राजनीतिलाई जान्ने बुझ्ने एक सज्जन साँच्चिकै सज्जन छन्, किन भने आफ्नो देश नेपाललाई साँच्चिकै माया गर्छन् । त्यसैले म पनि उनलाई साँच्चिकै माया गर्छु ।

एक दिन मेरा ती आदरणीय सज्जनलाई मैले निकै उदास र हतास देखेँ । सारै माया लागेर सोधेँ, किन हो यस्तो निन्याउरो मुहार ? त्यस्तो के पर्यो र ? हामीले पनि सन्न हुने भए आज्ञा होस् । पापी कानलाई पवित्र पारौँ ।

ती राजनीतिज्ञ सज्जनले बडो सकसका साथ भने– केही महिना अघि भारतीय प्रधानमन्त्री मोदी आएर नेपाली नेताहरूलाई एकपुट भएर– अनेक फूलहरूको सुन्दर (गुलदस्ता र बुके) भएर अघि बढ्नू, भन्ने सल्लाह दिएर गए । सोझा साझा सारा नेपाली जनता खुसी भए, अब भ ने बल्ल हाम्रा नेताहरू मिलेर देश विकासमा लाग्ने भए, भन्ठाने । तर किन हुन्थ्यो ! धेरै दिन देखि सदन अवरूद्ध छ । अब त हुँदा हुँदा ‘देश टुक्र्याउने अधिकार समेत संविधानमै लेखिनु पर्छ !’ भन्ने माग समेत गर्न थाले । मोदीले जुटेर जाओ भने यी फुटेर जान खोज्छन् ।

हरे... फेरि संविधान बन्ने काम अनिश्चित् हुने भयो । यी साँच्चिकै कुकुर पुच्छ्रे नेता हुन् । बाह्र वर्षसम्म ढुङ्ग्रामा राखे पनि सोझो नहुने । त्यसैले म हृदयदेखि हतास र दिलैदेखि दुखी छु । – यति भनिसकेपछि उनी फेरि घनघोर दुखी भए ।

ती सज्जनलाई सम्झाउन सक्ने हुती आफ्नो मगजमा नभा हुनाले, उनको समर्थनमा ‘हो त नि’ भन्दै मैले थपेँ– एउटै आमाका सन्तान भएर क्यै कुरो मिलेन भन्दैमा आमालाई नै टुक्रा टुक्रा पारेर कृतघ्नी पातकी हुन त पाइन्न नि ! कि कसो ?
‘हो त नि !’ भन्ने पालो अब ती सज्जनको थियो ।

थानकोट, काठमाडौं