सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

दोयम दर्जा : चाहार जीवन

Nepal Telecom ad

बूढियाले “आज पनि रित्तो हात हो कि कसो” भनेर निराशाजनक स्वरमा हातको पार लगाएर जिज्ञासा गरिन् र मेरो मुखमा पुलुक्क हेरिन् । मेरो हावभावले नै म रित्तो हात फर्किएको लख उनले काटिसकिछन् । मैले पनि हरूवा कुकुरले दाँत ङिच्याएझैँ आफ्ना बत्तिसी देखाएर रुन्चे हाँसो हाँसो र भनो– “मेरो हुर्मत लिने काम सकिएन र ? यसपटक त मेरो कार्यालयले आर्थिक वर्षको सुरुमा दुई बोरा चामल किन्दा मैले लिइएको सापटी कटनी गरेछ र नपुग रकम तलबबाट असुल गरी लिएछ । बैङ्क खाता त रित्तो छ बुझिनौ कि ?” मैले बूढियासमक्ष खसोखास भएको यथार्थ विवरण बताएँ ।

यहाँ साहेब त मान र नाम ठूलो भएको जागिरे हो । फूर्ती गर्नु पर्दैन आजको युग त दामको हो नामको होइन । दामको अगाडि नाम न साम, बुझ्या हो कि होइन ? यहाँको यसै बोझिलो पदले परिवारका हामी सदस्यहरूलाई पनि अँचेटेको छ । मैले त फलानो पदका व्यक्तिकी पत्नी हुँ भन्नुपर्छ रे । मेरो त स्वत्व नै छैन रे । त्यसै पदअनुसार नै मैले आचरण गनुपर्छ रे । कालिदासले पनि ‘प्रमदा पतिवत्र्यगा इति’ भनेका छन् रे । मैले घरमा बसेर कार्यालयमा काम गर्ने पतिको आबरु राख्नुपर्छ रे । त्यसैले “गृहिणी गृहमुच्यते” भनिएको हो रे । अब तपाइँ नै भन्नुहोस् त ए पतिदेव । यो सारी तपाइँको पद सुहाउँदो छ त ?” उनले आफ्नो मामुली सारीतिर औँल्याइन् । “यस ब्यागले तपाइँको पदको इज्जत राख्छ त ?” उनले ठाउँठाउँमा खुइलिएको सधैँजसो आफूले बोकी हिँड्ने पोलिथिनको ब्याग देखाइन् । यसै क्रममा उनले काठको एडी भएको चप्पल देखाएर भनिन्– “आजैमात्र सोलुसनले टाँसेको यस चप्पलले तपाइँलाई गिज्याउँदैन र ? तपाइँको व्यवहार हेर्दा त यसपटकको तीजमा पनि छड्के तिलहरी लगाएर नाच्न पाइएला जस्तो छैन । हुन्छ, हुन्छ, पतिदेव ! म यहाँकै इज्जतका लागि अहिलेको तीजमा माइती घरमा नगएर यसै घरमा थच्चिदिउँला, हुँदैन र ?” एकै सासमा पत्नीज्यूले आफ्ना सारा कुरा राखेपछि मैले भनो– “तिमीले ‘सादा जीवन उच्च विचार’लाई व्यवहारमा उतारेकी छौ, मलाई तिम्रो यसै व्यवहारबाट सन्तोष छ ।” यसरी मैले पनि आफ्ना भित्री वेदनालाई मनभित्रै दबाएर बाहिरचाहिँ आदर्शको वाक्य बोलो ।

सुखा जागिरे मैले परिवारलाई पाल्नुपर्ने अभिभाराले म मनमनै पिल्सिएको हुन्छु, त्यसैले म मान्छेलाई ढाँट्छु छलछालमा गर्छु, लुकिछिपी हिँड्छु । कालु साहुको मुनिम अलि छुचो छ । स्वभावतः त्यसैले मैले सो कपडा पसलेको घरको बाटो नै हिँड्न छोडेको छु । किनभने, उसले त मलाई अरु मान्छेको अगाडि नै छारष्ट पार्छ । तेल घ्यू किन्ने गरेको किरानापसले त अझै तीखो मुखको छ । ऊ “खाँदा पेट हाँसिन्जेल खान्छ, तिर्दा दाँतबाट पसीनाका धारा चुहाउँछ” ठाडै भन्छ । यो त उसको थेगो नै छ । त्यसैले मैले उसको मुखमा भने महीनैपिच्छे जसोतसो ताला लगाउँछु । तैपनि उसले मलाई ‘चिसो मान्छे’ भन्न नै छाड्दैन । ऊ पनि रिसायो भने मेरो चुलामा आगो नै बल्दैन । अन्यथा मैले उसको घरको बाटो हिँड्न पनि छाड्ने थिएँ । डोके तरकारीको उधारो कारोबार त मैले गरेको छैन, जसले भान्छा तयार पार्छ उसैले सो कारोबार गर्ने गर्छ । त्यसबारे मैले धोइपखाली गरेको पनि छैन ।

बिजुली प्राधिकरण, पानी संस्थान र टेलिकम कर्पोरेसन महसूल उठानीमा नाम चलेका अड्डाहरू हुन् । बेला न कुबेला विनासूचना बिजुली झ्याप्प जान्छ तर त्यसको जिम्मा बिजुली अड्डाले लिँदैन र भन्छ– बत्ती ननिभ्ने भए निभ्नु भन्ने शब्द नै बन्दैनथ्यो । धारामा रगतका फाल्सा, ढलमिश्रित पानी आउँछ, पानी अड्डा पनि प्राविधिक त्रुटि भनेर पन्छिन्छ । तोकिएको दिन कट्नासाथ टेलीफोनमा नयाँ आवाज दिएर “पैसा लिएर चाँडै आऊ” भनेर सार्वजनिक आव्हान टेलिकमले गर्ने गर्छ ।

यी सबै साहूहरूको कचकचले अत्तालिएर मेरी सुवासिनीले समस्याबाट मुक्ति लिन सुझाउँछिन् र भन्छिन्– “अब हामीले इज्जतको लागि खान्कीमा नै कटौती गर्नुपर्छ । पेटी र पटुकाको सहारा नलिइकन अब इज्जतपूर्वक बाँच्न सकिन्न पनि । भित्र भान्सामा खोले पकाए पनि कसैले देख्तैन, तर शौचालय मगमगसँग बसाएन भने सबैले थाहा पाउँछन् । छालाभित्रको आन्द्रा बटारिएर के हुन्छ र ? छालाबाहिरको कोट हल्लियो भने त्यत्तिले नै समाजलाई पुगिहाल्छ ।”

सुवासिनीज्यूका सबै कुरा सुनेपछि म पनि विनीत भएर भन्छु त्यसो हो भने मलाई “एक काँधे नबनाऊ त ।” मेरो यो एउटा मात्रै वाक्य सुनेपछि सुवासिनीजीको धेरै अगाडिदेखि नै तयार पारेको भाष्यको धारा फुट्छ “पैसाका लागि– ‘म भैँसी पालूँ ?’ यहाँको इज्जतले दिन्छ । घर अगाडि बनाइने ‘कुखुराको टहरा’ले यहाँको इज्जतलाई धान्छ ? ‘खेती गरूँ’ मैले कुटो कोदालो खेलाएको देखेर छिमेकीहरूले खिस्याउनसम्मन् खिस्याउँछन् । ‘बाख्रा पालूँ’ मलाई छिमेकीहरूले बगरेको पगरी गुताइदिनेछन्, के म बाख्राका लागि खर काट्न बनतिर जाऊँ !” सुवासिनीजीले पेटभित्र केही नराखीकन आफूलाई लागेको कुरा एकै सासमा ओकलिन् ।

मेरो पदसुहाउँदो स्कुलमा भरना नगरिदिने हो भने छोरो चाहिँ ‘म स्कुल नै जान्नँ’ भन्छ । छोरीले त झन् बाबुकै इज्जतले घरजम गर्नुपर्छ । उसलाई पनि लबस्तरो स्कुलमा पठाउने कुरा आएन । म आफू स्वयम्ले पनि पदअनुसारको व्यवहार गर्ने प¥यो । अन्यथा मबाट राष्ट्रिय मर्यादा रहँदैन । यदि पदानुकूल लवाइखुवाइ भएन भने मलाई पदानुकूल आचरण नगरेको अभियोग पनि लाग्न सक्छ । छिमेकीहरूकै स्तरको घर बनाउन सकिएन भने पनि उनीहरूले हेप्ने नै भए । त्यसैले गतिलो घर नबनाउने हो भने इज्जत नै रहँदैन ।

जुठेल्नाका साउने गँड्यौलाजस्ता माथिका कुरा जब मेरा मस्तिष्कमा ल¥याङलुरुङ गरेर खेल्छन् अनि त म ‘तड्पिएर बाँच्नुभन्दा झुण्डिएर मर्नु जाती’ भन्ने मार्मिक उक्ति संझिन पुग्छु ।

यसबेला मेरा मनका क्यानभासमा मेरोभन्दा भिन्नभिन्न शैलीका जीवन बिताएका निम्न वर्ग र उच्च वर्गका तसवीरहरू सँगसँगै जसो खिचिन्छन् । निम्न वर्ग श्रमजीवी छ, उसको एउटै लक्ष्य छ एक धरोले लाज ढाक्ने र दुई गाँसले जीउ बचाउने बस । तैपनि ऊ दुःखी दैखिँदैन । जसको मनमा विशाल तृष्णा छैन, ऊ कसरी दुःखी हुन्छ र ? उच्च वर्ग हठिलो छ, ऊ समाजका हरक्षेत्रमा गतिलो शान राख्न खोज्छ । त्यसैले उसलाई मपाईंको बाजा बजाउँदैमा ठिक्क छ । तर मैले बाँचेको मध्यम वर्गीय त्रिशङ्कु जीवन साँच्चै नै त्रिशङ्कुको नै छ, न त यो जीवन धित मरिन्जेल बाँच्न सक्छ न त दिल खोलेर हाँस्न सक्छ, न त आँत खोलेर रुन सक्छ । अड्कलेर हाँस्नुपर्ने, तौलीतौली रुनुपर्ने र धौधौसँग बाँच्नुपर्ने यो छुसी जीवन के जीवन । यसैबेला म मेरो पदको इज्जत संझिन्छु । अनि यस इज्जतको बोझले म आफू कति थिचिएको छु सो कुराको मूल्याङ्कन पनि गर्छु । त्यसपछि म आफूलाई ‘को को हुँ’ र ‘के के, के के’ हुँ त नि भनेर चिन्ने इच्छा हुन्छ अनि म गमीगमी यसरी गणना गर्न थाल्छु ।
म सुवासिनीज्यूको भर्ता हुँ, त्यसैले मैले आफ्नो इज्जत जोगिने गरी उनको भरणपोषण गर्नुपर्छ । म छोराछोरीहरूको पिता पनि हुँ त्यसैले मैले उनीहरूको पनि लालनपालन गर्नुपर्छ । मैले इष्टमित्रहरूको भरपूर स्वागत गर्नुपर्छ । त्यसैले मैले मगमग बसाउने जेठोबूढाबाको चामल र अरहरको दाल हुनुपर्छ । मैले रवाफिला पाहुनाहरूको मर्यादा पनि पु¥याउनु पर्छ, त्यसैले मैले एक कप मीठो कफी हुनुपर्छ ।
यसैगरी सोच्तै जाँदा बूढियाको फुलीबुँलाकी अनि नौगेडी र छड्के तिलहरी पनि म आफू नै हुँ कि जस्तो लाग्छ । ऊ आफूलाई स्कुलको फि र ‘ड्रेस’ मा रूपान्तरित भएभएजस्तो लाग्छ । अझ म अगाडि आफूलाई तन्काउँदै जान्छु अनि मैले आफूलाई कहिले ‘नून’ भएको पाउँछु त कहिले तेलका रूपमा तरलित भेट्छु । अगाडि बढ्दै जाँदा आफूलाई शौचालयको हर्पिक्स, अलिकति अडिनल र केही धेरै फेनिल भएको देख्छु । कहिलेकाहीँ मलाई रोग पनि लाग्छ, अनि त सम्झन्छु मेरो नाम औषधी पनि त हो । यसैबेला मेरो स्मृतिमा मोट्गाडी चढेको याद आउँछ र मैले भन्ने गर्छु म अलिकति भाडा पनि त हुँ नि । साँच्चै भन्ने हो भने करै करले किनेको रङ्गिन टि.भी. भिसिडी डेक र यिनै सामानहरू खरीद गर्दा बाँकी रहेको किस्ताबन्दी पनि म आफैँ हुँ ।

यसरी हिन्दुहरूले विष्णुका हजार नाम पु¥याएर अरू नामहरू गन्न नै छाडेझैँ मैले पनि मेरा अनेकौँ नाम र उपनामलाई तन्क्याउन नसकेपछि वेदान्तीहरूसँग शब्दसापटी मागेर नेतिनेति भनूँ किझैँ लाग्छ । यथार्थमा म मध्यमवर्गको जागिरे हुँ र परिवारका लागि लिऊँ न छोडूँको काँडो पनि हुँ । मेरो परिवारलाई उनीहरूले जानेर र गर्नसक्ने काम गर्न मैले पदले दिएको छैन । तसर्थ मेरो यो दर्द मेरी सुवासिनीजीले भनेझैँ म स्वयम्लाई र मेरो परिवारलाई पनि बोझ भएको छ । अन्यथा मेरी जाँगरिली सुवासिनीले आफूले दोहोरेको काम भैँसीलाई घाँस काटिथ्न होला । छोराले पनि कुखुरालाई दानापानी दिन्थ्यो होला, तर के गर्नु र खोई ? उनीहरूलाई क्षमताअनुसार काम गर्न पनि मेरै पदले दिएको छैन । यसरी मेरो पदको रूपले सिङ्गो परिवारलाई चिस्याएको छ । त्यसैले त अनुभवीहरू भन्ने गर्छन्– “यो पदचाप रक्तचाप भन्दा पनि खतरा र पश्चात्तापभन्दा पनि खतरा हुँदो रहेछ ।” के मेरो यो जीवनशैली यस भनाइभन्दा परको छ र, अ हँ छैन हकि ?

पोखरा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad