तुक मिलेका तुक्का र उक्ति मिलेका उखानको उन्नत प्रसङ्गदेखि उद्धृत प्रयोगसम्म सङ्गतिअनुसार नै उखानको बखान भएको पाइन्छ । समाजको माझ आख्यान र उपख्यान गर्ने उखानहरू चुड्की मार्ने प्रसङ्गदेखि मुड्की बजार्ने ठाउँसम्म कसैलाई च्वास्स र छ्वास्स पार्नुपर्दा मौका छोप्नेहरू त्यही तुक्काबाटै पुक्कपुक्क हान्ने गर्छन् क्यारे ।

अस्ति भर्खर एकजना मन्त्रीजीले अघिल्ला मन्त्री र सचिवका कुकृत्यलाई सुकीर्ति हो भनेर दिएका नौथरिका सफाइले झन् सानो धोती पनि खुस्कन पुगी ‘चटपटे साँढेको नौ ठाउँमा डाम’ भनेझैँ नौथरिका अपमान सहनै पर्यो । मुलुकको प्रशासन सुधार्नुको सट्टा जुन शासकले शासन गर्दा पनि घूस खान नछाड्दा ‘जुन जोगी आए पनि कानै चिरेका’ त भन्नै पर्यो । मुलुक हाँक्नेहरूको यो खालको प्रयोगलाई ‘बाँदरको हातमा नरिवल’ नभने के भन्ने ?

एउटा मुख्य सचिवको पदमा आठजनाले हुने–नहुने योग्यता देखाएर उम्लँदा अरू सातजना ‘मच्चियो मच्चियो थच्चियो’ हुनैपर्यो । प्रशासनमा दुई दशक घूसको खेती गर्ने कर्मचारीले अवकासपछि घूसको धनलाई तुच्छ ठानेर आदर्शका कुरा गर्दा ‘वृद्धा नारी पतिव्रता’ भनेजस्तै भयो । सरकारी रकम कम–कम खर्च गरेर आफ्नै भुँडी भर्नेहरूका व्यवहार देख्दा ‘मामाको धन फुपूको श्राद्ध’ भने पनि भयो । हप्तैपिच्छे एक–एक मन्त्रीहरू भ्रष्ट आरोप लागेर फुतफुत झर्दैै जाँदा ‘बूढो मर्यो भनेर नडराउनू, काल पल्क्यो भनेर डराउनू’ भन्ने उखान चरितार्थ भएकै छ । ‘जति भाँडा उति चुबुर्को’ भनेझैँ झण्डा हल्लाइने दर्जनौँ जनाले नै केही न केही झिँगा मार्न त पाएकै छन् । भुटानी शरणार्थीलाई ‘जोगीका घरमा सन्यासी पाहुना’ भने पनि आपत्ति नपर्ला । बीए पास गर्ने बेरोजगारले खर्दारको पद पाउँदा ‘नखाऊँ भने दिनभरिको सिकार, खाऊँ त कान्छाबाबुको अनुहार’ भनेजस्तै भएन र ? व्यक्तिगत लाभमा लागेर स्वदेशी ठेकेदारलाई नदिई विदेशी ठेकेदारलाई काम दिएकोमा चाहिँ ‘गाई मारेर गधा पोस्नु’ जस्तै हुन्छ ।

सरकारी रै–रकम तिरोभारो धारा–पानी, फोन–बत्तीका बक्यौता तिर्न तत्काल बहालवालासँग केही नभनी पठाएर पछि तिरेन, दिएन भन्दा त ‘मरेको बाघको जुँगा उखेल्न सजिलो हुन्छ’ भनेजस्तै भयो । करोडौँ रकम हिनामिना गर्ने जो आफैँ कार्यालय पुगेर कामचोर कर्मचारीलाई दामचोरजस्तै आरोप लगाएर हकार्नु र कार्वाही गर्न खोज्नु चाहिँ ‘आफ्नो आङ्मा भैँसी नदेख्ने, अर्काको आङ्को जुम्रो देख्ने’ उखानको बखान गरेजस्तै भयो । तीनले सकिने कामलाई तेह्र खर्च गरिन्छ भने ‘मुरीको दाइँलाई खर्च तीस पाथी’ भन्ने उखानको जन्म यसैगरी भयो होला ।

घूस खानेलाई घुस्सी खुवाउनु भन्या ‘जस्तालाई तस्तै ढिँडोलाई निस्तै’ गरेको त हो । शान्ति व्यवस्था कायम गर्न नजान्ने र अरूलाई मात्र दोष दिनेलाई ‘नाच्न नजान्ने आँगन टेढो’ भन्दा कोही रिसायो भने ‘रिसाउनेकै मुख कालो हुन्छ’ । बाबु मन्त्री भएको फाइदा लुटेर छोराले सरकारी सामानको दुरुपयोग गर्दा त ‘बाघको छालामा स्यालको रजाइँ’ भन्नु नै उचित होला । ‘रोटी चिल्ला मीठा कुरा खस्रा मीठा’ भनेर अहिले यो नेताले यति खायो उति खायो नभन्नुस् है, बाघको मुखमा पर्नुहोला । ‘मुख भए मुलुक मिल्छ’ भन्ने उखानलाई ‘मुख भए मुलुक निल्छ’’ मा नबदलियोस् । ‘अचानाको पीर खुकुरीले जान्दैन’, ‘ब्याउनेले मात्र बेदना बुझ्छ’ ‘जुँगा चल्यो कुरा बुझ्यो’ त भन्नु मात्र हो । खुकुरीलाई अचानाको के मतलव ? ब्याएको बेलाको बेदना कसले सम्झिरहोस् ? जुँगा कसरी चल्यो ? कुराको–कुरो कसले के बुझ्यो ? आखिरमा उखानको बखानमात्र त हो नि ।

‘मह काड्नेले हात चाट्छ’ भन्दैमा ठेकेदार मोटाउने गरी ठेक्का दिनु, ‘कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भनेको देशको समस्या छाडेर विदेश भ्रमणमा जानुजस्तै हो । घूस खाएर धनी हुँला भनेका कर्मचारीलाई अख्तियारले जागिर खोसिदिँदा ‘आफू ताक्छ मूढो, बन्चरो ताक्छ घुँडो’ पनि भएको छ । यस्ता उखानका बखान गर्दै जाँदा हाम्रा नेता, मन्त्री, माननीय, प्रशासकहरूका व्यवहारमा ‘देख्नाको डाल खानको काल’ ‘नमच्चिने पिङको सय झट्का’ ‘कहिले सासूको पालो कहिले बुहारीको पालो’, ‘चौटा खान गएकी बूढी झोलमा डुबेर मरी’, ‘उत्ताउलो गाई बाघले खाई’, ‘धन देखेपछि महादेवका त्रीनेत्र’ जस्ता धेरै उखान धेरै ठाउँमा मिलेको र कतै आहाराले चल्ला निलेको पनि पाइन्छ र कार्वाहीमा पर्नेले उल्टै अरूलाई नै कार्वाही गरेको पनि देखिन्छ । जे होस् यस्ता उखानका बखान धेरै छन् । नयाँ नेपाल निर्माण गर्ने नेता, न्यायिक, शासक, प्रशासक, उपासक, उद्यमी, आदिका काम कुरालाई लिएर अर्को उखानको बखान त पछिनै गरौँला ।

हाल : काठमाडौँ