नेपाली गौरवमय इतिहासमा टोपीको ठूलो महत्व छ । सर्बोत्तम अङ्ग शिरमा धारण गरिने भएर मात्रै होइन त्यो उत्तम ठहरिएको । यसको महत्व त्यति धेरै नभए पनि कम चाहिँ अवश्य छैन । टोपी एउटा पदवी हो जो सबैले स्वतन्त्ररूपमा लगाउन सक्छन् र नलगाउन पनि । हुन त आजकाल टोपीवालाहरू असभ्य ठानिन थालेका छन् । तैपनि टोपीको प्रचलन हराइसकेको छैन । चाहे जसले जेसुकै भनोस् टोपी नलगाएको मान्छे आजसम्म मैले देखेको छैन । एउटा न एउटा टोपी लगाएकै देख्छु– घमण्डको, भलादमीपनको, छट्टुपनको भनौं मपाइत्वको । ढाका टोपी ढल्काएर हिँडनेको टोपी त सबैले देखेकै हुन्छन् । जुल्फिपाल्नेको टोपी कस्ले देख्ने ।

धोती न टोपी भएपछि मात्र टोपी पुराण लेख्न थालेकोले यो पागल भएछ भन्ने शङ्का गर्नुहोला तर तपाइँले टोपी नलगाएको भए पनि म तपाइँलाई टोपीवाला भनी प्रमाणित गर्न सक्छु । किनभने टोपीको मुख्य अर्थ– सम्बन्धित टोपीवालाको आचरणमा भर पर्न जान्छ । उसको खोपडीले कुन विचार बताउँछ त्यही त्यसको टोपी हो । जो कसैको पनि विचार हुन्छ त्यो विचार नीच, मध्यम, उत्तम कस्तो छ त्यही अनुसार उसका टोपीको संज्ञा दिन सकिन्छ । दिमागबाट प्रश्फुटित सोचाइलाई टोपीको संज्ञा दिनु उचित हुन्छ । किनभने त्यही मगज ढाक्ने ढक्कन नै टोपी हो ।

हुन त आज भोलि टोपीको जमाना नै हराउँदै जान लाग्यो । सरकारी कार्यालयमा पनि पहिले टोपी नलगाई जान पाईदैनथ्यो, अचेल पाइन्छ । वास्तवमा कर्मचारीहरूले टोपीमुनि नोटका विटा लिएर हिँड्न थालेकाले यो प्रचलन नहुनु पनि राम्रै हो । सम्पूर्ण क्षेत्रमा स्वतन्त्रता चाहँदै आएको मान्छेले जाबो टोपीमै के आकाश पाताल गर्नु प¥यो ?

मेरो अनुभवमा टोपीका दुईवटा फाइदा मात्र देखेँ । आधुनिता र रूढिवादको दोसाँधमा बढ्दै गरेको यो संसारमा भन्ने हो भने त टोपीवालाहरू चामलका वियाँ हुन् । नेपालको सम्बन्धमा पनि झण्डै त्यस्तै भइसक्यो । कसैले टोपी लगाएको देख्नै रूचाउँदैनन् त कसैका अगाडि टोपी नलगाई जाँदा मार हुक्याँई खाइन्छ । देश र जातजाति अनुसार टोपीको प्रचलन बेग्लाबेग्लै हुन सक्छ । यो कुनै आश्चर्यजनक कुरा होइन तर बाहुनले टोपी लगाउँदा पनि त्यस्तो आपत्ती ।

कुरोको जरो यहाँनेर भेट्टियो । म उपाध्याय बाहुन, सर्वोत्तम जात भनौँ सबैभन्दा माथिल्लो जातको मान्छे, एकातिर अलिअलि अङ्ग्रेजी, पढेकाले जाबो टुप्पीको कुनै खैरियत छैन भनेर फालेको थिएँ । अर्कोतिर सानैमा रूद्री–चण्डी पनि पढेको जानेकै थिए । यस्तैमा एक दिन लघुरूद्रीको निम्तो पाएँ । अब परेँ बडो फसादमा नखाउँ भने दिनभरिको सिकार खाउँ भने कान्छाबाबुको अनुहार भनेजस्तै भयो । जाउँ भने टुप्पी छैन पाठ गर्ने जस्तो निम्तो अरूले के भन्लान् भन्ने डर, नजाउँ भने सम्मानपूर्वक बोलाएको मत्ताहा मान्छे भन्ने डर । अर्कोतिर चिया चमेना पनि त्यत्ति चल्ने । एउटा अक्कल निकाल्नै प¥यो भनेर टोपी किनेँ ।

टोपी लगाएर तीन बजेतिर पुगेँ जग्यमा अरू बाहुनबाजेहरू आइसकेका थिए । पाठ पनि सुरु भयो मैले टोपी नखोलेर पाठ गरेको देखेर एउटा पण्डितले भने, ‘हैन पण्डितजी ! टोपी त निकालिएन नि ?’ मैले पनि उसको मुखमा बुझो लगाइदिने उद्देश्यले भने– ‘तपाईंले ब्रह्माण्ड सर्वस्व हेर्नु भएको छ ? मैले कुनै पनि ग्रन्थमा बाहुनको टोपी जुठो हुन्छ भन्ने देखेको छैन । ब्राम्ह्ण सर्वस्वमै टोपी चोखो हुन्छ भनेर भनिएको छ बुझ्नुभो ? बाहुनको त लङ्गौटी जुठो हो, तीन दिनको लङ्गौटी लगाएर टोपी काड्नु आजभोलिको पुङ्ग पण्डित्याई हो । कसैले खाने बेलामा टोपी निकाल्छन् भन्दैमा बाहुनले पाठ गर्दा पनि टोपी निकाल्नु (राख्नु) पर्छ भन्ने कहाँको कुरा गर्दैहुनुहुन्छ तपाई ?’ उनले पाठ छाडेर भाषण सुन्न थाले । अनि फेरि पाठ पट्टी लागे मलाई सुहाउँदो प्रतिउत्तर दिन सकेनन् । यसो भएपछि म उम्की हालेन् । टोपी झिक्ने कुरै भएन । टोपी नहुनु भन्दा त लगाएरै पाठ गर्नु राम्रो । टोपीको महत्व त्यहाँसम्म पनि रहेछ ।

महत्वको मात्र के बखान छाँट्नु ? प्रकार पनि अत्यन्तै छन् टोपीका । फुर्के टोपी, भादगाउँले टोपी, ढाका टोपी, विर्के टोपी, मख्खीबुट्टे टोपी केके हो केके । कुरा गर्दा फुर्का गाँसेर कुरा गर्ने कसैको बानी हुन्छ त्यस्ताले फुर्के लगाइदिन्नन् फेरि कसैको कुरा गर्दा ढाकी छोपी गर्ने बानी हुन्छ भएको कुरा लुकाएर नभए–नभएको कुरा गर्ने यस्ताले पनि ढाका टोपी लगाइदिन्नन् । काम सुहाउदो दाम नपाए झैँ भाषण सुहाउदो फेसन नहुनाले तिनीहरूको अस्तिस्व उस्कन सकेको छैन ।

भानुभक्तले विर्के टोपी लगाएर रामायणको ठेली लेखेका हुन् अरे । आफू त देख्ने परिएन । पुरा पत्याउन देख्नै पर्ने हुनाले साँचो झुटो म भन्न सक्दिन तर एक दिन घुम्दै जाँदा भानुभक्त तिर्खाएछन् र पिपलको छहारीमा बसेछन् । यसो तलतिर हेरेको त एउटा घाँसीले घाँस काट्दै रहेछ । उसको टोपी च्यात्तिएर टुप्पी बाहिर निस्किएको थियो अरे । उनले पानी खाने ठाउँ सोध्दा घाँसीले आफूले घाँस बेचेर कुवा खनाउने र आफ्नो नाम अमर राख्ने विचार प्रकट गरेछ । जे भए पनि उसको विचार त राम्रै हो, चाहे टोपी फाटेर टुप्पी देखियोस् चाहे धोती फाटेर यौनाङ्ग । अनि भानुभक्तले सोचेछन्– जो जैरै टुप्पी देखिएकोले त कृति राख्ने कुरा गर्छ भने म विर्के टोपीवाला पण्डित भएर किन नाम नराख्नु ? यसपछि लागेछन् उनी रामायण जुराउने ।

सानैमा म पनि टोपी लगाउँथेँ अचेल भोलि त्यत्ति वास्ता गर्दिन । फेरि एक सुर आएको छ टोपी लगाउनु प¥यो भन्ने । अब मैले यस्ता सानातिना बजारीया टोपी हैन ठूलै शहरिया टोपी खोजेको छु । सिपाहीको जस्तो छत्रे टोपी मलाई मन पर्दैन बरू कसैले मन्त्रीको टोपी लगाइदिए हुन्थ्यो भन्ने लागेको छ । किनभने मन्त्रीको टोपीको चर्चा साह्रे उच्चो हुँदो रहेछ । रेडियाले तयसैको फूक्छ । पत्रिकाले त्यसैलाई पत्याउँछन् । जनताले के पत्याउनु प¥यो र । मन्त्री भएपछि टोपी पनि महङ्गै लगाइन्छ । सके राजाबाटै लगाउन पाइएला ।

आजकाल म लोभी भएको छु । बाल टोपीको जे–जस्तो व्यक्तित्व भए पनि टोपीको राम्रो प्रचार–प्रसार भयो भने त्यसै ठूलो । टोपीको गुनगान राम्रै गाइयो भने त्यसै राम्रो ।

टाउकाले टेकेर हिँड्नुपर्ने भए मान्छेलाई टोपीको महत्व थाहा हुन्थ्यो । जति जुत्ताको महत्व छ । त्यत्ती नै टोपीको महत्व हुन्थ्यो । खुट्टा खियाउनका दुःखले मोटर बनाउने मान्छे, पृथ्वी भत्काएर मोटर बाटो निर्माण गर्ने मान्छे, हेलिकप्टर हवाइजहाज उडाएर, रेल कुदाएर सयल मार्ने मान्छेले परिणाममा आएर विश्व शान्तिको नारा फलाक्उनु पर्ने थिएन । अहिले आएर त्यो टाउको जोगाउन म ढाका टोपी लगाएर हुन्छ न फलामे टापी । मानिसले टोपीको महत्व अब बल्ल बुझ्दै छन् जति जुत्ताको महत्व हुन्छ ।

आजकल अमरसिंह, बलभद्र, गङ्गालाल, दशरथ चन्द, शुक्रराज, धर्मभक्तका जस्ता टोपी लगाउन सक्ने नेपाली कोही छैन । न त यहाँ उनिहरूको जस्तो टोपीको महत्व पुग्ने नै कोही छ । न त आज कोही ती वीरहरूले गर्दा नै आज नेपालीले विश्वकै टोपी लगाउन पाएको छ भन्ने साँचो टोपी कहाँ छ । बरू त्यस्तो गौरवमय टोपीको सान खस्काउन अग्रसर हुन कोही किञ्चत हिच्किचाउँदैन । गौरवमय नेपाली टोपीको सान विश्वका कुनाकुनासम्म पुगेको छ भन्ने सबै बुझ्दछन् ता पनी यसको महिमा उत्तिकै दिगो राख्नुपर्छ भन्ने तर्फ सोच्दैनन् । नेपाली मुकुट गौतम बुद्ध विश्वकै एक उत्तम टोपी ठहरिए तर त्यस्तो उत्तम टोपी लगाउन सक्ने नेपाली धेरै जन्मिएनन् । टोपी भनेको या टुप्पी ढाक्न प्रयोग गरियोस् या टुप्पी नभएको देखाउन् तर टोपी बेचेर टाई लगाउनु नेपालीत्व हुँदैन । चुरोटको विज्ञापनपछि ‘धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ’ भने जस्तो आफूले टोपीको उपयोग यदाकदा गरे पनि ‘टोपी नेपालीको विशेषता हो’ भन्नु एउटै हुन्छ । किनभने गरिव भएपछि हरिव भइँदो रहेछ । सूर्ती नखाइकन पढ्नै नआउने आजको नयाँ जमानामा मैले टोपी पुराण बखानेर फूर्ति देखाउने आफैले आफ्नो उपहास गरेजस्तो हुन्छ । जुल्फीको महत्व बढ्दो छ टोपी रूढीको प्रतिकतिर ढल्कँदो छ । तैपनि मलाई १८ पुराण लेखेका व्यासकै संज्ञा दिनुपर्छ भन्ने मेरो भनाई होइन । इति ।

बम्घा, गुल्मी