हामी केही मित्र कलैयाको भरतचोेकमा ठिङ्गेश्वर भएर वात मार्दै थियौँ । पच्छिम दिशाबाट एक हुल मानिसहरू आउँदै थिए । अघि अघि एउटा डरलाग्दो युवक राताम्मे भएर आयो । अवीरको बारेमा पसेर निस्केजस्तो थियो । घाँटीभरि माला ।

कुनै वीर पुरुषको शोभा यात्राजस्तै दृश्य थियो । एउटाले भन्यो, कर्मचारीको विदाइ होला । सँगै छउन्जेल सधैं खुट्टा तान्छन् तान्छन्, सरुवा भएपछि चैं समारोह गरेर ढाँचा पार्छन् । अचम्मकै जन्तु हुन् वा ... यी कर्मचारी पनि ।

अर्कोले लख काट्यो, यी कुनै समाजसेवी पनि त हुन सक्छन्, जसलाई नागरिक अभिनन्दन गरिएको होस् ।

पहिलोले भन्यो, आजको युगमा समाजसेवीको सम्मान कसले गर्छ र ! यो कुनै पार्टीको नेता सेता होला । कुनै समारोहको प्रमख अतिथि हुन अन्मरिएकोे हुनु पर्छ ।

जति मुख उति कुरा– मुण्डेमुण्डे मति भिन्न ! त्यो बथानबाट उछिट्टिएको एकजना जन्तुलाई सोधेँ– हैन कुनै महत्वपूर्ण व्यक्तिको सम्मान समारोह थियो कि ?

जन्तुले जानकारी दिए, लौ कस्तो था नपाएको ! ती महान् माओवादी नेता हन् । हालसम्म उनले हजारौँलाई मत्र्यलोकबाट स्वर्गलोकमा सरुवा गराए हजारौँलाई घरवारविहिन बनाए ... ! महान् क्रान्तिकारी नेता हुन् । उनको शरीरको कुनै गुप्तद्वारबाट माओको आत्माभित्र पसेछ र महाभारतको अभिमन्यु चक्रव्यूहमा पसेर निस्कन नसके जस्तो माओको आत्मा पनि नेताको शरीरमा भौतारिँदै छ रे !

अनि यति ठूलो अपराधीलाई यत्रो सम्मान.... ! अर्को प्याच्च बाल्यो ।

जन्तुले जनाउ दिए, अब उनले माओवाद त्यागेर खाओवादमा प्रवेश गरे ! यो उनको सरकारी स्वागत हो ! हृदय परिवर्तन भा’ हुनाले ती पूर्व माओवादीलाई उद्योगधन्धा गर्न बैंकबाट सहुलियत दरमा सरकारले ऋण पनि उपलब्ध गराइ दिने रे !

मैले सोधेँ– “माओवादीहरू सरकारी ज्वाइँ हुन् कि कसो ?” मलाई आग्नेय नेत्रले हेर्दै ती जन्तु आफ्नै बथानमा गएर मिसिए ।

बारा, हाल : थानकोट, काठमाडौं