चित्र विचित्र ढङ्गले विकृतिको विद्रूप रूप सचित्र पेस गर्ने सचेत हास्यव्यङ्ग्य हो कार्टुनकला ! कार्टुन सद्चित्र हो । कार्टुनको बाहिरी रूपले गिज्याए पनि भित्री आत्माले सुधारतिर घचघच्याउने पवित्र काम विचित्र ढङ्गले सचित्र रूपमा प्रस्तुत गर्दछ । व्यङ्ग्यचित्रका पाँच प्रमुख क्षेत्र हुन्– सम्पादकीय व्यङ्ग्यचित्र (एडिटोरियल कार्टुन), ठट्यौली व्यङ्ग्यचित्र (ग्याग कार्टुन), चित्रात्मक व्यङ्ग्यचित्र (इलुस्ट्रेटिभ कार्टुन), व्यङ्ग्य चित्रांश (स्ट्रिप कार्टुन) र सजीव व्यङ्ग्यचित्र (एनिमेटेड कार्टुन) यी सबैका आ–आफ्ना महत्व छन् ।

युरोपमा पुनर्जागरणको जग क्यारिकेचरबाट इटाली, फ्रान्स, जर्मनी, बेलायत आदि देशमा भएको र सन् १५०० देखि प्रारम्भ भई १७ र १८ शताब्दीसम्म विकसित बनेको भए पनि सोह्रौँ शताब्दी नै व्यङ्ग्यचित्र प्रारम्भको युग भएको पाइन्छ । यस दृष्टिले नेपालमा कार्टुनको प्रादुर्भाव धेरै पछि भएको बुझिन्छ । तापनि बीसौँ शताब्दीमा नेपाली व्यङ्ग्यचित्रको बलियो प्रारम्भ भएको पाइन्छ ।

नेपाली कार्टुनको परिचय गराउने दृष्टिले इटालीमा भएको चौधौँ अन्तर्राष्ट्रिय हास्य सम्मेलनमा पोलिटीकल कार्टुनबारे २०५९ सालमा दुर्गा बराल र अन्य केहीका नमुना यस लेखकले देखाउँदा शाश्वत कार्टुनको अभाव खट्केको थियो । मुखियाजीको कला जापानलागायत एसियाका धेरै मुलुकमा पुगेको छ । जापानी विद्वान् गो आवे र अमेरिकाका इन्टरनेसनल जर्नल अफ कमिक आर्ट जसमा इन्टरनेसनल एडिटोरियल बोर्डमा यस लेखकलाई राखिएको छ– तिनका सम्पादक प्रा. जोन ए. लेन्टलाई नेपाली कार्टुन परिचय गराइसकिएको छ । नेपाली कार्टुनको प्रभाव आज आएर स्वदेश र विदेशमा बढ्दै गएको छ ।

नेपाली कार्टुनको कखरा
नेपाली व्यङ्ग्यचित्रको विकास इतिहास हेर्दा प्रमाणित अभिलेखका आधारमा निम्नानुसार कालक्रमको स्वरूप अगाडि आउँछ ।
(क) पूर्वप्रारम्भिक काल– २००० सालअघि
(ख) प्रारम्भिक काल– २००० देखि २०२० साल
(ग) माध्यमिक काल– २०२० देखि २०४० साल
(घ) आधुनिक काल– २०४० पछि

कार्टुनको स्रष्टा पत्ता नलागेको अज्ञात कालको कुरा खोज्नै बाँकी छ । मूर्तिमा कार्टुनीकरण देखिन्छ । चाँगुनारायणको सिंहशार्दूलको तीनतीघ्रे टुँडालमा बाँदर झुण्डेको रूप र पाटनको कृष्ण मन्दिरको पछाडि रहेको बोक्सी विद्या गर्नेले लोग्नेलाई चार हातखुट्टा टेकाएर डोरीले डो¥याएको जोइटिङ्ग्रे भित्तेचित्र कम रमाइलो र अर्थपूर्ण छैन । वि.सं. १८०१ का पुराना कथा कवितामा नारीचरित्रका बारे व्यङ्ग्य भेटिने हुँदा मध्यकालको अन्त्यतिर यस्तो चित्र प्रादुर्भाव भएको अनुमान गर्न सकिन्छ ।

कात्तिक नाचमा ‘पाटने बाठो’ राजा श्रीनिवास मल्ल (इस्वीको सत्रौँ शताब्दीको प्रहसन प्रस्तुत गर्ने चलन ललितपुरमा प्रसिद्घ छ । विक्रमको सत्रौँ शताब्दीको दोस्रो दशकमा नेपाली हास्यचित्र राम्रै खुलिसकेको प्रमाण यस्तै पुराना परम्परा एवम् अभिलेखवाट ज्ञात हुन्छ । यस दृष्टिले नेपाली हास्यव्यङ्ग्यमा कात्तिक नाचको पाटन, काउकुतीको पाटन, ख्यालख्यालको पाटन, कौवा प्रकाशनको पाटन र नवग्रहमध्ये धेरैको पाटन हेर्दा पाटने हास्यव्यङ्ग्य मण्डलीको प्रशस्त प्रभाव र प्रभुत्व रहँदै आएको पाइन्छ । व्यङ्ग्यचित्रमा पनि कार्टुन मुद्रणमा प्रारम्भ गर्ने गोवद्र्घन शाह र प्रवद्र्घनमा अग्रणी भूमिका खेल्ने टेकवीर मुखिया एवम् मोहनश्याम महर्जन पाटनकै भएकाले यो अचम्मको संयोग देखिन्छ ।

वि.सं. २००० अघिको पूर्वप्रारम्भिक कालमा चन्द्रमान मास्केको १९९७ साल ताकाको राजनीतिक व्यङ्ग्यचित्र प्राप्त भएको छ । वि.संं २००० देखि २०२० सालसम्म नेपाली पत्रपत्रिकामा व्यङ्ग्यचित्र प्रयोग प्रारम्भ भएकाले बीसको दुई दशक प्रारम्भिक कालका रूपमा रहेको छ । यसमा गोवद्र्घन शाहको व्यङ्ग्यचित्र वि.संं २०१४ साउन ५ मा ‘संयुक्त प्रयास’ नामक पत्रिकामा प्रकाशित भएको पाइन्छ । यसपछि शिवहरसिंहं प्रधान ‘पागल’ २०१५ र शशि शाह पनि २०१५ र कुलमान सिंह (नैने, तिखे, ग्वाँगे आदि उपनाम) ले हालखबरमा २०१६ असारदेखि प्रारम्भ गरेको बुझिन्छ ।

वि.सं. २०२० देखि २०४० सम्ममा नेपालका वरिष्ठ व्यङ्ग्यचित्रकार जस्तै दुर्गा बराल (२०२१), पछि मुखिया र बलराम (२०२५) (२०२८) को प्रादुर्भाव भई साहित्यिक पत्रिका (मायालु २०२१ मा, कलियुग २०२८ मा व्यङ्ग्यचित्र स्तम्भ आरम्भ), हास्यव्यङ्ग्य पुस्तक (सञ्चै छ २०२५) प्रदर्शनी (२०३३ मा प्रज्ञा प्रायोजित प्रतियोगिता व्याप्ति रह्यो । यो काल वास्तवमा जग खडा गर्ने मध्यकालका रूपमा निकै विशिष्ट रह्यो । वि.सं. २०४० यता नै हास्यव्यङ्ग्य समाज नेपाल (स्थापना २०४७) ले कार्टुनको राष्ट्रिय गोष्ठी एवम् कार्यशाला (२०४९) र (२०५२) गरेको, विदेशमा नेपाली व्यङ्ग्यचित्र छापिएको (एसियन कल्चर पत्रिका– सन् १९८०) यसैताका एसिसियु जापानबाट दुई नेपाली (मुखियाजीको) कार्टुन पोस्टर प्रकाशित भएको, कार्टुनिस्ट क्लव अफ नेपाल (स्थापना २०५८) को छुट्टै अवधारणा आएको, त्यसपछि २०५८ मा नै व्यङ्ग्यचित्रलाई पत्रकारितको एक अङ्गका रूपमा नेपालमा मान्यता प्राप्त भएको, कार्टुनका सैद्घान्तिक एवम् ऐतिहासिक विवरण पुस्तकहरू (रामकुमारको नेपलिज कार्टुन्स– १९९५ र कुन्दन अर्यालको नेपाली प्रेसमा कार्टुन– २००१) प्रकाशित भएको, कार्टुन सङ्कलनका प्रकाशनहरू डिकेड– (२०५४) राजेश के.सी.– (२०६०) अविन (२०६१) र वात्सायन (२०६३) २०६४ को स्मृतिग्रन्थमा कुलमानका कार्टुन र वात्सायन कार्टुन प्रकाशित भएका तथा वासुदेव–विद्यादेव लुइँटेल गुठी (२०५०) ले व्यङ्ग्य चित्रकारलाई पनि हास्यव्यङ्ग्यको विशिष्ट पुरस्कारको बन्दोबस्त गरेको पाइन्छ । यो पुरस्कार प्रथम पटक २०५१ मा बलराम थापा र दुर्गाबराल २०५४ एवम् मोहनश्याम महर्जनज २०५७ पछि चौथो व्यक्तिमा टेकवीर मुखियाले २०६५ मा प्राप्त गर्नु उल्लेखनीय उपलब्धि हो । समाचारपत्र पत्रिकामा अपरिहार्य हुँदै आज आएर व्यङ्ग्यचित्रले व्यावसायिक ढङ्गमा विकास गर्न थालनी गरेको छ । यो आधुनिक काल नेपाली व्यङ्ग्यचित्रमा महत्वपूर्ण रहँदै आएको छ । अझ व्यङ्ग्यचित्रको कोसिस पनि लेख्ने क्रम प्रारम्भ भएबाट यो क्षेत्रले आफ्नो बौद्धिकस्तर माथि उठाएको छ ।

वरिष्ठ व्यङ्ग्यचित्रकारहरूमा अशोकमान सिंह, धीरेशकुमार दाहाल, उज्वलकुन्दन ज्यापु र सुमन मानन्धर आदि छन् । साथसाथै होनहार व्यङ्ग्यचित्रकारहरू शारब, राजेश, अविन, रविन, देवेन, वासु, विष्ट, खपाङ्गी, उत्तम आदि थुप्रै स्थापित हुँदै छन् । सन् १९९५ मा ७० जति व्यङ्ग्यचित्रकारको सूची बनाइएको छ ।

वि.सं. २०५० को दशकमा प्रारम्भमा कार्टुनिष्ट टड्कारो रूपमा कमै देखिएका थिए । विगत एक डेढ दशकमा उत्कृष्ट योगदानकर्ताको लहर लागिसकेको छ । २०४१ सालदेखि सम्पूर्ण कार्टुनयुक्त ‘भाँडभैलो’ ले गाईजात्राका अवसरमा नेपाली व्यङ्ग्यचित्रकाहरूको चमत्कार नै देखायो र कैयनलाई प्रोत्साहन ग¥यो । यही कालखण्डमा मुखियाको पनि सक्रियता रह्यो ।

मुखिया–युगका अग्रज पिँढीका आधारस्तम्भ बलराम थापा, दुर्गा बराल, मोहनश्याम महर्जन नेपाली कार्टुनमा विशिष्ट योगदानकर्ताहरू हुन् । रामकुमारको ‘कार्टुन संवाद’ स्तम्भ मायालु पत्रिकाको २०२२ भाद्र आश्विनमा र दुर्गा बरालको ‘सन्देश दृष्टिकोण बरालबाट’ व्यङ्ग्यचित्र नयाँ सन्देशमा २०२३ साउनमा २१ मा प्रकाशित दस्तावेज प्राप्त छ । बलराम थापा (बराथा) को २०२७ मा (सन् १९७०) मा कलियुगको कभरमा छ । मोहनश्यामको नयाँ सन्देश सन् १९७१ को कार्टुन पुरानै मानिन्छ ।

नेपालमा बीसको दशकमा व्यङ्ग्यचित्रले नै उहाँहरूलाई निकट ल्याएको हो । उहाँहरूको सङ्गत पाउनुअघि २०२१ साल फागुन–चैतमा प्रकाशित ‘मायालु’ त्रैमासिक मनोरञ्जन साहित्यिक पत्रिकामा सह–सम्पादक भई राकुपाण्डेको नाममा बिनाशीर्षकको ‘कार्टुन संवाद’ प्रतियोगिता गराउन विदेशी कार्टुनको ब्लकचित्रमा संवादलेखन गरेर स्तम्भ सुरू गर्दा यसतिर ध्यानाकर्षण गरेपछि २०२२ साल भाद्र–आश्विन अङ्कमा विदेशी ब्लक नपाएपछि कार्टुन र कार्टुनसंवाद रमकमरको नाममा पहिलो कार्टुन छापियो । मङ्सिर–पुस २०२५ सालमा त राम्रै विकसित भयो । २०२६ सालमा ‘मायालु’को प्रधान सम्पादक हुँदासम्म स्तम्भ रह्यो । ‘मायालु’ बन्द भएपछि २०२७ साल जेठसम्म स्तम्भ कायम रह्यो । त्यसपछि कलियुग हास्यव्यङ्ग्य प्रधान पत्रिका रामकुमारको सम्पादकत्वमा सर्वप्रथम प्रकाशित भयो । यसमा नै टेकवीर मुखियाका विविध कार्टुन प्रकाशित हुन थाले ।

‘फित्कौली’ अङ्क १९ बाट