन्दिर वरिपरिको वातावरण तनावपूर्ण थियो । कमिसनको सवालमा कुनै पक्ष अलिकति पनि झुक्न तत्पर थिएनन् । न त लाखौं तलबका साथसाथै अतिरिक्त कमिसन पनि चाहने आन्दोलनकारी भट्टहरू न नेपाल सरकारद्वारा मनोनित पशुपति विकास कोषका सदस्यहरू नै । परिणाममा स्थिति दिनानुदिन विस्फोटक बन्दै गइरहेको थियो । तर एकदिन गजब भयो ! भयो के भने कुन्नि, कसरी सबथोक ट्याक्कै मिल्यो ! अर्थात् सत्र प्रतिशत कमिसनमा ।

एक, दुई, तीन, चार, पाँच, छ, सात, आठ, नौ, दस आदि नभएर पुराका पुरा सत्र प्रतिशत कमिसन पाउन सफल पशुपतिनाथ मन्दिरका त्रिपुण्डधारी भट्ट पुजारीहरूलाई नगदी भगवानको पनि पूजा–अर्चना गर्ने सुनौलो अवसर पाएकोमा साधु–साधु ! यसका साथसाथै यो लम्बेतान हुँदै गइरहेको आर्थिक कचिङ्गल कुशलतापूर्वक निराकरण गर्ने पशुपति विकास कोषका वर्तमान सचिव डा. गोविन्द टन्डनलाई मेरो हार्दिक बधाई छ । डाक्टर टन्डन मेरा मित्र हुन् । कुनै समय हामी सँगसँगै संस्कृति विषय लिएर त्रिचन्द्र कलेजमा अध्ययन गर्ने गथ्र्याैं । उनी संस्कृतिका मेधावी विद्यार्थी थिए । सदैव परीक्षामा अब्बल नम्बर ल्याउँथे । म भने जसोतसो उत्तीर्णसम्म हुन्थेँ । आज मेरा मित्र संस्कृतिमै विद्यावारिधि गरेर पशुपति विकास कोषका सचिव भएका छन् । उनीसँग मेरो प्रत्यक्ष भेटघाट नभएको वर्षौं भइसकेको छ । तसर्थ भलाकुसारीको अवसर पाउने कुरै भएन । अतएव भलाकुसारीको शैलीमा यही रचनामार्फत एकाध प्रश्न ।

यो विशेष पूजा भनेको के हो डाक्टरसाब ? त्यसो भए, अविशेष पूजा पनि अस्तित्वमा रहेको मान्नुपर्ने हुन्छ । याने विशेष नभएकोले सामान्य पूजा भन्नोस् । हामीले गर्ने पूजा यही श्रेणीको नै त होला । यसो ता पूजाआजामा मलाई विलकुलै विश्वास छैन । मेरो मतलव मजस्तो सामान्यजनले गर्ने पूजासँग हो । यस्तो हो भने यो त बर्बादै भयो नि ! किनभने सामान्य पूजा गर्ने सामान्यजनले सामान्य पुण्य प्राप्त गर्नुपर्ने हुन्छ । पूजाको फलस्वरुप पाइने पुण्य । यति थोरै पुण्य पाप बराबर भएन र ? विशेष पूजा गरेर आर्जित पुण्यको अघिल्तिर सामान्य पूजाबाट पाइएको पुण्यको कुनै हैसियत हुने कुरै भएन । अतएव यसलाई पापकै कोटीमा राखे के फरक पर्नेछ ? धर्म, पूजा, पुण्य, पाप आदिको तर्कले यही निष्कर्षतर्फ लैजान्छ । हँ, हामी सामान्य पूजा गर्ने सामान्यजन पापी हौं मित्र ?

मेरा उपर्युक्त प्रश्नहरू विशेष प्रकारका नभएकाले उत्तरयोग्य छैनन् । तर मसँग एउटा विशेष प्रश्न छ । हेर्नाेस्, प्रश्नमा पनि सामान्य र विशेष हुँदोरहेछ । के गर्न सकिन्छ ? मेरो विशेष प्रश्न के हो भने जतिखेर छिमेकी मुलुक हिन्दुस्तानमा आमनिर्वाचन भइरहेको थियो, त्यही बखत यहाँ हिन्दुस्तानी मूलका पशुपतिनाथ मन्दिरका भट्ट पुजारीहरू र पशुपति विकास कोषमा कमिसनको विवाद चर्किएको थियो । दुवै साइड आआफ्ना अडानमा दृढ रहेकाले कामकुरो मिल्ने कुनै उपायको प्राप्ति भइरहेको थिएन । यसरी कमिसनको झैझगडा क्रमशः उग्रबाट उग्रतर हुँदै गइरहेको थियो । तर हिन्दुस्तानी आमनिर्वाचनमा हिन्दु पुनरुत्थानवादी दल भारतीय जनता पार्टीले अभूतपूर्व विजय पाउनासाथ पशुपतिनाथका भट्ट पुजारीहरू र पशुपति विकास कोषका पदाधिकारीहरूका तमाम लेनदेनका कुरा साफसँग मिल्यो । के यो फगत एउटा संयोग नै हो त ? अथवा यसको नेपथ्यमा कुनै अर्काे केही रहेको छ ? म संस्कृति छाडेर अन्य विषय साहित्यमा लागेकोले यस्तो सांस्कृतिक–वांस्कृतिक टाइपको रहस्यवादलाई किञ्चित मात्रामा पनि बुझ्न छाडेको छु । क्षमा गर्नाेस् ।

अन्त्यमा, अब पशुपति विकास कोष र पशुपतिनाथ मन्दिरका भट्ट पुजारीहरूसँग अन्तिम प्रश्न– सत्र प्रतिशत कमिसन नै किन ? साढे सत्र प्रतिशत किन भएन ? अथवा सोह्र प्रतिशत कमिसन हुन सक्दैनथ्यो ? यो सत्र प्रतिशत कमिसनको थ्यौरी के हो ? वास्तवमा यो प्रश्न पनि नभएर तमाम हिसाब–किताबबाट अनभिज्ञ एक सामान्य व्यक्तिको सामान्य जिज्ञासामात्र हो ।

‘कान्तिपुर’ २०७१ जेष्ठ १०

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
ज्वाइँबाबा

ज्वाइँबाबा

विमल निभा
छेपाराख्यान

छेपाराख्यान

विमल निभा
जुत्ता

जुत्ता

विमल निभा
जुत्ता

जुत्ता

विमल निभा