मानवताको गाउँदै गाथा सिर्जना कोरेथे
धर्तीमै पाइला टेकेर चन्द्र–धरातल हेरेथे
स्वच्छन्दताको विमान चढी गगन चाहर्थे
छाँगाको वेग, छहरा बनी कविता ओराल्थे ।

प्रकृति आउँथ्यो प्रतिभासँगै खेलेर वयली
काव्यको खानी युगको वाणी उनको सुसेली
हृदयभरि अटेसमटेस प्राचीन सभ्यता
कोसी र रोसी बनेर बग्यो काव्य र कविता ।

डढेलो जस्तै हुरहुर बल्ने आगोको चेतना
एउटै पङ्क्ति कविताभित्र ब्रम्हाण्ड चिन्तन
शुभ्रता टिप्ने अक्षर–कलम तारा र जूनका
मानिसलाई ईश्वर देख्ने ती आँखा उनका ।

आज त उनका मदनहरू हजारौँ हजार
गाउँ नै शून्य ओइरिइरेछन् इराक–कतार
नेपाली भाग्य जस्ताको तस्तै सपना कोरेको
स्याहाँर गर्छन् ती मुनाहरू विदेशी गोरेको ।

आँसु र रगत ती सराबरी के चिन्नु खुनीले
इज्रेल पुगी लुटिनुपर्छ म्हेन्दु र लुनीले
लौ आज पनि उनको बुद्ध धर्धर रूँदैछ
प्रमिथस–नेता अहंकार बोकी डढेर मर्दैछ ।

सत्ता र भत्ता सर्वश्व ठान्ने भेँडाको बथान
चर्दैछ अझै, मासियो होला भन्ने यो नठान
श्रमको रस पसिना सबै अर्कैले प्युँदै छ
प्रतिभालाई पागल देख्ने प्रवृत्ति ज्युँदै छ ।

सबैका निम्ति सनकी तिमी पागल लागेथ्यौ
अन्त्यको बेला, आफन्तसँग साइनाइड मागेथ्यौ
त्यो तिम्रो व्यथा, दुर्दान्त कथा त्यसैले बोल्दछ
पीडाका सबै भक्कानाहरू त्यसैले खोल्दछ ।

शताब्दी पनि बितेर गयो, भाषाको भूमिमा
कृतघ्न हामी, श्रद्धाका सुमन के चढाउँ तिमीमा ?
नक्कली ढाँचा झिकेर आज भावुक हुँदैछौँ
सालिकमाथि गोहीका आँसु खसाली रुँदैछौँ ।

२८ कात्तिक २०६९ (देवकोटा जयन्ती)
काठमाडौँ