पञ्चायत ढलेपछि मानिसहरूमा एउटा नयाँ उत्साह आएको छ । भूमिगत ढङ्गले पार्टी चलाउनेहरू खुला भएका छन् । सर्बसाधारण व्यक्तिहरूमध्ये केही ठूला–ठूला बन्न गएका छन् । प्रत्येक व्यक्तिहरूले आफूलाई रूपान्तरण गर्ने कबुल गर्दै नयाँ वातावरणमा घुलमिल बनाउने प्रयत्न चलाएका छन् । यसै क्रममा साहित्य क्षेत्रका हस्तीहरूले एउटा विशेष आत्मालोचना–गोष्ठी आयोजना गरेका रहेछन् । गोष्ठीमा नेपालका लगभग सबै गन्यमान्य कविवरहरू जुटेका थिए जहाँ म पनि दर्शकको रूपमा हाजिर भएको थिएँ । कार्यक्रम निश्चित समयमा सुरू भयो । सभाको सभापतित्व लक्ष्मीदत्त पन्तले गरेका थिए । उनले आफूद्वारा लेखिएको “राजा भै शेखी तिम्रो...राख्छु पर्वाह कहाँ” भन्ने कविता लेख्दाको परिस्थिति र अहिलेको परिस्थिति भिन्न भएको चर्चा गर्दै परिस्थितिअनुसार चल्नु बुद्धिमानी हुने भएकोले आफू कार्यक्रममा सहभागी हुन आएको र चिठ्ठा परेको हुँदा सभापति पद पाएको कुरा बताए । त्यसअघि सभापति रोज्ने क्रममा विवाद उत्पन्न हुँदा चिठ्ठा हाली सभापति निश्चित गरिएको रहेछ ।

कार्यक्रमको थालनीमा मृतक कवि सिद्धिचरणको नाम पुकारियो तर दर्शकदीर्घामा बसेका केही व्यक्तिहरूले मर्यादाक्रम मिलेन, पहिले अरु कविहरूलाई डाकिनुपर्छ । सिद्धिचरणभन्दा पहिले मरेका मुख्यमुख्य कवि छुट्नु भएन भनी चर्को आवाज उठाए । त्यसपछि सभापतिले क्षमायाचना गर्दै नाम फिर्ता लिए । केही बेरपछि उनले भानुभक्तलाई डाके । भानुभक्तले आफ्नो अठोट कोट्टयाउँदै भने–
लामखुट्टे, उपियाँ र घाँसीहरूको गाथा मिलाएर जो
मैले रामकथा टिपेर सजिलो लेखें महाकाव्य त्यो
पाखे बोली लियो भनेर अति नै ठाने महादुर्जन
पण्डितजीहरूले मलाई नमरी ज्यूँदै दिए तर्पन ।

खिच्रो इङ्लिसको पकाउनु थियो सम्झन्छु होस् घोरिंदा
सोच्छु हाय ! कठै ! कठै ! गलति भो, दुर्बुद्धिले डोरिंदा
साना जागिरले सिक्या अकिलले क्या पो हओस् जो भया
राखिबक्सनुहोस् ममाथि अहिले ख्वामित्हरूले दया !
सबैले क्षमादानको भावमा बेसरी ताली ठोके । भानुभक्त, आफ्नो आसनमा गएर बसे । त्यसपछि सोमनाथको पालो रहेछ । सोमनाथले आफ्नै लवजमा भने–

उदय भो अब चन्द्र श्री चन्द्रको
किरणले सब ताप हरिलियो
म गरुँ कि अब वर्णन क्यै भनी
रचित भो जब चन्द्र–चरित्रको
तब भो घनघोर नीशा नभमा
अनि त यो रचियो सुन राघव
अहिले पो मन यो पछुताउँछ
किन रचें निविडमा उही आढ्यता ।।

दर्शकदीर्घामा बस्ने धेरै कविहरूले टाउको हल्लाउँदै सोमनाथको अनुहार नियाले । उनी शास्त्रीय धाराको पुच्छर पक्रेर महाकाव्यको वैतरणी तरेर पनि कुलचन्द्रसँग पराजित हुनु परेकोमा लज्जितजस्तै देखिन्थे । सोमनाथपछिको पालो लेखनाथको रहेछ । उनले पनि आत्मालोचना गर्दै भने –
बत्ति मधुरो मनभित्र चीमको
म थें पसेको दरबार भीमको ।
कथें कविता रुखमा लगी मन
कसलाई मालुम छ र यो कुरा मन ।।
मान्छे म आफ्नै मनमा हराउने
अध्यात्मको चिन्तनमा रमाउने
समानताको मृदुला छ कञ्चन
कसलाई मालुम छ र यो कुरा मन ।।

उनले आफ्नो कविता सक्नासाथ बडेमाको निधार भएको लामो जीउडालको मान्छे चुरोट तान्दै मञ्चमा आयो । हतपत्त धूपधुँवार गर्नु परेकोमा क्षमा याचना गर्दै धाराप्रवाहमा बोल्न थाल्यो–
साथी, म सज्जन !
कालो टोपी लाउँछु, दिल्लीबजार धाउँछु ।
दश नङ्ग्रा खियाउँछु, पागल भन्नेलाई हियाउँछु ।
भाषणमा भारी भरकम
बेलौती स्वादको रमझम
मेरो मन छ कञ्चन
साथी म हुँ सज्जन । म हुँ सज्जन ।
दौरा, सुरुवाल कोट, मेरा मोटा ओठ
खर्कभरि गोठ, खर्पनभरि नोट
कुप्लुक कुप्लुक सोप्य्राक सोप्य्राक !
ढिडो र गुन्द्रक, दालभात, अचार
गिलासमा दूध, साथी ! मेरो भर्जन
म हुँ सज्जन ! जरुर सज्जन ! ! !

सबैले चिनिहाले । उनी महाकवि झ्याउरेबाट शून्यमा शून्यसरी बिलाउन पुगेका देवकोटा रहेछन् । अनि त सब आत्तिन थाले । अब बर्बाद भयो । उनी त कवितामा घण्टौं कुरा गर्न सक्छन् । समय निश्चित हुनुप¥यो भन्दै पुष्कर शमशेर र बालकृष्ण समले साउती मारे । हैन यो बाहुनचरीलाई अप्ठेरोमा पार्ने उपाय त खोज्नैपर्छ भनी तीन भाषामा एकै चोटि एउटै कविता भन्ने आग्रह गरेर सभापतिलाई चिट लेखे । सभापतिले राणाबन्धुलाई संझाउँदै दुराग्रह नराख्न भने । महाकाव्य त तीन भाषामा लेख्ने वीर पुरुषलाई कविता कोर्न केको आइतवार ! अनि देवकोटाले पनि गाइँगुइँको चाल पाइहाले । बोल्दाबोल्दै गरेको कवितामै जोरेर घन्काइहाले–
के ? ह्वाट ? छु ? क्या ?
जिउ परीक्षा ?
डोन्ट माइन्ड, आइ उइल ट्राइ
राणा भाइ !
कौनसा बात धानको भात ?
मान्छेको जात नरपिशाच ।

कुत्र, कहाँ, गन, ह्वेर ?
आइ लभ यु डिएर !
बट ह्वाइ यु फियर ?
आइ डोन्ट कियर !
प्लिज सिट डाउन दियर ।।

हलमा सबले ताली ठोकेर देवकोटालाई प्रशंसा गरे । उनी आप्mनो शिर ठाडो राख्दै मञ्चबाट झरे । नेपाली साहित्यलाई जे गरे त्यो अरु कसैले नगरेको गरे । त्यसैले भोकभोकै मरे । देवकोटापछि रिमाल र हृदयचन्द्रको नाम बोलाइयो । तर एउटा हेलेनकहाँ हेलम्बु घुम्न गएको खबर सुनाइयो । अर्का–चाहिं जुँगा काट्न हजामकहाँ गएको हुँदा अनुपस्थित भए । त्यसपछि सिद्धिचरणको पालो आयो । उनले पनि आत्मालोचना गर्दै भने–
सिद्धि मरु कसो गरुँ मङ्गलमानको नाति ।
चरणमा ढोग्छु राजा पञ्चायतै जाति ।
भन्दाखेरि हात प¥यो पुरस्कारको थैलो ।
ओखलढुङ्गा बिर्सिदिंदा युगकवि भइयो ।।
पैले थिएँ अर्जुनभक्त अहिले उर्वशी छु ।
खान लाउन दुख छैन ठूलै चैनमा म छु ।
गर्नुपर्ने धेरै थियो तर आँसु सुक्यो ।
वामपन्थीले खेदो खन्दा मेरो मन दुख्यो ।।

त्यसपछि केदारमान मञ्चमा गए । उनले भन्न थाले–
के दार ? भन्दा उतिस हैन, मानमनितो छैन
थितिविना माया बस्यो मनभरि चैन
कुलपति भएँ जति मन्त्री त्यति भइनँ
साहित्यमा वाद हुल्ने मान्छे म त हैन ।
त्यसपछि माधव घिमिरेले आफ्नो कविता सुनाए–
बुद्धि खोल मालती बुद्धि खोलन
मङ्गलेको पक्षमा आई बोलन
राजराजेश्वरीको पीर बिर्सेर
आज बहुदलको गीत गाइदेऊ ।

घिमिरेपछि मोहन कोइरालाको पालो आएछ । उनले पनि आफ्नो विशेषतासाथ कविता सुनाउन थाले–
लेकलेकमा
फर्सीको लहराझैं
ऋतुदान माग्ने रजवतीसँग
लहरिंदै –लहरिंदै नीलो मह खाएँ–
पपलरको पात बजाएँ
माझीहरूसँग बसेर माछा समाएँ
संझना गर्नुहोला
म पुरानो कोइराला होइन
बल्लतल्ल आजभोलि प्राज्ञमा नाम दराएँ ।

जीवित कविहरूको हारीमा आउनेहरूमा मोदनाथ पनि पछिपछि लागेका रहेछन् । उनले आफ्नो कमीत्रुटिको आत्मालोचना गर्दै भने–
देवासुरको लडाइँ हेर्दाहेर्दा
जब मन थकित–थकित हुन्छ
तब मैले चकित कर्म गर्दै
शान्तिका निम्ति बनकालीमा चरु होम्छु
ओम् भूवनपतये स्वाहा !
भौतिकवादाये स्वाहा ! !

अन्त्यमा व्यङ्ग्यसम्राटको खोजी चलेको देखेर नाट्यसम्राट हलबाट भागे नैकापे काका दर्शकदीर्घामा जागे ।
नौ ग्रहको न्वारान गर्ने म
पाँडे पजनी गर्ने को होस् तँ ?
पाटन छाडे पनि साटनको चोली छँदै छ
जोरी नखोज्नु आजभोलि रबरको गोली चल्दै छ
सबैलाई बुढ्यौली लाग्छ
तर लोभको तिर्खा कहिल्यै ओह्रालो लाग्दैन ।

रातो थुँगा अङ्क ३ बाट
२०५२ गाईजात्रा