यो काठमाडौं सब हात माडौं
जाडो महीनाभर नाक माडौं
खेतै नरोपौं तर धान माडौं
मौरी नपालौं मह मात्र काढौं ।

खोले निली डम्म भुँडी भसारौं
भुजा भनी शान दिंदै डकारौं
गुन्द्री बिछाई घर रात काटौं
चिटिक्क भै बाहिर सूट डाटौं ।

कलेजका गेटहरू चहारौं
कता ठिटी छन् रमिता निहारौं
सलक्क पारेर कपाल कोरौं
कर्के गरी नेत्र कटाक्ष जोडौं ।

टीभीहरू फेसन लागि हेरौं
कुरा कसैका नसुनौं नटेरौं
न जाँचमा अक्षर एक कोरौं
परन्तु हूँ पास भनेर घेरौं ।

विद्वान् हुँ झैं बन्न किताब बोकौं
चुरोट तानौं अनि खूब खोकौं
कुनै दुई वाक्य रटेर घोकौं
ज्ञाता हुँ भन्दै अनि ताल ठोकौं ।

बिहान ढपका छवटा चहारौं
कुरा यताका उसतर्फ सारौं
साक्खै सबैको म भनेर पारौं
जस्तै परोस् हिम्मत नै नहारौं ।

निर्धा मिले लात दिई पछारौं
ठूला मिले दाँत ङिचिक्क पारौं
सोझा मिले भाषण खूब झारौं
कुर्सीसँगै नाल लगेर गाडौं ।

भट्टीभरी मित्र समाज डाकौं
मोमोसँगै लोकल जाँड राखौं
आफै नबुझ्ने कविता फलाकौं
प्रज्ञा प्रतिष्ठान सदस्य ताकौं ।