सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जीवन रक्षाका निम्ति एउटा श्रमजीवी स्रष्टाको अनुनय

Nepal Telecom ad

तपाइँको थोरै सहयोगले पनि कसैको प्राण रक्षा गर्न सक्छ !
वि.सं. २०३२ असोज ६ गते पाल्पाको सोमादी वडा नं. ६ मा जन्मिएर राजधानी काठमाडौंलाई आधारथलो बनाई पत्रकारिता र साहित्य सिर्जना एवम प्रकाशनमा समर्पित सिर्जनशील प्रतिभा हुनुहुन्छ पाल्पाली । गत साउनमा पत्रिकाका कार्यालयमा अचानक अचेत हुनुभएका पाल्पाली मिर्गौला सम्बन्धी दुसाध्य रोगको शिकार हुनुभएको छ । लगातारको उपचार प्रक्रियापछि उहाँलाई शिक्षण अस्पतालले भारतस्थिा मेदान्त अस्पताल रेफर गरेको थियो । सामान्य निम्न वर्गीय परिवारमा जन्मिनुभएका पाल्पालीलाई उहाँकी पत्नी रेणुका भटटराईले स्रष्टा एवम् शुभचिन्तकहरूको आर्थिक सहयोग जुटाएर मेदान्त अस्पताल पु¥याउनुभयो । करिव एक महिनाको उपचारपछि खर्च अभावका कारण उपचार प्रक्रियामै तिहारअघि उहालाई काठमार्डौ ल्याइएको छ । कोटेश्वर, महादेवस्थानको एक कोठे डेरामा अहिले अक्षरकर्मी स्रष्टा बिके पाल्पाली छटपटाइ रहनुभएको छ । बिना रोगको उपचारमा राष्ट्र प्रमुखलाई पचासौं लाख खर्चने यो राज्यलाई पत्तो छैन, दुई दशकदेखि भाषा साहित्य र पत्रकारितामा श्रम समय र सिप अर्पण गरिरहेको एउटा होनहार व्यक्तित्व ८/१० लाख रूपयाँ खर्च गर्न सक्ने आर्थिक आधार नभएका कारण असमयमै मृत्युसँग लाप्पा खेलिरहेको छ ।
स्रष्टा एवम पत्रकार विके पाल्पालीको पछिल्लो स्वास्थ्य स्थितिबारे जानकारी लिन हामी केही दिन अघि उहाँको डेरा पुगेका थियौं । सोधखोज गर्दै हामी उहाँको एक कोठे डेरामा पुग्दा निकै विदीर्ण मानसिकतामा उहाँकी पत्नी रेणुका भट्टराई औषधि पानीको व्यवस्था गरिरहनु भएको थियो । बोल्न निकै सकस भइरहेको अनुभव हुँदाहुँदै पनि हामीले उहाँसित सोध्यौं– तपाइँलाई अहिले कस्तो छ ? विछ्यौनामा कोल्टे फेर्दै निकै दबेको आवाजमा उहाँले सुस्तरी यसो भन्नु भयो– “औषधि उपचार चलिरहेको छ, औषधिले निरन्तर काम त गरिरहेको छ तर पूर्णमात्रामा ठिक भइरहेको छैन । मात्रा पूरा भइ नसकेको हुनाले अहिले पूरा निको हुन्छ कि हुँदैन भन्न सकिने अवस्था पनि रहेन । तर औषधिकै कारणले शरी असाध्य गलेको छ । बासहरफेर निस्कन, हिँडडुल गर्न सक्ने अवस्था छैन । धेरैबेरसम्म बोल्न पनि सकिरहेको छैन । बोल्दा बोल्दै भित्रबाटै बोली सुकेर आउँछ । शरीर एकदम कमजोर भएको महसुस गरेको छु । खोकी पनि लाग्छ । मेरो लेखन क्षेत्र अहिले ठप्पै भएको छ । निकै गाह्रो भए पनि हरेक दिन जसो केही समय अध्ययन चाहिँ गरिरहेको छु । साहित्य र पत्रकारिता क्षेत्रका साथीहरू भेट्न आइरहनुभएको छ । म दिल्लीबाट फर्केर आएपछि भने साथीहरूको आउने क्रम अलि पातलो भएको छ । देशमा भइरहेका चुनावी माहोलका कारण पनि त्यसो भएको होला भन्ने ठानेको छु ।”
बोल्दा अझ असजिलो भइरहेको बुझेर हामीले बिके पाल्पालीलाई थप प्रश्न गरेनौं । अस्वस्थ स्रष्टा पाल्पालीका बारेमा गत साउनदेखि नै विभिन्न पत्रपत्रिकामा समाचारमूलक सामग्रीहरू प्रकाशित हुँदै आएका छन् । एक्सप्रेस खबर नामक अनलाईन पत्रिकामा प्रकाशित समाचारको केही अंश यहाँ उल्लेख गर्नु सान्दर्भिक हुनेछ ।
अनलाइने लेखेको छ– आजभोलि पाल्पालीका आफन्त तथा इष्ट–मित्र जो भेट्न गए पनि सुँक्क सुँक्क रूनुहुन्छ पाल्पाली । उहाँका बारेमा केही लेखुँ लेखुँ लागेर हामी उहाकै डेरामा पुगेका थियौं । हामी जाँदा पनि उहाँको आँखामा आँशु थामिन सकेन । आफ्नो जीवनयात्रामा आइपरेको अकल्पनीय अवरोधका कारण दुःख लागेर रूनुभएको होइन रे उहाँ । उहाँका साथीभाइ र आफन्तहरू भेट्न जाँदा उहाँप्रति देखाउने सहानुभूति, सहयोग र माया–ममताको स्मरण गर्दै उहाँका आँखामा खुसीका आँसु बग्ने गरेको हो रे ! साहित्यकार तथा पत्रकार विजय पोखरेल अर्थात् बिके पाल्पाली दुबै मिर्गौलामा समस्या देखिएपछि गत साउनदेखि थलिनुभएको छ । नेपालका अस्पतालहरूमा उहाँको उपचार सम्भव नभएपछि दिल्ली पु¥याइएका पाल्पाली गत कात्तिक २९ गते उपचार प्रक्रिया नसकिँदै नेपाल फर्कनु भएको छ । पाल्पाली किन उपचारबिनै नेपाल फर्किनु भयो ? उहाँको जीवनमा आएको अकल्पनीय क्षणको अवस्था र अनुभुति बटुल्न हामी त्यहाँ पुगेका थियौं । तर हामीसँग उहाँले लामो कुरा गर्न सक्नुभएन ।
पाल्पालीसँगै दिल्लीको मेदान्त अस्पतालबाट पाल्पालीलाई लिएर नेपाल फर्किएकी उहाँकी धर्मपत्नी रेणुका भट्टराईले आफ्नो फेसबुक स्टाटसमा यस्तो लेख्नुभएको थियो– फर्किएँ दिल्लीबाट… । भरोसा टुक्रियो… । अन्यौल अन्यौल अवस्थामा भर्खरै काठमाडौं आइपुगेँ । अब म के गरुँ !…’ उहाँको यो स्टाटसमा अभिव्यक्त भावले सहजै अनुमान गर्न सकिन्छ । आफ्ना पतिको उपचार पश्चात सफलता बोकेर नेपाल आउने उहाँको सपना अधुरै रहेको छ । आशा र भरोशा गरेको काम बनेन अर्थात पाल्पालीलाई सकुशल बनाउन सकिएन र थप अन्यौलता सिर्जना भएको छ अनि अझै अरुसँग सहयोगको याचना गरिरहनुभएको छ उहाँकी जीवनसङ्गीनी रेणुका भट्टराई ।
काठमाडौंबाट नियमित रुपमा प्रकाशित हुँदै आएको नेपाल वोर्डर राष्ट्रिय साप्ताहिकका प्रकाशक/सम्पादक समेत रहनुभएका पत्रकार तथा साहित्यकार पाल्पाली आफ्नो कार्यालयमा काम गर्दागर्दै अकस्मात विरामी पर्नुभएको थियो । ‘नुन पानी खाएको ज्यानमा कहिलेकाहीँ कपाल दुख्नु’ स्वभाविक मान्ने हामी नेपालीको बानी भए पनि पाल्पालीपत्नी भट्टराईले भने त्यसो नगरी तत्काल अस्पताल पु¥याउनुभएको थियो । अकस्मात स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएका पाल्पालीको दुबै मिर्गौलामा समस्या देखिएको चिकित्सक मुकुन्द काफ्लेले बताएका थिए । यो सुनेर निकै हतास बनेकी भट्टराईलाई सुरुमा औषधी चलाउनुपर्ने सल्लाह दिइयो । चिकित्सक काफ्लेको सल्लाह बमोजिम केही दिन औषधी सेवन गर्दा पनि पाल्पालीको समस्या घट्नुभन्दा झन बढेर गएको उहाँको भनाई छ । फेरि पनि काफ्लेसँग आफ्नो समस्या समाधान नभएको कुरा सुनाउँदा मिर्गौलामा देखा परेको समस्या पत्ता लगाउन बायप्सी टेस्ट (मिर्गौलाको मासु परीक्षण) गर्नुपर्ने सल्लाह दिएका थिए । डा काफ्लेको सल्लाहअनुसार सबै परीक्षण गरि औषधी सेवन गरेका पाल्पालीको समस्या दिन प्रतिदिन बढ्दै गएपछि उहाँको रोग निदानका लागि नेपालमा सम्भव नभएको र आर्थिक हैसियत मजबुत भएमा दिल्लीमा रहेको मेदान्त अस्पताल लैजान सुझाव दिइएको पत्नी रेणुका बताउनु हुन्छ ।
नेपालमा सम्भव नहुने तर विदेशमा सम्भव हुने रोगको उपचार यसै पनि निकै महँगो हुने गर्दछ । यसबाट हामी जो कोही नतर्सी अघि बढ्न नै सक्दैनौं । तर पनि यहाँ जीवन बाँच्ने र बचाउने सवाल भएकाले उपचारका लागि सहयोगको याचना गर्दै केही रकम सङ्कलन गरेर स्वास्थ्यलाभको अपेक्षासहित असोज २३ गते पाल्पाली दम्पती दिल्ली उड्नु भएको थियो ।
दिल्ली पुगेपछि पनि पाल्पालीको अवस्था झन–झन गम्भीर बन्दै गयो । मिर्गौलाको रोग भन्दा पनि त्यसलाई निको पार्न नेपालमा सेवन गरिएको औषधी उपचारको प्रभावका कारण उब्जिएको मधुमेह (सुगर) र रक्तचापको मात्रा निकै न्यून भएका कारण उहाँ बेहोस नै हुनुभयो । उहाँलाई तत्कालै मेदान्त अस्पतालको आकस्मिक कक्षमा राखी उपचार गरिएको थियो । बिरामी पाल्पालीको साथमा एक्लै गएकी र नयाँ ठाउँमा पुगेकी पाल्पाली पत्नी निकै डराएको अनुभव सुनाउनुहुन्छ । त्यसपछि बिस्तारै उपचार हुँदै गयो र २५ दिनसम्म लगाएर विभिन्न किसिमका परीक्षण गरियो । साथमा लगेको पैसा सकिदै गयो । तर पनि पतिका बारेमा कुनै सकरात्मक कुरा सुन्न नपाउँदा अस्पतालप्रति केही रुष्ट बन्नुपरेको उहाँ बताउनुहुन्छ ।
त्यसपछि अस्पतालमा आफ्नो अवस्थाबारे कुरा राखेको र आर्थिक अवस्था कमजोर हुनुका साथै विभिन्न खालका सहयोग बापत सङ्कलन भएको रकम पनि सकिएको सुनाएपछि अस्पतालले पाल्पालीको बारेमा अस्पतालका अध्यक्ष, उपचारमा संलग्न चिकित्सक र विरामीकी आफन्त भट्टराईसहितको एउटा बैठक आयोजन गरेको थियो । त्यो बैठकमा त्यसबेलासम्म अस्पतालले गरेको उपचारका बारेमा जानकारी गराइएको थियो । साथसाथै नेपालको अस्पताल मार्फत गरिएको बायप्सीको रिपोर्टले केही नदेखाएपछि अर्को परीक्षण गर्न नपर्ने र पाल्पालीको मिर्गौलाको आकार निकै सानो भइसकेकाले बायप्सी गर्न नहुने धारणा चिकित्सकले राखेका थिए । गर्नै नहुने परीक्षण गरिएको र जसका कारण उत्पन्न भएको मधुमेहले निकै सताएपछि मिर्गौलाको उपचारमा समस्या भएको अस्पतालले जनाएको रेणुकाको भनाइ छ ।
नेपाली चिकित्सकहरूको व्यवहारप्रति निकै आक्रोश व्यक्त गर्दै भट्टराईले अस्पतालकै कारण बाँच्ने जीवन पनि झन धरापमा पर्दै गएको बताउनु भएको छ । ‘मिर्गौलामा घाउ नलाइदिएको भए उहाँलाई सुगर देखिने थिएन, सुगर नदेखिएको भए मिर्गौलाको उपचार सहज हुनेथियो’ उहाँ यसो भन्नुहुन्छ ।
हामीले पनि विके पाल्पालीकी पत्नी एवम स्रष्टा रेणुका भटटराईसित पाल्पालीको स्वास्थ्य स्थितिका बारेमा केही जिज्ञासा राखेका थियौं । अश्रुशिक्त आवाजमा उहाँले भन्नुभयो– “निकै ठूलो आश भाराका साथ मैले उहाँलाई दिल्लीको मेदान्त अस्पताल पु¥याएँ । तर दुःखपूर्वक मैले भन्नु पर्छ त्यहाबाट मैले स्वस्थ भएको पाल्पालीलाई हैन, झन अस्वस्थ अवस्थामै फर्काएर ल्याएकी छु । मैले मेरो श्रीमानलाई मात्र बचाउन खोजेकी हैन, नेपाली भाषा साहित्यको साधक, स्रष्टा एवम् बिसौं वर्ष पत्रकारितामा समर्पित एउटा सक्रिय पत्रकारलाई जीवन दिने प्रयत्न गरेकी हुँ जस्तो लाग्छ ।”
बार वर्षअघि पाल्पालीसँग दाम्पत्यजीवन शुरू गर्दाका क्षणहरूको सम्झना गर्दै रेणुका हामीसँग यसरी भक्कानिनुभयो– “साहित्य क्षेत्रमा सक्रिय हुँदै आएका हामी दुईको आआफ्नै रोजाइमा विहे भयो । विहेको केही दिन पछि हामी साहित्यकार तुलसी भटट्राईलाई भेट्न प्रज्ञाप्रतिष्ठानमा गएका थियौं । उहाँ त्यतिखेर प्रज्ञाप्रतिष्ठानको सदस्यसचिव हुनुहुन्थ्यो । उहाँले मलाई छोरी जस्तै माया गर्नुहुन्थ्यो । हाम्रो विवाहको प्रसङ्ग चल्नासाथ उहाँले भन्नुभएको थियो– तिमीले एउटा साहित्यकारसित बिहे गरेर ठूलो गल्ती ग¥यौ, तिमी कहिल्यै सुखी हुन सक्दिनौ । उहाँ आफै साहित्यकार, उहाँले किन यसो भन्नुभएको होला जस्तो लागेको थियो… । आज मलाई साँच्चै यथार्थ लागिरहेको छ…. । एउटै क्षेत्रमा क्रियाशील, एकै भावनाको व्यक्तिसित बिहे गर्दा यति दुखी हुनु पर्छ भन्ने कुरा उहाँले कसरी भन्नुभयो । साँच्ची नै म दुःखी नै भएँ यतिबेला, म अब मेरा प्रिय पति बिकेलाई पनि बचाउन नसक्ने अवस्थाको सामना कसरी गर्न सक्छु, मलाई थाहा छैन… ।”
सामान्य उपचार र विविधखाले परीक्षणपछि पनि अन्तिम नतिजा आइसकेको छैन । यसबाट विके पाल्पालीको जीवनको यात्रा कति लामो छ भन्ने कुराको अहिल्यै पुष्टि हुन सक्दैन । त्यसका लागि उहाँको परिवारले कम्तिमा छ महिना कुर्नुको विकल्प पनि छैन । यसबीचमा उहाँले कम्तिमा पनि छ महिनासम्म बेडरेस्ट गर्न मेदान्त अस्पतालका चिकित्सकहरूले सुझाव दिएका छन् । त्यसपछिको अवस्था हेरेर मात्रै उहाँको मिर्गौलाको अवस्थाबारे अस्पतालले यथार्थ बताउने भएको छ । त्यस अवधिसम्म पाल्पालीले कुनै पनि चिकित्सकको निगरानीमा बसी औषधी सेवन गर्नुपर्नेछ । त्यससँगै अन्य उपचार विधिहरू पनि जारी राख्नुपर्ने सल्लाह चिकित्सकले दिएका छन् । रेणुका आफ्नो मिर्गौला दिएर पनि पाल्पालीलाई बचाउन चाहनुहुन्छ, मेदान्त अस्पत्रालका चिकित्सकले उहाँको परीक्षण पछि मिल्छ पनि भनेका छन् । तर यो सब गर्न तर पाल्पाली परिवारसँग नभएको आर्थिक स्रोत कसरी व्यवस्थापन गर्ने ? यही चिन्ताले ग्रस्त हुनुहुन्छ रेणुका । राज्य वा सरकारले केही सहयोगर्छ कि भन्ने आशा व्यक्त गर्नु हुन्छ उहाँ तर स्थिति यति गम्भीर हुँदासम्म कुनै निकायले पनि सकारात्मक चासो दिएको पाइएन । अन्ततः पाल्पाली तथा उहाँको परिवारले आफन्त, शुभेच्छुक र सहयोगी हातहरूको भर पर्नुको कुनै विकल्प देखिँदै छैन ।
नेपाल पत्रकार महासङ्घ केन्द्रले पनि पत्रकार विके पाल्पाली बचाऔं अभियान सुरु गरेको छ । साहित्यकार राधेश्याम लेकालीको संयोजकत्वमा ‘स्रष्टा विके पाल्पाली बचाऔँ’ अभियानकै रुपमा विभिन्न सङ्घ–संस्था साहित्यकार सामजसेवीलगायत सबैजना पाल्पालीलाई बचाउने अभियानमा जुटेका छन् । यही अभियान मार्फत जुटेको आर्थिक सहयोग लिएर रेणुका दिल्ली पुग्नुभएको थियो । तर सरकारी तवरबाट भने अहिलेसम्म कुनै चासो देखाइएको छैन । पाल्पाली पत्नी रेणुकाले हामीलार्ई भन्नुभयो– “उहाँको उपचारमा मैले खासै सफलता पाउन नसके पनि उहाँको जीवन रक्षाका लागि सहयोग र सहानुभूति प्रकट गर्नुहुने सबै सबैप्रति आभार प्रकट गर्दछु । तथापि अब पाल्पालीलाई सञ्चो भयो भन्ने खबर मैले कसैलाई भन्न पाइँन । यो भन्दा दुःखको कुरा मेरो जीवनमा केही पनि रहेन । तर पनि सास रहुन्जेल आश हुँदोरहेछ । थप उपचार प्रक्रियाका लागि अझै पनि तपाइँहरूको साथ, सहयोग मलाई निरन्तर चाहिने स्थिति रह्यो ।”
डेराबाट हामी निस्कनु अघि विके पाल्पालीलाई हामी फर्कन लागेको आभास भयो । उहाँले एक कोल्टो फेर्नु भयो र सकिनसकी केही बोल्न खोज्नुभयो । यहाँको त्यो अभिव्यक्तिलाई हामीले पुन स्वराङ्कन ग¥यौं । “मैले यो बिस्तराबाट, नेपाल एफएमको लोकप्रिय कार्यक्रम मार्फत साहित्यिक स्रष्टा मित्रहरूलाई कमसेकम एकपटक सदासयता साथ भेट गरेर मलाई बाँच्ने हौसला दिनका लागि अनुरोध गर्दछु ।”
यसरी एउटा स्रष्टा यो राष्ट्रसँग, राज्यसँग, तपाइँ हामीसँग जीवन रक्षाको अनुनय गरिरहेको छ । उहाँको जीवन रक्षाको निम्ति केही गर्नु यो देशको सरकार, यो देशको राज्य, तपाइँ हामी सबैको दायित्व होइन र ? पाल्पालीको यो अवस्थाले भाषा साहित्य र पत्रकारितामा समर्पित नेपाली स्रष्टाहरूको दुर्दमनीय अवस्थालाई फेरि एकपटक दुखान्त ढङ्गले प्रस्तुत गरेको छ । कृपया राज्य वा सरकारले वास्ता नगरे पनि तपाइँ हामी केही गर्न सक्छौं । उहाँले जीवन रक्षाका निम्ति गर्नुभएको अनुनयलाई कृपया आत्मसात गरौं । कार्यक्रम साहित्य सुधा आफ्ना समस्त श्रोता एवम स्रष्टा मित्रहरूमा हार्दिक आव्हान गर्दछ ।
यथासक्य सहयोग गर्न चाहनेहरूका लागि :
किस्ट वैङ्कमा रहेको रेणुका भट्टराईको खाता नं. के.४७१५९ एस्.
कुमारी वैङ्का रहेको रेणुको भट्टराईको खाता नं ०२०–२१७४१०
रेणुको भट्टराईसित सिधा सम्पर्क : ९८४११८७०७८
सबै सबैको सहयोग र सद्भाव पाएर स्रष्टा विके पाल्पालीले नयाँ जीवन पाउन सक्नुहोस् । कार्यक्रम साहित्य सुधा र नेपाल एफ्एम परिवार पाल्पालीप्रति पूर्ण स्वास्थ्यलाभको हार्दिक शुभकामना व्यक्त गर्दछ ।
प्रस्तुति : नरनाथ लुइँटेल
(२०७० मङ्सिर २० गते बिहीबार बेलुकी ९ बजे र २२ गते शनिवार बिहान १० नेपाल एफएम ९१.८ बाट प्रशारण भएको साहित्यसुधा कार्यक्रमको स्क्रिप्टको सामान्य परिमार्जित रूप ।)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad