डियर रवि, 

आज राति मैले सपनामा तिमीलाई फेरि देखेँ जसका कारण म यो पत्र लेख्दैछु । सपना पुरानो थियो, पुराना दिनहरू थिए ती र बितेका रातहरूको सचित्र संस्करण थियो त्यो सपना । तिमी र म अघिल्लो पटकजस्तै आत्महत्या गर्नका लागि बसपार्कको मुखैमा लमतन्न सुतेर महाकवि देवकोटाको कविता “आखिर श्रीकृष्ण रहेछ एक” गाउँदै थियौँ । जब बसपार्कबाट बस बाहिर निस्किएर बाटोमा हामी लडेको देखेर हर्न बजाउँदा हामी दुबैले एक अर्काको हात अझ जोरले पक्रेका थियौँ जसले गर्दा प्रेमका यज्ञमा आफूलाई आहुति दिने समयमा हाम्रो हिम्मत नटुटोस् । बसले दोस्रो पटक हर्न बजाउँदा हामी समाजलाई सराप्थ्यौैँ किनभने त्यो समाजले हामीलाई एकाकार हुन दिँदैनथ्यो । तेस्रो पटक जब लामो हर्न प्वाँ प्वाँ पार्दै हामीतिर बढ्दै चम्किलो प्रकाश हाम्रो अनुहारमा पोखेपछि आत्तिँदै हामी उठेर स्वाँस्वाँ गर्दै नजिककको चिया पसलमा पुगी चिया विस्कुट खाएका थियौँ । आत्महत्यापछि बहुत भोक लाग्दो रहेछ हगि ?

त्यसपछि तिमी विदेशियौ र त्यतै अरु कसैसित प्रेम गर्न थाल्यौ । तिमी बेकार कहिल्यै भएनौ । कस्तो संयोग ! हामी दुवै त्यसपछि दाजुवहिनी भयौँ, भाइटीका गर्ने सोच्यौँ । तिम्रै सल्लाहमा त्यसपछि मैले एउटा घरानियाँ केटासित बिहे गरेँ । आमा बनेँ, बन्दै गएँ । अहिले आधा दर्जन सन्तान छन् । अब पछि कस्तो स्थिति आउला पत्र मार्फत जानकारी गर्दै रहूँला ।
इश्वरले मलाई सबथोक दिएको छ । सुन्दर पति छन्, ठूलो महल, शानदार फर्निचरहरू छन् र आधा दर्जन बच्चाहरू । सबै थोक छ मसित तर तिमी नहुँदा के के नपुगेको जस्तो लाग्छ । म पूरै सुखी छु त्यसैले तिमीसित सोध्छु– के सुखी हुनु नै मात्र नारीको नियति हो र ?

अहिले मेरो पतिको विदेश जाने कुरा छ, तिमी रहेकै देशमा । म पनि शायद आउँछु तिमीसित भेट गर्न जसले गर्दा मैले चाहेको कुरा पाउँछु । मौका मिल्यो भने फेरि आत्महत्या गर्न सँगै जानुपर्छ । “अस्ताउँदो सूर्य, मस्त गगन– माथि आकाश, तल तिमी र म तर त्यतिबेला भने मैले बसको पहिलो हर्नमै उठ्नुपर्छ नि ! आत्महत्या गर्दा किनकि म अहिले धेरै मोटाएकी छु– छिटो दौडिन सक्दिन । विवाह अगाडि डेटिङ् हुन्थ्यो भने विवाह पछाडि डाइटिङ् भएकाले जीउ भद्दा भयो । पत्र लामो भयो– अन्तमा मेरो यार आउँदा ऐनामा हेरेर आफ्नै प्रतिविम्व चुम्नु । ऐना नै चुम्नु सेभिङ् व्रस र सेभिङ् मेसिन कहिल्यै नचुम्नु । ल त विदा !

उही तिम्री
अनामिका

अनुवाद : नीलकमल