बाँदरका हातमा नरिवल
(हास्यव्यग्य निबन्ध सङ्ग्रहमाथिको व्यङ्ग्य)
त बर्गको अन्तिम वर्णबाट
निस्कन्छ त्यो नाम त सानसाथ
पछाडि नाङ्गै छ र लाज मान्छ
‘न’ लाई आकार छ एउटा थ ।
लुकेर बस्छ तर ठोक भन्छ
इमानकासाथ रहन्छु भन्छ
टेकेर पाउ रचि व्यङ्ग्य ठोक्छ
लमक्क लम्केर अगाडि बढ्छ ।
कैले मिटिङ् मन्थन सोचि बस्छ
बद्नाम रामहरूलाई भजिरहन्छ
कैले त त्यो राष्ट्रिय झोल लेख्छ
गम्भीर निष्कर्ष निकालिरन्छ ।
काम्रेडको स्वाद प्रकट् गरेर
बिकट् टिकट्को परिणाम धेर
अगाडि ल्याइ छरपष्ट पार्छ
अनेक विकृति उरालिदिन्छ ।
हावा हुसेरिकन हुस्सुकान्त
टुट्फुट नाराहरू घोकिरन्छ
ठोक्ने दिँदै राय ऊ ठोकिदिन्छ
कैँ धाँधली भो कि त झम्टिहाल्छ ।
भाषा र भक्ति अनि गाईजात्रा
अपार व्यापार यता उताका
तिहारमा देउसुरे पुकार्छ
नेताजीलाई दिन पोलियो छ ।
मिलिजुलि खेल बनाउने ऊ
काम्का चिठिपत्र पठाउने ऊ
इनाम् पुरस्कार दिलाउने ऊ
चुक्ली चमत्कार जुराउने ऊ ।
स्वप्ना कुकुर्का पनि लेख्न सक्छ
लेखक् बृत्तान्त उही लेख्न सक्छ
ऊ भ्रष्टको साथ दिँदो रहेछ
टन्टन् टेलिफोन बजिरहन्छ ।
कम्पिटिसन्मा बल्ड्याङ खाए
छेपारो माउसुली बात आए
उल्टो गति देखि रमाउने हो
चार् मार्ग देखेर बताउने त्यो ।
यौटा नरीवल टिपेर ल्याई
दिलाइयो बाँदर भाइलाई
के गर्छ त्यो बाँदर हेरदैछ
लुइँटेल् नरनाथ चिहाउँदैछ ।
वानेश्वर, काठमाडौँ