सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

रामराज्य र अपराध नियन्त्रण सप्ताह : प्रदीप पन्त

Nepal Telecom ad

(प्रदीप पन्त हिन्दी साहित्यका होनहार व्यङ्ग्यकार हुन् । सन् १९४१ मा भारतको उत्तर प्रदेशमा जन्मेका पन्त पेसाले पत्रकार रहे । ‘मै गुट निरपेक्ष हुँ’, ‘प्राइवेट सेक्टरका व्यङ्ग्यकार’ लगायत अन्य व्यङ्ग्यात्मक कृतिका अतिरिक्त केही उपन्यास र कथा सङ्ग्रहका सर्जक पन्तका व्यङ्ग्यमा समाजका धमिराहरूलाई तिल्मिल्याउने अद्भूत क्षमता पाइन्छ । साम्प्रदायिकता, शोषण, छल, छद्म, भ्रष्टाचार तथा दूराचारप्रति सन्सनाउँदा तीर हान्ने पन्त विभिन्न भेषका राजनीतिका नाममा देखिने चरित्रहीन चरित्रमाथि पनि त्यत्तिकै जाइलाग्छन् । ‘समाज कल्याण’ पत्रिकाका सम्पादक रहेका पन्त विभिन्न भारतीय पुरस्कारबाट पुरस्कृत भएका छन् भने उनको ‘महामहिम’ नामक उपन्यास विशेष चर्चित छ । –अनुवादक)

मलाई अहिले पनि कम्पन छुटिरहेको छ, मुटु कामिरहेको छ । दुई दिन अगाडिको घटना हो– एकाबिहानै कसैले घरको ढोका ढक्ढक्यायो । मैले ढोका खोलेँ– सामुन्ने उपस्थित थिए डी.एस.पी. दामोदर रिसाल । म केही पछि हटेँ । तर उनी अघि बढ्दै भने– “नडराउनुहोस्, म तपाईंकै सहयोगका लागि उपस्थित भएको हूँ ।”
मैले आँखा मिचेँ कतै म सपनामा त छैन भनेर । तर त्यो यथार्थ नै थियो । “तपाईं जे.एस.पी. रिसाल होइन ?” मैले सोधेँ ।

“हो ।” उनले मप्रति शाही शासनका मन्त्रीहरू तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष सामु झुकेझैँ झुक्दै भने– “तपाईंहरूको सेवा गर्नु त हाम्रो परमधर्म हो ।”
“यो के भन्दै हुनुहुन्छ डी.पी. साहेव तपाईं ?” मैले भनेँ । उनले पुनः विनम्रतापूर्वक भने– “जनताको सेवा गर्नु त हामी प्रहरी गणको महान् कर्तव्य हो नि !”
“आज तपाईं किन यति विनम्र हुनुहुन्छ रिसालज्यू ?” मैले भएभरको साहस निकालेर सोधेँ ।
“कुरा यस्तो छ !” डी.पी. भन्दै गए– “यो हप्ता हामी प्रहरी दिवसअन्तर्गत अपराध नियन्त्रण सप्ताह मनाउदैछौँ । त्यसैले यो हप्ता हामीले विनम्र हुनैपर्छ । तीन वर्ष पहिला पनि हामीले यस्तो दिवस मनाएका थियौँ र त्यतिबेला पनि हामी यस्तै विनम्र भएका थियौँ । अहिले मात्र विनम्र भएका हौँ र ?”

मैले पुनः साहस गरेर सोधेँ– “तपाईंहरू हरेक साल किन यो सप्ताह मनाउनुहुन्न त ?”
“नियम त हरेक साल मनाउने नै हो । तर हामी त प्रहरी हौँ ! यदि हरेक साल यस्तो दिवस मनाइयो भने त कतै वास्तविक रूपमै अपराध नियन्त्रणमा आउन सक्छ । तब…. तब हाम्रो अस्तित्व समाजमा कहाँनेर रहन्छ ?”
“कत्रो दूरदर्शी सोच तपाईंहरूको !” मैले उनलाई बधाई दिएँ ।
उनी निकै मुस्कुराए ।
मैले पुनः साहस गरी उनलाई सोधेँ– “आउनुहोस्, बस्नुहोस् ।”
“ठीकै छ ।” उनले भने– “तपाईंलाई चोर डाका, पकेटमार र गुण्डाहरूले सताउने गरेका छन् भने भन्नुहोस् ।”
“तपाईंको कृपाले हैन ।” मेरो जवाफ यस्तो थियो ।
“तपाईंको छेउछाउमा कुनै अपराधिक कृयाकलापका संलग्नहरू कोही छन् भने बताउनुहोस् हामीलाई अपराधको निराकरण गर्न तपाईंहरूको सहयोग चाहिन्छ ।” डि.एस.पी. भन्छन्– “जो नेता छ ऊसित महल त हुन्छ नै ।”

अब मेरो आफ्नै स्थिति शाही शासनकालका मन्त्रीकोझैँ भयो । मैले डी.एस.पी. का अगाडि झुक्नुप¥यो ।
मैले अर्कातर्फ ठडिएको अन्तशुल्कका नायवसुब्बाको घरतर्फ ईशारा गर्दै भनो– “तिनको मासिक छ हजार तलवले यो महल कसरी बनियो होला ?”
डी.एस.पी. मुस्कुराए– “छाडिदिनुहोस् । आजकाल तिनको बढुवा भई गृहमन्त्रालयमा सरुवा भएको छ । भोलि हाम्रो जिल्लामा ती सी.डी.ओ. भएर आउन सक्छन् ।”

अब म उनलाई छेउको मिठाई पसलेको घरतिर ईशारा गर्छु– त्यो शुद्ध घीउको बखान गरेर वनस्पति घीउको मिठाइ बनाई बेच्छ । यो सरासर अपराध हो । तपाईं उसलाई गिरफ्तार गर्नुहोस् ।”
“अहँ म उसलाई गिरफ्तार गर्न सक्दिन ।” डी.एस.पी. भन्दै गए– “उसले हामीलाई सधैँ मिठाई ख्वाउँछ र सबै राजनीतिक दलहरूलाई चन्दा दिन्छ । उसलाई गिरफ्तार गरियो भने त आन्दोलन उठिहाल्छ नि ।”
म निरुत्तर भएँ ।
डी.एस.पी. हिँडे र हिँड्दाहिँड्दै स्थानीय टुँडिखेलमा आयोजित प्रहरी दिवसअन्तर्गत अपराध नियन्त्रणसम्बन्धी प्रदर्शनीमा उपस्थित हुनका लागि निम्तो पनि दिए ।

म कसरी डी.एस.पी. को अनुरोध लत्याउन सक्थेँ । राष्ट्रिय अपराध नियन्त्रण सप्ताहको दौरानमा सो प्रदर्शनी आयोजित थियो । सारा शहर प्रदर्शनीमा उत्रिएको थियो । त्यहाँ ठूलाठूला प्रहरी अधिकारीहरू जनसेवाका खातिर तम्तयार थिए । मलाई द्रोणप्रसाद आचार्य, बदरीनाथ भट्टराई, पारिजात, युद्धप्रसाद मिश्र तथा त्यस्तै देशभक्तहरूको याद आयो– यदि यस्तो प्रदर्शनी देख्न पाएका भए यो देश रामराज्य नै भएको ठान्दा हुन् । मलाई प्रहरीहरू जनसेवक भएकामा खुशी त लाग्यो नै । मैले एक पुलिस अधिकारीलाई यो सप्ताहअन्तर्गत के के कार्यक्रमहरू राखिएका छन् भनेर सोधेँ ।

“विशेष अपराधको रोकथाम !” उनी स्पष्टीकरण दिँदै गए– “खास कुरो के भने अपराध बढ्दै गएपछि हामी तीनतीन वर्षमा अपराध नियन्त्रण सप्ताह मनाउँछौं । प्रत्येक साल मनायो भने त अपराधहरू नै कम हुन्छन् अझ निर्मूल नै हुँदै जान्छन् । तब केका आधारमा नियन्त्रण सप्ताह मनाउने ? प्रगति विवरणको ग्राफ चार्टमा के भर्ने ? अपराध नियन्त्रण हुनुपर्छ त्यसैले त्यसका लागि अपराध पनि हुनुपर्दछ । हामीले अपराध नियन्त्रण सप्ताह मनाएको औचित्य पनि त पुष्टि हुनुप¥यो ।”
“ठीक हो !” मैले भनो– “तर यो सप्ताहपछि तपाईं के गर्नुहुन्छ त ?”
“हिं ही हीं हीं…..” हाँस्दै ती प्रहरी अधिकारी उठे । मलाई चित्त बुझ्यो । उनी भन्न थाले– “तपाईंहरूलाई थाहै छ फेरि किन हामीलाई सोध्नुहुन्छ । बाँकी दिन तपाईंहरू झण्डा बोक्नुहुन्छ, हामी डण्डा बोक्छौँ । तपाईंहरू सरकारी गाडी तोड्नुहुन्छ– हामी तपाईंहरूको टाउको तोड्छौँ– तपाईंहरू टायर बाल्नुहुन्छ हामी हवाईफायर गर्छौं ।”

म अगाडि बढेँ । बर्दीका प्रहरीहरू जताततै थिए । केही समयअघि भएको जनआन्दोलनमा प्रहरीहरूले आन्दोलनकारी र निर्दोष बटुवाहरूमाथि गरेको व्यवहार नजिकैबाट देखेको म डराउँदै यताउता गर्दै थिएँ । एक प्रहरी जवानले मलाई रोक्दै भने– “किन यसरी डराएर हिँड्नुभएको ?”
“तपाईंहरूलाई देखेर ।” मैले भनेँ ।
“नडराउनुहोस् ।” उसले भन्यो– “यो अपराध नियन्त्रण सप्ताह हो– यो हप्ताभर हामी सक्कली अपराधीहरूलाई मात्र पक्रन्छौँ– तपाईंहरू जस्तालाई होइन । जानुहोस्, निश्चिन्त भएर प्रदर्शनीको अवलोकन गर्नुहोस् ।”

म अब निश्चिन्त भएर घुम्न थालो– प्रदर्शनीका कक्षमा यो प्रदर्शनीमा प्रहरीहरूका बीचमा घुम्न पाएकामा मलाई आफू भाग्यमानी भएको महसूस भयो । मलाई आफ्नो देशप्रतिको गर्व पुनः हलक्क बढेर आयो । माइकमा ठूलो स्वरमा अवाज आइरहेको थियो– अपराधीहरूलाई गिरफ्तार गर्न प्रहरीलाई सहयोग गर्नुहोस् भनेर । स्वागतम् मुन्तिर अपराध नियन्त्रण सप्ताह लेखिएका ठूलाठूला व्यानरहरू यत्रतत्र झुण्डिएका थिए । आकाश सफा थियो, धरती हराभरा थियो मलाई लाग्यो अब देशमा रामराज्य सुरु भयो ।

अनुवाद : नीलकमल

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
एउटा ठुलो चोरी

एउटा ठुलो चोरी

हरिशंकर परसाईं
इन्डियन टाइम

इन्डियन टाइम

हरिशंकर परसाईं
आलोचना

आलोचना

शरद जाेशी
सर्कसमण्डलीको शासन

सर्कसमण्डलीको शासन

हरिशंकर परसाईं