अँध्यारो छ बत्तीमुनि
आज, साहित्य, सञ्चार, शिक्षा, कला
छन् सबैमा छिरेका लुटेरा–खल
रूप तिन्का अहो ! छन् अनेकौँ थरी
फस्छ सादासिदा चिन्न गाह«ो परी ।
क्षेत्र सारा तिनैको छ बिर्तासरि
फल्छ खेती विनामेघ वर्षैभरि
कूटभाषा छ बुझ्नै नसक्ने गरी
गूटकै, झूटकै चल्छ दादागिरी ।
‘काम राम्रो कुनै होस् कि बेकार होस्
वाहवाही लिने स्वप्न साकार होेस्
ढ्वाङ सक्तो फुकी गर्नु आफ्नै स्तुति’
झाङ्गिएको छ ऐले नयाँ ‘संस्कृति’ ।
आज उम्दा गनिन्छन् यहाँ पित्तल
‘स्वर्ण’ ओझेलमा पार्न हुन्छन् छल
मारमा छन् परेका यहाँ सुकृति
नित्य मौलाउँदै छन् नयाँ विकृति ।
भन्नु आफन्त को ? को पराई अनि ?
चिन्न गाह्रो अँध्यारो छ बत्तीमुनि
काम खस्रो यहाँ चल्छ चिप्लो कुरा
जोसुकैमा भरोसा नगर्ने गर ।
खूब चिल्ला र चिप्ला कुराले पुरी
मानभाऊ निकै झन् गरेझैँ गरी
ग्रन्थमा भूमिका चट्ट लेखाउलान्
अन्तमा रूप ती नग्न देखाउलान् ।
या त भन्लान् कुनै— ‘ग्रन्थमा बोलिदे,
लेखिदे, ‘देवकोटा’– सँगै तौलिदे’
स्वस्थ आलोचना सुन्न ती तर्सलान्
गर्जंर्दै घोर वाग्बाण बर्साउलान् ।
खै पुरस्कारको त्यो प्रतिष्ठा कहाँ !
मान–सम्मान भो आज चिट्ठा यहाँ
के ‘पुरस्कार’, के चाहिँ ‘व्यापार’ हो ?
भेद छुट्याउनै आज पाहाड भो ।
ती पुरस्कार—व्यापारटोलीहरू
मान–सम्मानका मोलतोलीहरू
होस राखे, कतैबाट लोभ्याउलान्
किन्तु आफ्नै दुनो मात्र सोझ्याउलान् ।
‘शक्तिको भक्तिमा जो मजा, अन्त खै ?
बेमजाको अरू भक्ति हो व्यर्थकैै !’
गूढ यो मर्मलाई बुझेरै सधैं
शक्तिको भक्तिमा छन् जुटेका सबै ।
हुुन्छ ज्ञानी, इमानी, गुणी निर्धनी
मोजमा हुन्छ जैलेसुकै निर्घृणी
जत्ति त्यो टुप्पियोस् किन्तु यो सत्य हो
निर्घृणी आखिरी निर्घृणी नै त हो ।
हाल : काठमाडौं