सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

विधि-प्रक्रिया मुर्दावाद

Nepal Telecom ad

बडादसैँमा बडाहरूको आशीर्वादले एउटा नयाँ ज्ञान प्राप्त भयो, संसारको सबैभन्दा रद्दी चीज भनेको विधि र प्रक्रिया रहेछ । विधि र प्रक्रिया भन्ने पुरातन र प्रतिगामी सोचका कारण नै हामी पछि परेका रहेछौँ । विधि र प्रक्रिया नभएको भए यो देशमा दुईपटक त के एकपटक पनि संविधानसभाको निर्वाचन गराउनुपर्ने थिएन । नेताहरूबीच कुस्ती हुन्थ्यो । कुस्तीमा हार्ने कुना पस्थ्यो, जित्नेले शासन गथ्र्यो । कुरै सकिन्थ्यो । विकासको बाधक त विधि र प्रक्रिया नै रहेछ ।

माओवादी, एमाओवादी र साना दलहरू अहिले विधि र प्रक्रियाका विरुद्ध कस्सिएर लागेका छन् । विधि र प्रक्रियाका आधारमा संविधान बनाउन खोजिएमा उनीहरू सडक संघर्षमा उत्रिने भएका छन् । अबचाहिँ यो मुलुकमा संविधान बन्छ कि जस्तो भएको छ । किनभने, सबै विधिविधानहरू खारेज गरी बहुमत-अल्पमतको अर्थ शून्य भएपछि जसले सबैभन्दा मोटा पाखुरा र पाँसुला प्रदर्शन गर्ला, उसैले संविधान बनाउला ।

विधि र प्रक्रियाका पछि लाग्ने हुँदा देशको सबैभन्दा ठूलो पार्टी बनेको एमाओवादी दोस्रो संविधानसभाको निर्वाचनपछि खुम्चिएर सानो भयो । विधि र प्रक्रियाका पछि नलागेको भए आज एमाओवादीले यसरी स-साना भुरेटाकुरे पार्टीहरूलाई काखीमा च्यापेर कांग्रेस -एमालेलाई सडक संघर्षको धम्की दिनुपर्ने थिएन । यस बेला उसैले सत्ता चलाइरहेको हुन्थ्यो । कमरेड प्रचण्ड साँच्चिकै राष्ट्रपति भइसक्थे ।

विधि र प्रक्रियामा बाँधिएकैले हामी मात्र होइन, यो संसारै पछि परेको हो । पुर्खाहरूको अज्ञानता, अदूरदर्शिता र बुद्धिहीनताले गर्दा हामी अनेक झमेलामा फँसेका हौँ । कहिले धर्मका नाममा, कहिले नैतिकताका नाममा, कहिले परम्परा, मर्यादा र संस्कारका नाममा, कहिले आचरण र आचारसंहिताका नाममा, कहिले संविधान र कानुनका नाममा हामीमाथि लादिएका यी विधि र प्रक्रियाहरूको माखेसाङ्लोमा परेर हामी पराधीन र बन्दी भएका हौँ । यही विधि र प्रक्रियाका कारण हामीले डरैडरमा जीवन गुजार्नुपरेको हो । इच्छा लागेको गर्नै नपाई असन्तोषै असन्तोषमा बाँच्न बाध्य हुनुपरेको हो ।

विधि र प्रक्रियाका कारण हामीले धेरै नोक्सानी बेहोरिरहेका छौँ । न रिस उठेका मान्छेलाई कुट्न पाइन्छ, न कसैको सम्पत्ति लुट्न पाइन्छ । विधि उल्लंघन गर्दा पक्राउ पर्ने डर हुन्छ । भ्रष्टाचार पनि डराई-डराई गर्नुपर्छ । हरेक कक्षा पढेरै उत्तीर्ण गर्नुपर्छ । जागिर खान परीक्षा दिनैपर्छ । एक जनासँग बिहे गरेर झर्कोलाग्दो गरी स्थायी घरबार गर्नुपर्छ । अनेक नातागोता र सम्बन्धमा बाँधिएर बस्नुपर्छ । यी रद्दी विधि, विधान र प्रक्रियाहरू नभइदिया भए क्या हाइसन्चो हुन्थ्यो । न प्रशासनले हामीमाथि शासन गथ्र्यो र सरकारको नै दरकार पथ्र्यो । न अदालतको आदेश मान्नुपथ्र्यो । न कानुनसँग डर हुन्थ्यो । सबैभन्दा मस्तीको कुरा, हामीले कसैसँग लजाउनु पर्दैनथ्यो । लुगै नलगाई संसार घुम्न पाइन्थ्यो ।

यसरी के स्पष्ट हुन्छ भने विधि र प्रक्रियाहरू प्रजातन्त्र र लोकतन्त्रविरोधी तत्त्व हुन् । त्यसैले नयाँ नेपाल निर्माणका लागि सबै विधि र प्रक्रिया खारेज गरी बाहुबलको प्रयोग गर्दै अघि बढ्नु आजको आवश्यकता हो । एमाओवादीलगायत बाइसे दलहरूले बहुमतीय पद्धतिका विरुद्ध गर्न लागेको आन्दोलनको नौलो आयामलाई निःसर्त समर्थन गरौँ । यसैमा हामी सबैको कल्याण छ ।

नेपाल साप्ताहिक

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
यो घर हो

यो घर हो

लक्ष्मण गाम्नागे
भूमिका भूमिका जस्तो एक शुभकामना मन्तव्य

भूमिका भूमिका जस्तो एक...

लक्ष्मण गाम्नागे
उल्काउल्काका शुल्कहरू

उल्काउल्काका शुल्कहरू

लक्ष्मण गाम्नागे
भूमिकाको भुमरी

भूमिकाको भुमरी

लक्ष्मण गाम्नागे
राष्ट्रिय ए’कता ?

राष्ट्रिय ए’कता ?

लक्ष्मण गाम्नागे