महाराज पृथ्वीनारायण शाहसँग
जम्काभेट भयो एक गणतन्त्रिक साँझमा
अचानक कीर्तिपुर पाँगा दोबाटोमा !
मैले सोधेँ–
बाजे महाराज ! तिमी फेरि कीर्तिपुरै आयौ ?
उहिल्यै काटिगएका थियौ किपु–ज्यापुका नाक–कान
के तिमी फेरि पुरानै खुकुरी लिएर आइपुग्यौ ?
मेरो ठाड्ठाडो प्रश्न सुनेर पनि
शालिन देखिए बाजे महाराज
र भने– ‘बाबु, यो गोर्खे–खुकुरीको जमाना होइन
अब कालु पाँडेको कलाले मात्रै पुग्दैन
त्यसैले बोकिहिँडेको छु मैले झोलामा
रातो ल्यापटप र नीलो इन्टरनेट डिभाइस
नेपाल एकीकरण सिरिएलका पहेंला पटकथा
गोर्खाली वीरताका खैरा डकुमेन्ट्रीहरू
हातहातै फेसबुक चलाउन चिल्ला मोबाइलहरू...
सँगसँगै छन् आइएनजिओका शोध–निष्कर्षहरू
राष्ट्रिय कानुनका अद्यावधिक विधेयकहरू
पिएचडीका प्राज्ञिक प्रतिवेदनहरू
र मिडियाका सामाजिक सर्वेक्षणहरू
यिनै त हुन् यो युगका धारिला हतियारहरू !’
यति भनिसकेर महाराज पृथ्वीनारायण
मेरो नजिकै आएर सोधे–
‘बाबु, कहाँनिर छ कमरेड मोदनाथ प्रश्रितको चिहान ?
म उनैलाई दिन आएको हुँ यी सारा उपहारहरू ?’
मैले भनेँ–
‘मोदनाथ प्रश्रित त अझै जीवित छन् बाजे
थानकोटतिर बसेर सायद
उनी लेखिरहेका होलान् ‘नयाँ दिव्योपदेश ।’
जवाफमा चर्को खित्का सुनियो
कीर्तिपुर पाँगा दोबाटोमा
र अचानक गायब भए महाराज पृथ्वीनारायण
तर भोलिपल्ट बिहानै
मनुस्मृति गाइरहेका भेटिए थुप्रै मोदनाथ प्रश्रितहरू
कोही सिंहदरबारको आँगनमा
कोही संसदभवनको पिंढीमा
कोही सर्वोच्च अदालतको ढोकामा
र कोही चौथो अङ्गका मझेरीहरूमा ।

२०७१ असार ११, कीर्तिपुर, नगाऊ
‘नेपाल’ साप्ताहिकको २०७१ कात्तिक ३०