(सन्दर्भ : महाकवि देवकोटा जयन्ती)

अभावको जिन्दगानी धिपधिप बल्थ्यो
सिग्रेटको धुवाँसँँगै काव्य बाली फल्थ्यो
कविता नै प्रेयसी हुन् गर्थिन् टुकुटुकु
कोक्याउँथ्यो पेट जब भन्थ्यो ‘दालभात डुकु’ ।

यो राष्ट्रकै ज्यान थियो लेखनीमा जस्को
सिङ्गै विश्व अटेकोथ्यो कल्पनामा उस्को
निर्झर झरनाको निस्कलङ्क पानी
उसै गरी झर्थिन् अहो ! कविताकी रानी ।

प्रतिभाको मुहान त्यो कवितामै बोल्थ्यो
भावनाका बन्द ढोका कलमले खोल्थ्यो
यौटा युग बित्यो तर उस्तै काव्यकुना
ओर्लिएकी छैनन् अझै किन अर्की मुना ?

बेथितिले लथालिङ्ग देशै भद्रगोल
प्रतिभा र पौरखको छैन कुनै मोल
यो देखेर विद्रोहको बिगुल जस्ले फुक्यो
कृतघ्नता कतिसम्म उसलाई पागल देख्यो ।

क्यान्सरको पीडालाई आँसुसँग साट्यो
दुस्ट अनिकाल सँगै कैयौँ रात काट्या
आज फेरि खोतलेर उस्कै चिहान पूजा
देख्छु जब मेरो मन हुन्छ धुजाधुजा ।

आज उनका मदनहरू अरब खाडीतिर
लुटिँदैछन् मुनाहरू इज्रेल झाडीतिर
तिन्कै रेमिट हसुरेर भर्छन् यता भत्ता
तिन्कै रगत पसिनाले सिञ्चित भो सत्ता ।

गाउँतिर छैनन् कुनै युवा छविहरू
मोफसलमा तड्पिँदैछन् महाकविहरू
खुनी हात लतारेर के को चिहानपूजा ?
यो देखेर मेरो मन हुन्छ धुजाधुजा ।

कलङ्की, काठमाडौं