“अलि सोझो भएर बस्नोस् न दाइ ! कस्तो खपी नसक्नु ठेलमठेल छि !” उकुसमुकुस यात्री खाँदिएको बसमा एक युवती यात्रीले गुनासो गरिन् । प्राय: अफिसबाट फर्कंदा भिडभाड नै हुने गर्दथ्यो तर आज अलि बढी ठेलिएको महसुस गरिन् उनले ।

“खै कता जाउँ ? हुनु पनि त पर्यो नि ठाउँ ! ... यस्तो गाह्रो हुनेले त आफ्नै गाडीमा पो हिँड्नु पर्छ त !” पछाडिबाट एक सुटेड बुटेड अधबैँसेले पाँडे–जवाफ फर्काए ।

यस्तै प्रकारका गुनासा र खैलाबैला बसका अन्य भागमा पनि सुनिँदै थियो ।
पटक पटक जिउ सार्दा पनि फेरि उस्तै ढेस्सिने र असहज अनुभूति भएकाले युवतीले साहस बटुलेरै प्रतिवाद गर्ने बिचार गरिन् ।

“लाज पचेका छाडाहरू ! भिड भएको त खप्न सकिन्छ नि, तर जबर्जस्ती भिड गराउँछन् मोराहरू, कसरी खप्ने !’
बर्बराउँदै यस्सो पछाडि पट्टि आँखा पुगे युवतीका । अनायासै दुबै हात जोडिन खोजे जुन सम्भव थिएन डण्डी समाएर झुण्डिएकाले । “नम......!” नमस्कार सर भन्न चाहन्थिन् तर पुरै शब्द निस्कन पाएन उनको मुखबाट ।

पन्ध्र बिस मिनेट लामो यात्रामा बल्ल ती पुरुष यात्रीले युवतीको अनुहार देखे । लज्जाबोधले पूर्ण ग्रसित उनको गालाबाट रगत चुहिएला जस्तो भएको थियो । तुरुन्त झोला तान्दै अर्को बिसौनीमा ओर्ले ती । उनको गन्तव्य त्यही थियो वा थिएन थाहा भएन ।

“छद्मभेषी नकच्चराहरू !” युवती एक्लै फत्फताइन् । नजिकैका यात्रीहरूलाई टीठ पनि लाग्यो र जिज्ञासा पनि । एकछिन महिलाहरूको वार्तालापपछि थाहा भयो कि ती पुरुष एक योग प्रशिक्षक हुन् जसको नेतृत्वमा ती युवति पनि दुई महिनाअघि हरिद्वारमा तालीम प्राप्त गरी फर्केकी थिइन् ।
“राम राम राम...!” एकजना सिटमा बसेकी बयोबृद्ध महिला जिभ्रो टोक्दै थिइन् ।

हाल : काठमाडौं