दमाहा भन्नासाथ मरेका जनावरको छालाले ढाकछोप गरेको, खोक्रो तर आवाज चर्कोसँग घन्किने बाजा विशेष भन्ने बुझिन्छ । हुन त पाठक–बृन्दहरूले दिएको परिभाषामा पिंधतिर सानो मुखतिर ठूलो तामाको भाँडोलाई छाला मोहोरेर गजाले ठोक्ने सानो नगराविशेष भन्ने अर्थमा समेत उल्लेख गरिएको छ । कुरा उस्तैउस्तै हो । छाला भन्नासाथ मरेकै सिनाको बोक्रो हो । चोख्याउने दाऊमा तामाको भाँडा जोडे पनि छालाको बोक्रोे बिना त्यसले मुख खोल्दैन ।

दमाहा बोल्नु भनेको शुभसङ्केत मानिन्छ तर कुनैकुनै जाति विशेषमा अशुभसूचक पनि हुन्छ । झ्याम्टा र धिमे ठोक्दै लास हिंडाल्नु अथवा शंख फ्ुक्दै दमाहा ठोकेर लास हिंडाल्नुमा खास फरक पर्दैन । ‘चुलो आफ्नो कुलो साझा’ भने जस्तै यो बाजा पनि ‘ध्रन नीजि ध्वनि साझा’ भइआएको छ । दमाहाको स्वर जो छ त्यो छाला, गजा र तमारीको मिसमास हो । यसको मुख ठूलो हुनुको मतलब खञ्चुवा वर्गको सोखमा वा शोकमा बज्नुपर्ने भएर हो । यदि अर्को पक्षमा तर्क झिक्न अनुरोध गर्नुहुन्छ भने सानो आधार भएकाहरूले ठोक्नुपर्ने वर्ग ठूलो हो र तिनलाई यसरी नै बजाउनुपर्छ, ठोक्नुपर्छ भन्न सकिन्छ । दमाहा जसले बजाए पनि बज्छ तर राम्ररी बजाउनेहरू दलित मानिएका छन् । शुभकर्मको सगुन बाजा मानिएर पनि सिपालु कलाकार अछूत ठानिनु राम्रो कुरा हैन । कर्म पनि राम्रो कर्ता पनि राम्रो तर चलनचल्ती नराम्रो भएपछि त्यस्तो रद्दी रीतलाई मान्नैपर्छ भन्ने छैन । त्यसैले दमाहा बजाउने दर्जीलाई आफ्नो मर्जी माफिक व्यवहार नगरी समान ठान्नुपर्छ । परन्तु आज मैल्े कुरा गर्न खोजेको दमाहा भने बाहुनबाजे बालमुकुन्द पाँडेले नाम ढाँटी घटोत्कच शर्माका नाममा बजाएको ‘दमाहा’का बारेमा हो ।

दमाहा नामको सनई तपाइँ नै फुक्ने कि ? भनेर आफ्नै जीवनी बजाउन शुरु गरेको यो पुस्तकका सम्बन्धमा झ्याली पिट्ने भैरुकाकाले भूमिकामा भट्याएझैं घटोत्कच शर्माको लेखनबारे ‘दमाहा’का भरमा मूल्याङ्कन गर्नु अप्ठेरो छ । त्यसपछिका उनका बग्रेल्ती छरिएका रचनाको विकास अनि बुद्धिको निकाश कुनकुन मति हुँदै डुलेका छन् भनी खोजतलास गर्न काठमाण्डुको भूगोल नै चहार्नुपर्छ । विष्णुमतीदेखि इच्छुमतीसम्मका शुद्धजल सिञ्चित भएको वागमती सभ्यतामा जसरी जे खोजे पनि भेटिन्छ ।

त्यसरी नै दमाहा ठोक्दा जे पनि आवाज सुन्ने सुऔसर पाइँदैन । निबन्ध संग्रहका रूपमा नापिएको, कौवा प्रकाशनबाट छापिएको र पहिलो संस्करणपछि त्यसलाई छाप्ने काम नै हापिएको हुँदा धेरैका हातले गजो ठोक्न वा सनही फुक्न नपाएको पनि हुन सक्छ । तै पनि घटोत्कच दायाँ–बाँया हेर्न नजान्ने, भैरुकाकाकै मतियारीमा चल्ने र सामाजिक विकृतिलाई भोगटे छोडाए झैं केस्राकेस्रा गरी साँध्न रुचाउने स्वभाव भएका लेखन्ते हुन् । प्रकृतिको सत्यसँग समाजको असत्य जोडेर ट्वाक्क–ट्वाक्क गजोले दमाहा बजाएपछि मान्छेका मनमा रन्को नछुट्ने कुरै भएन । जब रन्को तब फन्को भने झैं भूमिकाले दमाहाको विशेषता नै स्थानीय परिधिमा रन्केको भए पनि, यसको फन्कोले समयको सीमाभित्रै आफूलाई राखेको भए पनि, प्रस्तुतिको विशिष्टताले यसलाई दमाहा नै बनाएको छ । दमाहा भन्नासाथ ट्याम्को र ढोलकभन्दा अलग हुन्छ भन्ने तथ्य जगजाहेर छ । दमाहाको आवाज टाढा–टाढा सम्मै रन्कन्छ, घन्कन्छ । हास्यव्यङ्ग्य निबन्ध–यात्राको एक कालखण्डमा दमाहा ठोक्ने दर्जीबाजे नौग्रहभित्र पर्दथे । पिंडाली र अर्यालपछिका रामकुमार पाँडे र घटोत्कच शर्मा, श्रीधर खनाल र भूतको भेना जसलाई संझे पनि दमाहा बजी हाल्छ । ट्याम्को ठोकें भनेर हाम्रा कौवा नाइके उ्िरफ्रन्छन्– हास्यव्यङ्ग्यमा एउटा पुस्तक बढ्ने भो ¹ भनेर खुसी हुन्छन् । दमाहा प्रकाशन गर्ने बखतमा उनले घटोत्कच को हो थाह छैन भन्छन् तर घटोत्कचले भने– ‘नेपल्स नेपालको हो’ भन्दै दमाहा बजाउन थाल्छन् । पहिलो ठोकाइमा उनी आफ्नै परिचय दिन्छन् भने दोस्रोमा ‘रुई फुइ दुई’ भन्दै श्रीमतीसँगको साइनो–पात अघि सार्छन् । काठमाडौंको चिसोमा न्यूनआय भएका ब्यक्तिको दिनचर्या संझदै बहालवालाहरूलाई एक भएर उठ्न, दाउरा सस्तो पार्न र लेखकीय मर्का सुधार्न आव्हान गर्छन् । आफूलाई श्रमिकवर्गको लेखक, प्रगतिशील बताउँछन् । ‘केही नयाँ लोकगीतमा’ उनी लोकसङ्गीतको मर्मभाँडा साँढा–गायकप्रति आलोचक छन् । गाउँघरमा व्याप्त रुढीवादप्रति प्रहारक बन्दछन् ।

उनले सङ्कलन गरेको गीतमा ‘बाख्रा मट्याङ्ग्रो’ निकै रमाइलो छ । हास्यव्यङ्ग्यकार जिन्दावाद ¹ एउटा समीक्षकप्रति लक्षित लाग्छ, त्यसमा सहकर्मीप्रति नकारात्मक दृष्टि राख्नेहरूको चरित्र नङ्ग्याइएको छ । ‘दुर्घटना खोज्न हिंड्दा’ पारिवारिक स्नेहको अभावमा पिल्सिएको परिवेशबाट बजेको छ र मुरीमुरी हाँसो खित्काउन सफल छ । त्यस रचनाले मान्छेभित्रको बडप्पनलाई नङ्ग्याउँदै कथात्मक अभिव्यक्ति दिएको छ ।

डाक्टरको अक्षम निदानलाई सक्षम ढङ्गबाट पस्केको छ । ‘प्रगतिशील बन्ने जोशमा’ नामक निबन्धले अप्रत्यक्ष ढङ्गले आधुनिकतालाई व्यङ्ग्य गरेको छ । प्रगतिशीलता भित्रको छाडापनलाई नङ्ग्याएको छ । थोरै रातो ‘कमरेड’ धेरै रातो ‘कामरेड’ को अर्थमा मात्र हैन, नेपाली र अंग्रेजीको क्वाँटी शब्दको प्रयोगमा पनि व्यङ्ग्य छ । प्रगतिमा सिलठोक्ने ‘प्रगतिशील’ भन्ने परिभाषा गरेर व्यङ्ग्यमा सामाजिक उत्पादनका क्षेत्रको विसङ्गति बजाउँछन् । स्तरहीन आलोचनाप्रति व्यङ्ग्य गर्छन्– ‘अलोचक बन्नुस् नाम फिंजाउनोस्’ मा । झट्याङ्ग्रे समालोचक र नेपाली साहित्यमा यस्तै थप कुरा पाइन्छ । मेरो पुरुषार्थले अड्डाको विसङ्गति औंल्याउँ–छन् । ‘आधुनिक रामायण’ले अर्को हँस्यौली पस्कन्छ । यसमा विदेशी भाव–भङ्गिमाप्रति अनुरक्तलाई सिस्नो हानिएको छ । ‘हायमेरी फुरौली प्रिया’ ले शहरमा हुर्केको यौन व्यापारलाई सङ्केत गर्दछ । केही रचनाहरू भने सामान्य नै छन् । ‘काठमाडांै पागलखाना हो पागलखाना’ भन्ने निबन्धले चार भञ्ज्याङको आठखाले ठगीलाई दर्शाएका छन् । लेखक ठग्ने पत्रिका आज पनि छन् । हिटा जस्तो ठिटा उमेरका मात्रले हैन पूरापूर फेटा बाँधेका विजेताहरू पनि लेखक ठग्न माहिर छन् अरू कुरा रामजाने । ‘मन्त्रीज्यू र म’ घटोत्कचले ‘चोक्टा खान गएको सम्धि झोलमा डुबे’ सरह बनाएका छन् भने विरोधी दुई मन भनेको मान्छेको जीवन हो भन्ने दर्शन दिन्छन् । पञ्चायतकालीन वर्गीय सङ्गठनलाई ‘खञ्चुवा संगठन’ भन्दै व्यङ्ग्य कस्छन् र आफैले आफूलाई पेश्की धन्यवाद दिएर मृत्यूपछिको अमरता कल्पन्छन् । ‘नयाँ जमानामा नयाँ मान्यताको खाँचो’ मार्फत उनी पुरानोलाई सर्वध्वंश गर्ने चिन्तनमाथि प्रहार गर्दछन् । यो उनको संग्रहको बौद्धिक व्यङ्ग्य हो । ‘सन्तोषी बन सुखी बन’ भने पनि उनी महँगीको विरोध गर्दछन् र नेपल्सलाई नेपाल हो भन्न पुग्छन् ।

यसरी सिंगै दमाहाका चौबीस ताल एकनासको नभएर ठेमाहा स्वरको भए पनि घटोत्कचको लेखकीय आहाल घम्मर हालेरै बसेको पोखरी झै देखिन्छ, जहाँ हिलो र पानीसँगै कमलको फूल भेटिन्छ । धन्यवाद ।