हो जमाना उल्टो भो ! उहिले उहिले नेताले माछा माछा भन्दै भ्यागुतो देखाइदिन्थे । जनता पनि हो न हो माछै फेला पारे भनेर तिनका पछि यसरी उफ्रन्थे जसरी तातो तावाका फुलौरा उफ्रन्छन् । नेता भने मनमनै जनताका नाममा भ्यागुतो भ्यागुतो भनेर माछा हात पार्थे । क्या भ्यागुतो ! क्या माछा !

हे जनता जनार्दन भ्यागुतोको विहे नगरी पानी पर्दैन ! यो कुरा वैज्ञानिकका बाजेलाई के पत्तो ? त्यसै हाम्रा नेता भ्यागुतोको पछि दगुरेका हुन् र ? कसैलाई भ्यागुतोले पुच्छरको पानी छर्केर आँखै गए के भो त्यसलाई सहिद घोषणा गरेर आफ्ना बाउका विर्ताबाट माछैमाछा ! अनि भएन नेताको जय भ्यागुतोको विजय ?

राजनीति भनेको भ्यागुताको धार्नी हो । यो कुरो लाटालाई थाहा भए पनि घाट दौडाउन लागेका नेतालाई पत्तो हुन्न । किन भन्नु होला भने एक मुठी सास छन्जेल उसको आश प्रधानमन्त्री बनिहालिन्छ कि भन्ने हुन्छ । दुई तिनौटा मोटा भ्यागुतो बसेर धार्नी पुग्यो भन्न भ्याएको हुन्न भर्खर राजनीतिमा लागेका बच्कनाजस्तै चेपागाडा उफ्रेर सन्तुलन हाइचट । नभए नेताहरू बाख्राको पुच्छर खाएझैं किन हुन्थे ? किन उफ्रन्थे ?

कुवाको व्याङलाई कुवै संसार । कुवामा जति उफ्रे पनि कुवाको कुवैमा ! कुनै नेता आएर एकलोटा पानी खत्याइदियो बस हो न हो आयो असार ! भ्यागुतो रमाएर उफ्रने भैगए । अझ कराउने कुरामा त गाउँ थर्काउने भै गए ।
भ्यागुतोको यस्ता करामत कर्तूत देख्दा राष्ट्रिय जीव भ्यागुतो बनाउनु पर्ने हो । साँचै भन्ने हो भने 'छलाङ्ग' भन्ने शब्दका महान् स्रष्टा भ्यागुता नै हुन् । यसो भन्दैमा भ्यागुताको बारे पीएच.डी. गर्ने धून चढ्ला । माफ गर्नोस् ! यो विषय पीएच.डी. गर्ने नभई पीएच.डी.ले आफ्नो अनुसन्धान बोकाएर दौडाउने विषय हो । अर्थात् भ्यागुते बुद्धि विना कसै कसैको पीएच.डी. पूर्ण हुँदैन । अब हेर्नोस्, विद्यार्थीले भ्यागुतो सिद्धान्त अँगाले मात्र विश्वविद्यालयको पासोजस्तो रहेको कुम्भीपाकबाट मन्त्रीको मनमोजी महलमा भ्यागुतो उफ्राई गरेरै पुग्न सकिन्छ । अरू त अरू अर्थशास्त्रकै कुरा गर्ने हो भने पनि अरू सारा सिद्धान्त भ्यागुतोमा चढेर नउफ्रने हो भने तिनको गति दुर्गति !

यस्ता महान् भ्यागुताको गुण गीत एउटा जापानी हाइकुकारले पनि नगाएका हैनन् ।
जीर्ण पोखरी
भ्यागुताको छलाङ्ग
जल आवाज

भ्यागुतो दिवसमा नेताले विश्व नहाँक्ने हैनन् । साँच्चै भन्नुपर्दा कुवाको व्याङलाई कुवै संसार । संसार विचित्र छ । योग गर्नेले भुँडीभित्र बाहिर हल्लाएको भ्यागुताको गर्धन देखेर हो । सानो भए पनि ठूलो आवाज निकालेर आफ्नो वरपर थर्काउन सकिन्छ भन्ने आविष्कार नेताले भ्यागुताबाट सिकेका हुन भने जम्प गर्ने विद्या त भ्यागुताकै हो । त्यसैले त भ्यागुतो हेरेरै, भ्यागुतो पढेरै भ्यागुतो बुझेरै मान्छे डाक्टर बन्छ र भुँडी फुलाउँछ ।
भ्यागुतो नबुझ्नेले जीवन कहाँ बुझ्छ ? यही बुझेरै कत्रा कत्रा साधु सन्त, आधुनिक ऋषि मनिषि र उत्तर आधुनिक स्वामी, भगवान् बाहिर बाहिर बकुल्ला आसनमा देखिए पनि भित्र भित्र भ्यागुतो आसनमै आकषिर्त छन् । चार हात खुट्टा टेकेर शक्ति साधना गर्नु भनेकै भ्यागुते आसनमा मुक्ति चाहना गर्नु हो । यो गहिरो कुरा भ्यागुताले टरटर गरेजस्तै नजान्ने मास्टरलाई सोधे पनि पत्तो लाग्छ । उही नक्कली सर्टिफिकेट धारीले मात्र नक्कली कुरो गर्ने हुन् ।

भ्यागुता पनि हेर्नाका छन् । हाम्रा काठै कछाडका भ्यागुता खुला बाकसमा हालेर यात्रा गराए पनि एउटा तलमाथि हुन्नन । कारण एकले अर्काको खुट्टा तान्ने गरिरहेकै हुन्छन् । यति नभए माथि उक्लने सामथ्र्य भएका भ्यागुताको ढाडमै चढेर पनि बरू दुवै तल र्झछन् । माथि उक्लन दिन्नन ।

भ्यागुताकै बिहे गर्दा भ्यागुतो जन्ती जान्न । मान्छेलाई बोकाउँछन् । भ्यागुती अनुहारका दुलहीलाई ब्युटी पार्लरले मर्मत नगरिदिने हो भने भ्यागुती भ्यागुती नै बन्छन् । भ्यागुतोको बिहे होला तर भ्यागुतीको कहाँ होला । कुवाको व्याङ कुवामै भनेझैं भ्यागुती केही नपाए नाइट क्लवमा नाइटो देखाउने डान्स त छँदैछ । यस्ता भ्यागुतीको डान्समा चान्स लिने उत्तर आधुनिक नेता भ्यागुता मार्कामा पर्खाल उफ्रेर चढ्न खोज्दा पाखाको पाखै पर्छन् । भ्यागुताको कला नजाने पछिको गति यही हो दुर्गति !

साँचै भन्ने हो भने भ्यागुता र मान्छेको बनोट उस्तै देखेर चिरफारको डाक्टरी सिक्लाइमा भ्यागुतै फेला पर्छन् । एकथरि भ्यागुता कुवामा बसेझैं मान्छे पनि कोठैमा बस्छन् । पानीको कुवा देख्नु हुन्न छलाङ्ग मार्छन् । मान्छे पनि त्यही न हो मौका पाउने वित्तिकै जहाँ पनि हाम्फाल्छन् । भ्यागुतो दर्शन गहिरो छ । किनकि भ्यागुतो स्यालको हुइँया जस्तै सबै एकपल्ट कराएर वातावरण हल्लाउँछन् । यस अर्थमा माछा लाटा हुन् । यसैले त माछा फेला पर्छन् । भ्यागुता पाक्डिए पनि छुट्छन् ।

अझ रूपकै कुरा गर्ने हो भने नेताहरूले भुँडी भ्यागुताकै जस्तो बनाएका हुन्छन् । बाटामा भेटिने जेसुकै होस् भ्यागुतोले च्यापचुप पारे जस्तै नेताले झ्यापझुप पार्छन् । भाषण गर्दा भ्यागुतोले कराउँदा मुख बाए झैं ओठ फाल्दै डाँकै छोड्न लागेझैँ गर्छन् नेता । त्यसै भ्यागुते छलाङ्ग राजनीतिमा पसेको हो र ? तर छलाङ्ग मात्र नजाने उही भ्यागुतोकै गति जति उफ्रे पनि खाल्डाको खाल्डैमा । होस् गर्नुहोस् ।

युवामञ्च २०६८ असार