भन भन सुशीलजी– देउसी रे !
राम्ररी भन– देउसी रे !
स्वरै आएन– देउसी रे !
नेपाली जनताले– देउसी रे !
बुझ्ने गरी– देउसी रे !
स्वर मिलाई भन– देउसी रे !
कछुवाबाट झरेर– देउसी रे !
अलि वर सरेर– देउसी रे !

बाह्रै वर्ष– देउसी रे !
ढुङ्ग्रामा हाले नि– देउसी रे !
हाम्रो पुच्छर– देउसी रे !
बाङ्गाको बाङ्गै– देउसी रे !
तिमी जनता– देउसी रे !
नाङ्गाको नाङ्गै– देउसी रे !

खाल्डे बाटो– देउसी रे !
ढोडको लाठो– देउसी रे !
टेक्दै आयौँ– देउसी रे !
गाली र सराप– देउसी रे !
थेग्दै आयौँ– देउसी रे !
उफ्री पाफ्री– देउसी रे !
सडकैमा– देउसी रे !
डिभाइडर नाघ्दै– देउसी रे !
लोडसेडिङको– देउसी रे !
अँध्यारोमा– देउसी रे !
लड्दै पड्दै– देउसी रे !
आपसमा भिड्दै– देउसी रे !
एकअर्काका– देउसी रे !
खुट्टा तान्दै– देउसी रे !

भन भन प्रचण्डजी– देउसी रे !
ताल मिलाईकन– देउसी रे !
जाल फिँजाईकन– देउसी रे !

अन्डा डन्डा– देउसी रे !
भाग र बन्डा– देउसी रे !
गर्दै आयौँ– देउसी रे !
भ्यागुताको धार्नी– देउसी रे !
मिलाउँदै आयौँ– देउसी रे !
जडौरी मन– देउसी रे !
सिलाउँदै आयौँ– देउसी रे !
फुटका धन्दा– देउसी रे !
फलाउँदै आयौँ– देउसी रे !
लुटका धन्दा– देउसी रे !
जोगाउँदै आयौँ– देउसी रे !
लचक लचक– देउसी रे !
लच्किँदै आयौँ– देउसी रे !
सिद्धान्तबाट– देउसी रे !
भत्किँदै आयौँ– देउसी रे !

झिलिमिली झिलिमिली– देउसी रे !
केको झिलिमिली– देउसी रे !
सोलारको झिलिमिली– देउसी रे !
सार्क सम्मेलन– देउसी रे !
हुन्जेलको झिलिमिली– देउसी रे !
पाहुना आउँदा– देउसी रे !
फोहर छोपौँ– देउसी रे !
स्याउला रोपौँ– देउसी रे !
पिच सडकमा– देउसी रे !
कालो पोतौँ– देउसी रे !
हाम्रो राजधानी– देउसी रे !
हामीजस्तै– देउसी रे !
बाहिर बोक्रो– देउसी रे !
भित्र खोक्रो– देउसी रे !

भन भन केपीजी– देउसी रे !
चुट्किला भन– देउसी रे !
वैद्यजीको गोलमेचमा– देउसी रे !
वैद्यजी नै नाचे– देउसी रे !
सुकेको कम्मर– देउसी रे !
आठ ठाउँ भाँचे– देउसी रे !

नयाँ शक्ति लगाएर– देउसी रे !
भन भन बाबुराम– देउसी रे !
अनशन बसाएर– देउसी रे !
मान्छे मार्ने नयाँ रेकर्ड– देउसी रे !
कसले राख्यो भन– देउसी रे !
हाम्ले नै हो जान– देउसी रे !
हामी कस्ता देखियौँ– देउसी रे !
बिरालाका ढाडेजस्ता– देउसी रे !
असनका साँढेजस्ता– देउसी रे !
लाज पनि हराएका– देउसी रे !
डर पनि गुमाएका– देउसी रे !

संविधानको झमेला– देउसी रे !
हाम्लाई भयो अबेला– देउसी रे !
आगौँ फेरि आऔँला– देउसी रे !
संविधान ल्याऔँला– देउसी रे !
ल्यायौँ भने ल्याउँला– देउसी रे !
नल्याए के नै नापौँला– देउसी रे !
धारे हात लाऔँला– देउसी रे !
गाली गलौज गरौँला– देउसी रे !
हामी खाइरहौँला– देउसी रे !
तिमी रोइरहौला– देउसी रे !

‘नेपाल’ २०७१ कात्तिक