यता विदेशको कुरा हो । नेपालबाट पाल्नुहुने नेपाली पर्यटकको सङ्ख्यामा अत्यन्त उत्साहजनक वृद्धि भएको छ । नेपाली मान्यज्यूहरूको बढ्दो विदेश भ्रमणको लहरले त्यसो भएको हो । यो मान्यज्यूहरूको स्वागतयोग्य रहरको लहर हो । मान्यज्यूहरू विशिष्ट त हुनुहुन्छ नै, निकै फुर्सदिला प्रायः पनि हुनुहुँदो रहेछ । फुर्सदको बेलामा विदेश भ्रमणले मान्यज्यूहरूको अनुभवमा निखार ल्याउँछ । वहाँहरूको अनुहार हँसिलो र फरासिलो हुन्छ । जसले गर्दा नयाँ बन्ने संविधानमा नेपाली जनताको अनुहार पनि त्यस्तै हुन सक्ने सङ्केत मिल्छ ।

दयावान मान्यज्यूहरू यता विदेशमा होटेलमा रेस्ट गर्न र सपिङ् गर्न मात्र थोडी आउनु हुन्छ र ? वहाँहरू आउँदा थुप्रै कोशेलीपात पनि ल्याइदिनुहुन्छ । हिजोआज त त्यस्तो कोशेलीको वर्षा नै भएको छ । नेपालबाट आउने चीजबीजको दाम असन वा कालीमाटी बजारको (काठमान्डू) भन्दा यतै सस्तो भएको छ ।
सूर्ती, पानपराग, खैनी, सुपारी, गुट्खा, बोकाको सित्तन, कालो बङ्गुरको सुकुटी, चुराधागो, ढाकाको टोपी, अगरबत्ती, चमेली तेल, भैंसीको घिऊ, छुर्पी, मासको दाल, जोमसोमको स्याउ, भुटेको मकै भटमास्, मनकामनाको सुन्तला, पालुङको काउली, कोदोको तीनपाने, इत्यादि फालाफाल ।

खासगरि, विदेशमा निमेक गर्ने नेपाली मजदुरहरू यसबाट प्रत्यक्ष रूपमा लाभान्वित भएका छौँ । यसलाई पनि दोस्रो संविधानसभा चुनावकै उपलब्धी मान्न सकिन्छ । र यस्तो खुशीको कुरो, सकेसम्म संविधान निर्माणमा व्यस्त निकायको मर्यादा–व्यवस्थापन गराउने अपिस्सम्मै फैलियोस् ।

दोस्रो चुनावको मङ्सिर ४ ताका यो लुरे टिप्पणीकार घर गएको बेला मान्यहरू सबैजनालाई असारको १५ थियो । समय र क्षमता अभावले लुरे कुनै पनि पार्टीको खेतालामा नियुक्त भएको थिएन । त्यसैले कसैज्यूसँग ‘उठबस’ हुने कुरा पनि भएन । त्यसबेलासम्म वहाँहरू भावी मान्यज्यू नै हुनुहुन्थ्यो ।

संयोगले, सँगै क्याम्पस पढेका लुरेका एकजना दोस्ती पनि सुदूरपश्चिमको कुनै विकट क्षेत्रतिर मान्य उठ्नुभे’को रहेछ । वहाँका अनुसार वहाँ त मतगणना सुरु नहुँदै ‘कन्फर्म’ जस्तै भैसक्नुभएको रहेछ, आखिर दोस्ती कस्को ! “काठमाण्डूमा भेट्नुपर्छ केटा, बाजेको सेकुवामा म अडर गरुम्ला, तँलाई मनपर्ने सित्तन त्यहाँ पाउँछ ।” –मोबाएलमा मेसेज् गरेर भन्नुभएको थियो ।

तर लुरेले त्यो निम्ता स्वीकार गर्न मानेन, कारण थियो– लुरेलाई विदेशमा श्रम गर्न गएका बीसौं लाख नेपालीहरूले उतैबाट भोट हाली पठाउन पाउने व्यवस्था हुनु परेको थियो, र सो भएको थिएन । त्यस कुरामा यथेष्ट चासो नदिएको गुनासो लुरेले निज दोस्तीमाथि मुबाएलमै गरेको थियो । त्यसैले, लुरेले बाजेकाँ जाने
ट्याक्सी पनि खोजेन । त्यसदिन सेकुवा पनि खान पाएन ।

यता विदेशमा उत्पात् महँगो कि डलर वा भाट् तिरेर भे’पनि लुरेले जसोतसो हप्ताको एकप्लेट सेकुवा त चपाउँछ नै । त्यो पनि तर अर्कै कुन्नि के खसीको । काठमाण्डूको कुरो, अहिले पो थक्थकी हुन्छ, अभागी मुर्दारलाई खाने बेलामा पनि रिसै उठ्ने ! हो रहेछ । धत् !!

तर, यो भ्रमण सिजन देखेर लुरेको फेरि आश जागेको छ । छिट्टै एकदिन मेरा परिचित मान्यज्यू पनि यता विदेशमा फ्रेस हुन आउनु हुनेछ । बैंककको पानीद्वार क्षेत्रमा एउटा प्रशिद्ध ‘नरक गल्ली’ भन्ने खानपिन इलाका छ । लुरेले त्यतै डिनर गराउने प्लान् बनाएको छ । मान्यज्यूलाई मनपर्ने सित्तन त्यहाँ पाउँछ । आखिर आतिथेय कस्को ?

र, आइन्दाको जमघटमा लुरेले पनि सुध्रने वाचा गरेको छ । देशको चिन्ता जस्तो वाहियात गफ गरेर कसैको मूड बिगार्ने पक्षमा छैन, लुरे । यस प्रतिबद्धतालाई पूरा गर्न सहमतीमै ५–७ पेग चीज अरु थप्नु परे पनि लुरे र उसका दोस्ती कोही पछि हट्नेवाला छैनन्, अब । आखिर त्यत्तिले लुरेको आकाशै खस्ने होइन क्यारे !

एकबारको जिन्दगीमा दोस्ती पो गर्नु पर्छ । इआर्सी गर्नुपर्छ, इआर्सी ! मतलव– इन्ज्वाय, रिल्याक्स्, कूल् डाउन् ।

हाल : बैंकक, थाईल्याण्ड