कति लिनु वर्षैपिच्छे दसैँको शुभकामना ? यस वर्ष दसैँँलाई नै शुभकामना । दसैँ मेलालाई शुभकामना । मेलामा हुने झेला र झमेलालाई शुभकामना । मेलाका नाममा दसौँ गुनासम्म मोल थपेर बेच्न सक्ने व्यापारीको चलाखीलाई शुभकामना । त्यस्ता माल किन्दा पनि चाल नपाउने उपभोक्ताको हुस्सुपनलाई शुभकामना । मक्किएका, च्यातिएका, उध्रिएका, कसै गरी नबिकेका मालहरूमा बढेको पाँच सय प्रतिशत मोल र त्यसमा गरिएको ५० प्रतिशत छुटलाई शुभकामना । मौकामा चौका हान्दै गरिने लुटलाई शुभकामना । सित्तैँमा माल पाएझैँ गरी आँखामा पट्टी बाँधेर माल उठाउन तँछाडमछाड गरिरहेको हूललाई शुभकामना । बम्पर र सम्परको झिलमिले तूललाई शुभकामना ।

गुगलमा सर्च गर्दा पनि नभेटिने सुपथ मूल्य पसललाई शुभकामना । पाइलैपिच्छे भेटिने दसैँ बजारलाई शुभकामना । अरू बेला लम्पसार परे पनि दसैँको मुखमा बजार अनुगमन गरी टोपल्ने निकायलाई शुभकामना । कालो बजारीको बाटोमा तगारो बन्न खोज्ने अनुगमनकर्तालाई घोक्रेठ्याक लगाएर जुद्ध शमशेरको सालिक छेउमा पछार्न सफल विशालबजारका बलिष्ठ व्यापारिक पाखुराहरूलाई शुभकामना ।

दूधमा पानी खन्याउने, घिउमा पिँडालु हुँडल्नेदेखि तरकारीमा सुई हालेर हलक्क बढाउने कृषकलाई शुभकामना । तरकारी–फलफूल मार्फत विषसेवन गराई सर्पको विष पनि नलाग्ने बलिया उपभोक्ता जन्माउने तिनीहरूलाई थप शुभकामना । पहेँलिएका र मुजा परेका परबल र रामतोरियालाई पोटिलो र हरियो बनाएर सप्लाई गर्ने सप्लायरलाई पनि हार्दिक शुभकामना ।

दसैँमा पनि पुरिन नपाएका राजधानीका खाडलहरूलाई शुभकामना । सडकमा जमिरहेको घुँडाघुँडा हिलो र दलदललाई शुभकामना । ढलको भललाई शुभकामना । त्यस्ता सडकमा यात्रा गर्ने यात्रुका करङ र हाडलाई शुभकामना, निधार र ढाडलाई शुभकामना ।

सुनकोसीको बाटो भत्केर काठमाडौं आउन नपाएका खसीबोकाहरूलाई शुभकामना । खसी बनेर मासु दोकानमा बसिरहेकी बूढी बाख्रीको मासुलाई शुभकामना । जोत्दा जोत्दा थाकेका राँगाहरूलाई शुभकामना । मौका ढुकेर भुक्ने खसी काट्ने मासु बिक्रेतालाई पनि शुभकामना ।

टिकट पाएर दसैँमा घर जाँदै गरेका यात्रुलाई शुभकामना । यात्रामा खुवाइने गन्धे होटलको दुर्गन्धे दाल–भातलाई शुभकामना । टिकट नपाएको बहानामा बूढा बाबुआमालाई भेट्न गाउँ नगई गोवातिर घुम्न जाँदै गरेका छोरा–बुहारीहरूलाई शुभकामना । विदेशी मरुभूमिमा पसिना बगाइरहेका लोग्नेहरूलाई शुभकामना । स्वदेशमा छटपटाइरहेका स्वास्नीहरूलाई शुभकामना । स्वास्नीका ब्वाइफ्रेन्डहरूलाई शुभकामना । विदेशमा भएका स्वास्नीहरूलाई शुभकामना । स्वदेशमा भएका तिनीहरूका लोग्नेलाई शुभकामना । लोग्नेहरूका गर्लफ्रेन्डहरूलाई शुभकामना । जुवाडे र जँड्याहाहरूलाई पनि शुभकामना ।

संविधान बनाउन छाडेर विदेशतिर घुमिरहेका माननीय सभासद्हरूलाई शुभकामना । १० वर्षसम्म देशका पचासौँ दल, सयौँ नेता, हजारौँ सभासद् लाग्दा पनि कसै गरी पकाउन नसकेको भुङ्ग्रोमा हालेको लोहोरोजस्तो संविधानलाई शुभकामना ।

स–साना पिलन्धरे कर्मचारीलाई “अकूत सम्पत्ति ओकल” भनेर अत्याउने अख्तियारलाई शुभकामना । अख्तियारको आँखा नपर्ने र परे पनि सफाइ पाउने ठूल्ठूला हाँडीघोप्टे भ्रष्टहरूलाई शुभकामना । दसैँको मुखैमा सेवाग्राहीले घाँस लगेर दिँदा पनि मुस्कुराएर स्वागत गर्न सक्ने आँटिला सरकारी अधिकारीलाई शुभकामना । आफ्नु अनुहार ऐनामा नहेरी ती अधिकारीलाई घाँसको बुके दिने अभिभावक सङ्घलाई पनि शुभकामना !

मेचीदेखि कालीसम्मलाई शुभकामना । तराईदेखि हिमालीसम्मलाई शुभकामना । कत्तीदेखि पत्तीसम्मलाई शुभकामना । चुलेँसीदेखि चुप्पीसम्मलाई शुभकामना । पाइतालादेखि टुप्पीसम्मलाई शुभकामना । बडादसैँको मङ्गलमय शुभकामना ।