बानीका बारेमा चर्चा गर्दा नौरङ्गी उदाहरण फेला परेको हामी पाउँछौं । हजारौं मानिसका हजारौं मन छ । जति टाउका उति बुद्धिको वर्गीकरणको झन्झट आउँछ । आवश्यकताको भ¥याङमा जति उक्लियो त्यति सङ्कटको व्यारोमिटरमा अङ्कको बढोत्तरी बिर्सिएर वा सम्झिएर जताबाट भए पनि फुर्को जोड्न मिल्ने वाक्यांश केजाति हो भन्दा त्यति आत्तिइहाल्नु पर्ने क्षण भने पक्कै नआइहाल्ला ।

नेपाली भाषाको भकारी पैट्याउँदा यस्ता शब्द र वाक्यांश भेटिन्छ, जसले सयौं समस्याको समाधान गर्दछ र पचासौं समस्याहरू थुप्रिन्छ । हाम्रो भाषाको डङ्गुरमा हात हाल्ने हो भने त्यस्ता वाक्यांशलाई मज्जैले नै मुठ्याउन मिल्दछ । कस्तो अरे, केजाति, कसरी रे आदि वाक्यांशमा डुबुल्की मारेमा अर्थको गहिराइमा पस्न संक्रान्ति र मसान्त कुर्नु पर्दैन ।

तपाईंंको र मेरो एक–एक ओटा खराब बानी सिङजुरो हालेर काँधिएको नै छ । यो विश्लेषण मेरो मात्र होइन तपाईंंले पनि ल्याप्चे ठोक्नु भएको सबुत प्रमाण छँदैछ । तपाईंं प्वाक्क बोलिहाल्ने र म ख्वाक्क खोकिहाल्ने । शब्दकोशको साँचो खोल्दा ख्वाक्क खोक्नुको सिधा अविधात्मक अर्थ अर्कै होला । तर कथ्य भाषाको सिँढी उक्लँदा भने फूर्तिसँग सिधै गाँसिन्छ । अब अरूका बारेमा मेसो बढाऊँ । कतिपय मानिसहरू केजाति नामको वाक्यांश प्रयोगमा बढी रौसिन्छन् ।

बढी बोलिँदा र घटुवाको नियति व्यहोर्दा केजातिको वाक्यांशले ढकनीको काम फत्ते गर्ला । उदाहरण दिएर तपाईंंको दिललाई खिचौँ । शिक्षक पेशा केजाति शब्दले कान्तजन खडा हुन्छ । भाइबहिनीहरू भोलि के बन्ने रे ? प्रश्न भुइँमा लम्पसार हुन नपाउँदै सबैका अनुहारमा कान्तिको प्रवेशले बेग्लै गुलियो वातावरणको दृष्टिगोचर हुन्छ । आहा ! क्या राम्रो प्रश्न । आफ्नो रुचिअनुसार बन्न पाइने डाक्टर, इन्जिनियर, पाइलट, वकिल, नेता, वैज्ञानिक, आविष्कारक, शिक्षक, ड्राइभर, पुलिस, आर्मी, निजामति बन्न बाध्य हुन नै नपर्ने । नाङ्गो पाखामा वृक्षरोपण गर्छु, गाईफर्म खोल्छु, घट्ट चलाउँछु, स्वदेशमा नै बिकिने पेशा अँगाल्छु, सरकारीस्तरको धोक्रो खुस्किए निजीस्तरमा भए पनि उद्योगधन्दा खोल्छु । यी यस्तै मानचित्र सल्बलाउँछ अनुहारमा । अनि प्रश्न सोध्ने शिक्षकप्रति आदरको धारा निःशृत हुन्छ । एक्काइसौं सदीको पुछारमा मात्र किन यी यस्ता गुरुजन जन्मिए उहिले केले बिर्को लगाइएको होला ? यसरी हल्लीखल्लीको वीउ बन्दछ केजाति ।

शिक्षण पेशामा मात्र किन थोपरौं केजातिको लोकप्रियता । साहित्य, राजनीति, इतिहास, भूगोल, संस्कृतिमा पनि केजातिको प्रयोगमा झुल्किने चामत्कारिक रूपमा तपाईंजस्ता लठूवाको दिमागले के नै पो ठम्याउला र ! सब्ल्याँटो दुनियाँमा त्यति भरपर्दो नलागे पनि बिप्ल्याँटो चुरिफुरीमा यसलाई औधी मायाप्रेमको कान्तजन खडा छ । राजनीतिका चतुरगिरीलाई सत्तारोहणमा कम दर्बिलो सोपान बन्दैन केजाति । हामी हाम्रो पवित्र भूमिलाई केजाति बनाउन चाहथ्यौं तर हाम्रा विपक्षी महोदयहरूले खुट्टीमा साँङ्लो लगाइदिए । यसबाट ब्राह्मण बुझ्दछ ब्रह्मराज्य, क्षत्रिय बुझ्दछ खस राज्य, तामाङ बुझ्दछ तामसालिङ, मगर मगरात, गुरुङ तमुवान् टन्टै खत्तम ।

सत्तारोहणमा विराजमान दलको नेता कुर्लन्छ । हामीले पृथ्वीनारायणको तरुललाई सधैं तरुल बनाउन चाहँदैनौं । त्यो तरुल एक दिन दुई ढुंगाले चेपिन सक्दछ । हो, त्यसबेला ढुंगाको थिचाइबाट नफुट्ने ओखर बनाउँछौं । त्यसको साइज घटेको हुन सक्दछ । अब, यसलाई हाइलाइट गर्दछन् भने केजाति झारिदिनुहोस् भीडबाट ताली बज्दछ ।

अस्ति तपाईंंले झारिदिनुहोस् भन्नुभयो । के यस्तो भाषण गर्न तपाईंंलाई लज्जाबोध हुन्न । पत्रकार महोदय, त्यसलाई मैले केजाति लुकाएकै छैन । प्रतिपक्षीको झारिदिउनुहोस् कहाँ ओकलेको हुँ र । आफ्नो रिसको पारो झारिदिनुहोस् पो भनेको हुँ । मलाई त्यति कमजोर केजाति नठान्नु होला । त्यसो हो भने म पनि केजाति गर्न सक्छु । पत्रकारहरूले सोधे केजाति गर्न सक्नुहुन्छ ? म फेरि अर्को पत्रकार सम्मेलन गरिदिन सक्छु । सबै जिल्ल !

अब राष्ट्रपतिले एक दिन सरकारको नीति तथा कार्यक्रमको चाबी खोल्छन् । हाम्रो देशमा प्रतिपक्षीको पनि आड अडेसोको जरुरत छ । यसमा यहाँहरूको बलियो समर्थनले राष्ट्र गौरवान्वित हुनेछ । सत्तापक्ष सिंगापुरको सपनामा पुग्दछ, क्षेत्रीयतावादीहरू एक प्रदेशको । जातीयतावादीहरू जातीय राज्यको रहमा । गणतन्त्रवादीहरू बलियो गणतान्त्रिक देश र राजतन्त्रवादीहरू राजतन्त्रको पुनरागमनमा । फेरि एक सभासद कुर्लन्छ यो केजाति नियम लुकाउने रिजर्भट्याङ्की ? राष्ट्रपति भन्दछन् त्यो तपाईंंले केजाति सोच्नु भयो होला त्यो केजाति होइन ।

संसददेखि अदालतको दैलोसम्म जोगिन मिल्ने केजाति साँच्चै जनप्रिय, लोकप्रिय, हाँसोप्रिय छ । थोमसदेखि जर्ज वनार्डसम्मले निर्धक्क प्रयोग गर्न मिल्ने अलि प्रजातान्त्रिक छ । आलुको व्यक्तित्वझैं यसको व्यक्तित्व चुलिन्छ सर्वक्षेत्रमा । तरकारीमा पिँडालु मिसाएको दिन भन्नुहोस् केजाति मिसाउँछ भनेको केजाति पो मिसिएछ । घरकी बूढीलाई रणचण्डीबाट प्रियम्पदामा फेर्न यो शब्द काफी छ । म शक्तिमा पुगेँ भने तिमीलाई केजाति बनाइदिन्छु । छोरो बुझ्छ, आमा मन्त्राणी बन्दै हुनुहुन्छ । बुहारी बुझ्छे घरको साँचो मलाई दिएर देशको साँचो सम्हाल्न पुग्ने हुनुभयो । सासूबज्यैको चमकदमक नै अर्कै । कार्यकर्ताले बुझ्दछ राष्ट्रको पक्षमा फाँसी चढ्न तयार हुनेको पत्नी । बूढी बुझ्दछे तीन तोलाको घोगेतिलहरी ।

सर्वक्षेत्रलाई सुहाउने यो शब्द अब यो लम्फू लेखकको लाज जोगिएको भेउ पाउने हुनेछ । मैले केजाति कोरेको छु । यहाँको बौद्धिकतालाई सम्मान गरेँ । आख्यानकार बुझिदिन्छ कति राम्रो आख्यान । निबन्धकार बुझिदिन्छ कति गज्जबको निबन्ध । नाकटकार बुझिदिन्छ सडक नाटक मात्र होइन यो त नाटक बन्ने क्षमता बोकेको छ । अब मर्ने बेलामा भनिदिनुहोस् म सबैको केजाति भएको छु । बैंक बुझ्दछ ऋणदाताप्रतिको सम्मान । शिक्षक मुस्कुराउँछ छोराछोरी राम्रो पढाइ दिएबापत । बुहारी लयालु बन्छे बेलाबेलामा चिया पकाएर दिएबापत । नेता खोक्छ हस्पिटल भेट्न गएको कारण, पुरोहित भन्दछ गाईदान समयमा गरिदिएबापत । छोराछोरी बुझिदिन्छन् कुशेऔंसीमा घेरा लगाएर बुबालाई खुवाएबापत, छिमेकी खुसी साट्छ धेरै खटेकाले ।

अँ, अब के जातिको शब्द आफैंमा कति सर्वप्रिय छ । जसरी तसरी लेखिएको यो कानाकौडीको लेखलाई तपाईंंहरूले पक्कै केजाति भन्नु हुनेछैन ।
जोरसलाम के जाति !

सिन्धुपाल्चोक