सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सामाजिक रुपान्तरणमा हास्यव्यङ्ग्यको भूमिका

Nepal Telecom ad

पृष्ठभूमि
आज हाम्रो सामाजिक जीवन छिन्नभिन्न हुन खोजिरहेको छ । आपसी सहिष्णुता र मानवीयपन निख्रिँदै जाँदो छ । राजनीतिक रूपमा युगान्तकारी परिवर्तन भए पनि हाम्रो संस्कार चिन्तन र चेतनामा अपेक्षाकृत परिवर्तन हुन सकेको छैन । भएको राजनीतिक परिवर्तनलाई समेत जनअपेक्षा अनुरूप संस्थागत गर्नेतर्फ सुदीर्घ सोच राजनीतिक नेतृत्वमा देखिन सकेन । परिवर्तित परिवेशमा जीवनको सुगमता चाहने आम नेपालीहरूमा निराशा र असन्तुष्टि बढ्दै छ । राष्ट्रिय आवश्यकतालाई एकातिर पन्साई दलीय स्वार्थ पूर्तिका लागि मुलुकलाई बन्धक बनाउने प्रवृत्ति अत्यन्त घातक छ । सङ्क्रमणका नाममा मुलुक झनपछि झन अराजकताको खाडलतिर खसिरहेको छ । यो स्थिति देशैभरिका हामी साहित्य कला र संस्कृतिकर्मीहरूको साझा चिन्ताको विषय हो । यसै पृष्ठभूमिमा कला साहित्य प्रतिष्ठान दोलखाको पहल र सक्रियतामा ‘सामाजिक रुपान्तरणमा सांस्कृतिक जागरण; कला, साहित्य, दर्शनमा जीवनमुखी अभियान’ भन्ने मूल नाराका साथ सांस्कृतिक जागरणको नयाँ अभियान आरम्भ गरेको छ । सांस्कृतिक जागरणको सन्दर्भमा कला साहित्य अन्तर्गत हास्यव्यङ्ग्य एउटा उन्नत, लोकप्रिय, मनोरञ्जनपूर्ण कला सिर्जना हो । अल्प अवधि र अल्प सूचनाकै बीच नेपाली समाज, साहित्य र कला–संस्कृतिमा हास्यव्यङ्ग्यको उपादेयताको सङ्केत गर्दै यहाँ संक्षिप्त धारणा अभिव्यक्त गर्ने लघु प्रयास गरिएको छ ।

नेपाली समाजमा हँसीमजाक
नेपाली समाज परापूर्व कालदेखि नै विनोद प्रिय रहेको छ । हाम्रो घरपरिवार र सामाजिक जीवनका अनेकन पक्षमा हँसीमजाकले पर्याप्त ठाउँ लिएको छ । अनन्त दुःख र पीडाका बिचमा पनि छेडखान, दिल्लगी र हास परिहास गर्दै मन बहलाउने हाम्रा आफ्नै परम्पराहरू छन् । कतिपय ती परम्पराहरूले सांस्कृतिक रूप लिइसकेका छन् । लोक जीवनमा व्याप्त रहेका त्यस्ता ठट्टा मस्करीका धेरै सन्दर्भहरू खोजी, अन्वेषण र विश्लेषण हुनुपर्ने देखिन्छ । हाम्रो सामाजिक संरचना फेरिँदै जानाले पनि कतिपय यस्तो परम्परा लोप पनि हुँदै गएका छन् । परम्परागत विवाहमा पद्धति अनुसार भत्खरुलाई गरिने हाँसोपूर्ण हरकत आज हराइ सकेको छ भने जन्ती र दुलही घरका बीच हुने सिलोकमार्फत गरिने छ्ेडखान पनि हिजो आज सुन्न पाइँदैन । समयको वहावसँगै विनोदप्रिय हाम्रा कतिपय सामाजिक आचरणबाट हँसीमजाक क्रमशः लोप हुँदै गएका छन् । पछिल्लो पुस्तामा हुर्किंदै गएको पश्चिमा संस्कृतिको अन्धानुकरणले पनि हाम्रो सांस्कृतिक पर्यावरण खिचडी बन्दै गएको छ । सास्कृतिक जागरणको अभियान मार्फत हाम्रा हाँसोपूर्ण र विनोदप्रिय आचार विचार र परम्पराहरूको जगेर्नातर्फ विशेष ध्यान पु¥याउन ढिला भइसकेको महसुुस हुन्छ ।

हास्यव्यङ्ग्य के हो ?
हुनु पर्ने कुरा एउटा तर भइरहेको कुरा अर्कै । गर्नु पर्ने काम एउटा, तर गरिरहेको अर्कै । बिलकुल यही अवस्थालाई विसङ्गति वा विकृति भन्ने गरिएको छ । हाम्रो समग्र आर्थिक, राजनीतिक, सामाजिक जीवनमा यस्तो विकृति र विसङ्गति छ्यापछ्याप्ती देखिन्छ । यस्तै विसङ्गत आचार विचार, बोली र व्यवहारलाई हुवहु अनुकरण गरी बोलेर, लेखेर वा प्रदर्शनद्वारा अभिव्यक्त गरिन्छ भने हास्यव्यङ्ग्य त्यही हो । भानसभक्तको ‘क्यान भन्छन् यी भोलि’ जस्ता कवितामा तत्कालिन विसङ्गतिहरूमाथि हाँसीमजाक गरिुएको छ । हाँसोपूर्ण तरिकाले विसङ्गति माथि प्रहार गरी सङ्गतिको आग्रह अभिव्यक्त गर्नु नै हाँस्यव्यङ्ग्य हो । प्रहारको निसाना व्यक्ति तोकेर वैयक्तिक छेडखानमा हैन, प्रवृति र आचरण माथि गरिन्छ । विसङ्गतिका नायकहरू माथि गाली गर्नु, सराप्नु, अशिष्ट र अभद्र किसिमले लेखेर वा बोलेर गरिएको अभिव्यक्ति सही अर्थमा हास्यव्यङ्ग्य होइन, त्यो त गाली गलोज हो । अनि गाली गलोज हास्यव्यङ्गको कोटीमा पर्दैन । लेखेर विसङ्गतिमाथि असहमति जनाउदै सङ्गतिको आग्रह अभिव्यक्त गर्ने परम्परा नेपाली साहित्य जतिकै परानो छ । बोलेर, अनुकरण वा प्रदर्शन मार्फत विसङ्गततिको चित्रण गर्ने परम्परा नेपाल नाटक र प्रहसनको इतिहास जत्तिकै पुरानो छ । लेखेर नै हास्यव्यङ्ग्य सिर्जनाको मानक खडा गर्ने हास्यव्यङ्ग्य पुरूष भैरव अर्याल हुन् ।
हो भनेर होइन भन्ने बुझाउनु, अनि होइन भनेर हो भन्ने बुझाउने हास्यव्यङ्ग्य एक प्रकारको विशिष्ट अभिव्यक्ति शैली हो । यो मनोरञ्जनपूर्ण हुने भएकाले पनि यो सर्वाधिक लोकप्रिय छ । मनोहर शैली भएका कारण सबैले मन पराउँछन् ।

हास्यव्यङ्ग्य परम्परा (सांस्कृतिक सन्दर्भ)
माथि सङ्केत गरिसकियो हाम्रो सांस्कृतिक जीवनमा हास्यपरम्पराका धेरै सन्दर्भहरू छन् । परम्परित एउटा हास्य पर्वनै हामीकहाँ छ– गाईजात्रा । प्राचिनकालमा डबलीमा प्रस्तुत गरिने हास्य झाँकीको रूप अहिले आएर हास्व्यङ्ग्य महोत्सवसम्ममा परिणत भएको देखिन्छ । निरङ्कुश शानकालमा समेत सरकारी अकर्मण्यतामाथि वर्षमा एक पटक यही गाईजात्राको दिन हाँसोपूर्ण प्रहार गरिन्थ्यो । शासनाधिकारीहरूलाई निर्धक्कसँग आलोचना गर्न पाइन्थ्यो । आज समाज खुल्ला छ, राजनीति खुल्ला छ र विकृति एवम् विसङ्गतिका नयाँ नयाँ रूप र मात्रा पनि बढेका छन् । हाम्रो सामाजिक, आर्थिक र सांस्कृतिक जीवन नराम्रोसँग बिथोलिएको छ । यस्तो विचलन र कुचलनलाई हास्यव्यङ्ग्य सिर्जनाले आफनो मूख्य विषय बनाउँदै आएको छ । सिर्जनाका सबै रूपहरूमा (कवितामा, निबन्धमा, प्रहसनमा, लेख आलेखहरूमा, रेडियो नाटिकाहरूमा, टेलिशृङ्खलाहरूमा) हास्यव्यङ्ग्य प्रस्तुति बढी लोकप्रिय र प्रभावकारी हुँदै आएको छ ।

समाज रूपान्तरणमा हास्यव्यङ्ग्य
हास्यव्यङ्ग्यात्मक अभिव्यक्ति आफैमा घोचक हुँदाहुँदै पनि रोचक, प्रहार भइकन पनि मनोहर कला विशेष हो । साहित्य कला मार्फत ठाडो अभिव्यक्ति वा उपदेश मानिसले सहजै ग्रहण गर्न रचाउँदैन । तर त्यही अभिव्यक्ति हाँसो र व्यङ्ग्यपूर्ण शैलीमा छ भने सुन्ने वा पढ्ने व्यक्ति तुरून्तै आकर्षित हुन्छ । यसरी धेरैभन्दा धेरै मानिसहरूले मन पराउने हुँदा यस प्रकारका सिर्जनाले समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु स्वाभाविकै हो । नीति, नेता र नेतृत्वको अकर्मण्यता माथि तिब्र हाँसो उडाएर उनीहरूका गलत मनसाय आम मानिसहरूमा पु¥याउन सकिन्छ । उनीहरूलाई आफ्ना सोच, विधि र व्यवहार फेर्न मनोरञ्जनात्मक ढङ्गले आग्रह गर्दछ हास्यव्यङ्ग्य सिर्जनाले । सामाजिक जीवनमा रहेका अन्ध परम्परा, गलत संस्कार, अवैज्ञानिक चिन्तन एवम् दृष्टिकोणलाई सच्याउन अभिप्रेरित गर्न सकिन्छ । व्यक्ति मनोवृत्तिमा रहेका पाखण्ड, ढोँग, व्यक्तिवादी सोच एवम भ्रष्ट, दुष्ट, र दुराचारी मनोकाङ्क्षालाई सार्वजननिकीकरण गरी दुरुत्साहन गर्दछ हास्यव्यङ्ग्यले । पृथक शैलीको प्रभावकारी कलाकौशल हो हास्यव्यङ्ग्य, यसलाई अधिकतम ढङ्गले समाज रूपान्तरणको अभियानमा प्रभावशाली रूपमा सदुपयोग गर्न सकिन्छ ।

अन्त्यमा,
सांस्कृतिक जागरणको नयाँ अभियान आरम्भको यस अवसरमा हास्यव्यङ्ग्य सिर्जनाको योगदान बारे आफ्ना धारणा राख्ने अवसरका निम्ति हार्दिक आभार व्यक्त गर्दछु ।

कला साहित्य प्रतिष्ठान दोलखाले २०७१ कार्तिक २९ गते चरीकोटमा आयोजा गरेको ‘सांस्कतिक जागरण कार्यक्रम’मा प्रस्तुत ।

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad