देशलाई गहुँ जसरी चुटे
त्यसपछि धूलो पिठो पारे
खोलाका खोला रगत आँसु हालेर मुछे
रास्ट्रियताको ट्रेमा राखे
त्यसमा फेरि असहिष्णुता थपे
केहि अराजक स्वादको क्रिमको तह बनाए ।

विग्रहको रंगलाई अझ गाढा पारे
स्वार्थका दुर्गन्ध धेरै नै छर्के
अनि अस्थिरताको आँचमा पकाए ।

त्यसपछि पाक्यो, देश एउटा केक सरह
सजायो त्यसपछि एउटा खुल्ला शो केशमा
साथमा राख्यो एउटा चुपी पनि !

अनि बिज्ञापन गरे ...
रास्ट्रिय दैनिकहरूमा
टेलिभिजन च्यानलहरूमा
एफ एम स्टेसनहरूमा ।

केक भाग लाउन
एकलौटी नै चाख्न
तँछाढ मछाड छ ।

के देश केक बनेकै हो त ?