सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सुकेलुतोमा अँगेरीको मुन्टा

Nepal Telecom ad

भट्ट र राई दुई थरको योगफलले भट्टराई बनेको हो भनी भाषावैज्ञानिक निस्कर्ष निकाल्ने हो भने मेरो गर्धन जोखिममा पर्ने सम्भावना छ । गर्धन नै छिनेपछि ज्यान कसरी पो ज्युँदो रहला र ! ज्यान त सबैलाई प्यारो हुन्छ । म पनि मेरो ज्यान जोगाउन ज्यान गए पनि त्यसो भन्दिन । एकछिन ऋषिमुनिले झैं आँखा चिम्लेर ध्यानदृष्टि लगाई शेषको अर्थ पहिल्याउन थालें– बाँकी रहेको । अनि तपाइँ चाहिँ के बाँकी रह्यो भनेर मलाई सोध्नु होला । म ता भन्छु अब के पो बाँकी रहेको छैन र यहाँ ? सबै कुरा बाँकी नै छ । संविधान बिना नै देश चलेको आधा दर्जन वर्ष बित्न लाग्यो, संविधान बन्न बाँकी छ । अदालतले झगडियालाई दिएको तारिक सरे झैं चुनावको भाका सरेको पनि धेरै भइसक्यो– चुनाव हुन नै बाँकी छ । चुनाव भएछ नै भने सरकार बनाउने कुरामा हुने भिषण छिनाझप्टी र किनबेच सहितको उखरमाउलो हुन पनि बाँकी नै छ । यही प्रमुख बाँकीले यो देशका अरू धेरै कुरालाई बाँकी बक्यौतातिर ठेलिदिएको ठिक साँचो हो छड्के किनारामा साँछी राखिरहनै पर्दैन ।

हाँसो र व्यङ्ग्य मन पराउने मित्र शेषराजजी ! यही ठेलमठेल, अलि अलि झेल, समयको खेल र कामको पेलमपेलले तपाइँको कृतिमा भूमिका लेख्न निकै ढिलो भयो– त्यो पनि लेख्न बाँकी नै छ । त्यति ठुल्ठूला काम त बाँकी नै छन् भने यो जाबो भूमिक्याउने काम बाँकी रहेर के नै पो नापिन्छ होला र ! कि कसो ?

हास्यव्यङ्ग्य सिर्जना गर्न अलि गाह्रो छ भन्दै धेरैजसो लेखक/देखकहरू पन्छिन्छन्, सजिलो लेखनतिरै लहसिन्छन् । भैरव अर्यालको जस्तो खै लेखेका भनेर उनीपछिका हास्यव्यङ्ग्यकारमाथि फतुर लगाउनेहरू पनि छन् । त्यस्तै हो भने हामी हास्यव्यङ्ग्यकारहरूले पनि भैरवभन्दा १६ वर्ष अघि बितेका महाकवि देवकोटा जस्तो खै को जन्मियो त भनेर सोधे के भन्लान् उनीहरू ? यो यस्तै हो । एक पटक मेरो आफ्नै हास्व्यङ्ग्य कित्ताकै एउटा कृतिमा फिता लाउँदै राकुपाले भूमिक्याउँदा भनेको कुरा सम्झना दिलाऊँ– “पिँडाली अर्याल हुन सक्दैनन् भने अर्याल पिँडाली हुन सक्दैनन् । अर्थात् श्याम श्यामै हुन्, राम, रामै हुन् । श्यामे, रामेको रूप खुट्याउन र छुट्याउन नसक्ने चाहिँ च्यामे हुन् ।” राकुपाका च्यामेहरूलाई खुल्लमखुल्ला चुनौती दिँदै हास्यव्यङ्ग्य लेख्ने मध्येकै एक हुन् भट्ट र राईको योगफल शेषराज । मैले यसो भन्दा मलाई कसैले च्यामे नै भन्यो भने पनि सहर्ष स्वीकार छ मलाई ।

तपाइँको हास्यव्यङ्ग्य सङ्ग्रहको सुसाङ्ख्यप्रति बिजुली हुलाकबाट हात परेपछि मैले भ्याइनभ्याई काखेकम्प्युटरमै निकै पटक ओल्टाई पल्टाई पारें । ओल्टाई पल्टाई गरिरहँदा ‘दुई स्वास्नीको पोइ, कुना पसी रोई’ गरिरहेका लठुवाहरू मलाई जिस्क्याउन आए । कतिपय ‘सारीमा सजिएकी नारी’ ‘जवानीको जानकारी’ दिन मेरो आधा फुलिसकेको दारी मुसार्न आए । मैले पनि वचनको ‘लौरो’ लिएर खबरदारी गर्नु प¥यो । ‘खबरदार ! शपथ नख्वाए आपत् पर्ला’ भनेर तपाइँले दिएको चुनौतीलाई पनि कतिपयले ‘राष्ट्रिय जङ्की निकुञ्ज’को वनतिर पठाइदेलान् । तपाइँ भने मेरो चुनौती मरेछ भन्दै ‘मलामी’ जाने तर्खर नगर्नु होला । किन भने चुनौती त्यति कमजोर छैन, निकुञ्जको छाडा गैँडासँग पनि त्यसलाई कुल्चने तागत रहेको देखिन मैले ।

तपाइँले त ‘खामभित्रको दाम’को पनि कुरा गर्नु भएको रहेछ । तर वर्तमान लोकतन्त्रमा खामभित्र होइन हाकाहाकी टेबुलमाथि नै कटकटिएका हात्ती सुमसुम्याइरहेको देखिन्छ । अख्तियारका लोकमानहरूले पो के देख्लान् खै ? नेपाली बबुरा ‘किन चाउरिस् मरीच ? आफ्नै रागले !’ हुन विवश छन् । ‘ऐना’ले भ्रष्टहरूको कुरूप अनुहारलाई पनि सफेद नै देखाइरहेको छ यो बेला । ‘पर–जा–तन्त्र’ मा ह्वीप’ लाग्नु र ‘बैंसको नालीबेली’ बखान्नु पनि उस्तै उस्तै हो ।

‘भ्रष्टाचारको उपचार’ गर्ने निकाय र अङ्गहरू नै भ्रष्टाचारको दलदलमा फसेपछि ‘थोत्रो घरमा मुसाको रजाईं’ हुने नै भयो । मुसा मार्ने बिरालो कोही निस्केन । मुसै मार्छु भनेर ताहुरमाहुर गर्छ तर त्यही ढाडे पुच्छर ठाडो पारेर कुँडेको दुध चोर्न थाल्छ । छयालिसदेखि साठीसम्म र साठीदेखि अहिलेको सत्तरीसम्म पनि चोर बिरालाहरू कुँडेको दुध निखार्नमै लिप्त छन् । मुसाको रजाइँ जस्ताको तस्तै ।

सङ्घीयतासँग जातीयता जोडिएर उछलकुद गरिरहेको यो मौसममा ऋषिमुनिका कुरा पनि तपशीलमा पर्ने नै भए । ‘ऋषिमुनिका सन्तान सिसीमुनि’ मात्रै कहाँ हो र अब त घ्याम्पा र जर्किन मुनि भन्नुपर्ने भइसक्यो । मैले यसोभन्दा अब कुनै बाहुनको ‘कपाल’ दुख्दैन । पेलेर तेल निकाल्ने कामको मौलिक नेपाली इन्जिनियरिङ सिप ‘कोल’लाई पनि त्यही झोलले बगाईसक्यो । ‘खोपडीको घनत्व’ले पनि ‘हावा’ खाइसक्यो । कस्ता कस्ता खोपडी लोकप्रियताको शिखरबाट गुटमुटिएर तल झरे सम्झँदा पत्यारै लाग्दैन । ‘स्वादे जिब्रो अल्छे तिघ्रो’ भनेर गाली गर्नुको पनि अब कुनै तुक छैन । ‘चोर, ढाँट र ठग’हरूकै विगविगी’ छ जताततै । नेपाली बुद्धिजीवीहरूकै पर्याय भइसके उनीहरू ।

शिक्षाक्षेत्रमा छिरेका ‘चोर, ढाँट र ठग’हरूको बारेमा पिएचडीको थिसिस लेखिने दिन आउँदै छन् । थिसिसमा समेत कपीपेष्टको युग छाइसक्यो । यस नयाँ युगमा उदाएका र मरून्जेल कलम कुदाएका शेषराज जस्ताको कलम हेर्दाहेर्दै गोपिक्याँच नहोला । यतातिर पो अलि होस पु¥याउनु पर्ला ।

यो देशको सर्वाङ्गमा सुकेलुतो सल्किएको छ । सुत्दा होस् कि उठ्दा, बस्दा होस् कि हिँड्दा सबका सब खोयो लिएर ख¥याँत ख¥याँत कन्याइरहेका छन् । तपाइँ हामी हास्यव्यङ्ग्यकर्मीहरूको काम त सर्वाङ्गमा सल्किएको लुतोमा अँगेरीको मुन्टा दलिदिने हो । त्यसले बेसरी पोल्छ, चह¥याउँछ र लुतो निको पार्न सहयोग पु¥याउँछ ।

प्रकाशन हुन लागेको कृतिको पानै नपल्टाई, अनि एकै अक्षर नपढी पचहत्ते भूमिका÷लेखन कार्य मौलाइरहेको बेला मैले तपाइँको कृति साङ्गोपाङ्ग पढ्न भने भ्याएँ । भूमिका लेख्ने काम बाँकी नै रह्यो । दालभातको जोहो गर्ने मेलो अलि हलुको भएको बेला पारेर भट्याउने नै छु । त्यतिन्जेल पर्खनु होला । के भो र नेपाली जनताले लडेर ल्याएको लोकतन्त्रलाई संस्थागत गर्न बन्नुपर्ने संविधान पर्खेको त ७–८ वर्ष हुन लाग्यो । जाबो भूमिका पाउन तपाइँले ७–८ महिना कुर्नु पर्ला । के फरक पर्छ र ? धैर्य गर्दै कुर्नुहोस् । कृपया भूमिका लेख्न भने बाँकी नै छ ।

लुतो फाल्ने सङ्क्रान्ति
२०७० साउन
कलङ्की, काठमाडौं
(शेषराज भट्टराईको ‘ऋषिमुनिका सन्तान सिसीमुनि’ कृतिको भूमिक्यौली)

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad