माइ डियर ड्याडी,

तपाईंको पत्र प्राप्त भयो । अभिभावकबाट टाढा रहेको छोरालाई पैसाको खाँचो सधैँ परिरहन्छ । त्यसैले चिठी थोरै लेखेर पैसा धेरै पठाए कति राम्रो हुन्थ्यो हगि ड्याडी ! तपाईंले आफ्नो समयमा दीक्षान्त समारोहको फोटो पूरा ‘सरकारी’ पोशाकमा सजिएर खिचेको हेर्दा तपाईं कति मख्ख पर्नुहुन्थ्यो । तर आज त लवेदा सुरुवाल र गुन्यु चोलोको जमाना कहाँ छ र ?
यो त एक्काइसौँ शताब्दि पो हो त ।

तपाईंले विद्यार्थी जीवनमा साधनालाई औधी जोड दिनुपर्ने कुरा लेख्नुभएको रहेछ । तर ड्याडी अहिले कहाँ साधना सरगमको जमाना हो र यो त मोल्लिका सेरावत र शिल्पा सेठ्ठीको जमाना हो । उर्मिला मार्तोडकरको जमाना त अब घर्किसक्यो । तपाईं अहिले म बसेको छात्रावासमा आउनुभयो भने देख्नुहुन्छ– कति केटाहरूले मल्लिका र पूजा भट्टसित सँगै बसेर खिचेका फोटाहरू ! अझ सँगै बसेर बियर पिएका सीडीहरू ! हुन त अहिले छात्रावासभित्रै पनि बार खुलिसक्यो । पहिला क्यान्टिनमा अधबैंसे बूढो बस्थ्यो– अहिले खुलेको बारमा त परिपुष्ट छाती भएका युवतीहरू । उनीहरू मिलनसार मात्र होइन परिआउँदा जस्तोसुकै आग्रह पनि स्वीकार्छन् । नयाँ नियुक्ति पाएका कलेजका प्रिन्सिपल यति औधी उदार छन्– छात्रा–छात्रालाई डिस्को थेकमा गएर रम्न कुनै रोकटोक गर्दैनन् उनी । संभव छ उनी पूरा कार्यकाल टिक्छन् ।

यो सालको गर्मी विदामा म घर आउन सक्दिन । त्यो केटी थिई नि अनिसा उसलाई साथ दिन गत वर्षको परीक्षा मैले हापेको थिएँ, ऊ यो विदामा आफ्नो घर दार्जीलिङ्ग जाँदैछे । म उसको साथमा जाँदैछु । उसका बाबुआमा उसलाई धेरै माया गर्छन्– एक जवान केटीलाई उनीहरू एक्लै दार्जीलिङ्सम्म बोलाउन सक्दैनन् । म मजबुर छु के गर्ने ?

अरु सबै राम्रो छ । घरमा काम गर्ने बूढी तिनै छन् कि अर्की आइन् ? अर्काे पत्रमा पैसा पठाउँदा उल्लेख गर्नुहोला ।

तपाईंहरूको एक्लो छोरो
रिउके

अनुवाद– नीलकमल