तिमी जुन जुलुसमा हुन्थ्यौ
म पनि त्यही जुलुसमा हुन्थें
तिमी जुन झण्डा बोक्थ्यौ
म पनि त्यही झण्डा बोक्थेँ
तिमी जुन नारा घन्काउँथ्यौ
म पनि त्यही नारा घन्काउँथे
तिम्रो सपना पनि उही थियो
मेरो जपना पनि त्यही थियो
तिमी सगरमाथा छुन्छु भन्थ्यौ
म पनि सगरमाथा छुनुपर्छ भन्थें
तिमी रुँदा रुन्थें
तिमी हाँस्दा हाँस्थे
गणतन्त्र आउँदा
तिमीले ‘मासुभात’ खायौ होला
मैले त ‘आँसुभात’ खाएँ
तर पनि कमरेड !
हेर्छु आजभोलि तिमीलाई र मलाई
तिमी शहरतिरै छौ
म गाउँघरतिरै छु
तिमी महलमा बस्छौ
म झुप्रोमा बस्छु
तिम्रा छोराछोरी स्कूल–क्याम्पस पढ्छन्
मेरा छोराछोरी मेलापात गर्छन्
र पनि तिमी सुकुम्बासी !?
म हुकुमबासी !?
हिजोआज त कमरेड
म रुँदा तिमी हास्छौ रे
म हाँस्दा तिमी रुन्छौ रे
अनुत्तरित छु म आफैँ ?
परिआउँदा फेरि
तिमी र म एउटै जुलुसमा हुन्छौँ
उही झण्डा बोक्छौँ
त्यही नारा लगाउँछौँ
फरक यति छ, कमरेड
तिमी नेताको माझमा छौ
म नीतिको साथमा छु
तिमी पहिलो दर्जाको,
म दोस्रो दर्जाको,
कसलाई भनौँ कसलाई सुनाऔँ यो देशको व्यथा
लेखूँ भने बन्छ होला धेरै लामो कथा
उनीलाई सुनाऔँ भने झनै दुख्लिन् उनी
यसरी नै बित्छ क्यारे नेपालीको जुनी ।