राम बन्दै आयो हराम….
कोही मलाई मुख हिस्स पार्दै फोस्रो बदाम भन्थे
कोही तँलाई घन ठोक्नु पर्ने काँचो फलाम भन्थे
सोध्थे कसैले किन व्यर्थ यस्ले हाम्रो कपाल छाँट्यो
लट्टा हुनेले फुटपाथको यो नौलो हजाम भन्थे
केही सराबी त मात्नु माती भन्थे म श्राप दिन्छु
ध्यानी थिए जो शीर नै झुकाई हाम्रो प्रणाम भन्थे
लामो छ यात्रा दिन ढल्न लागे सुस्ताइ बस्छ को र ?
दौडें कि यस्तो ! परबाट हेर्ने लाऊ लगाम भन्थे
कोही थिए जो नव ‘राज’ खुल्दा बेहोश नै भएछन्
कोही थिए जो खुद राम बन्दै आयो हराम भन्थे ।