मङ्सिरमै यसपटक जाडो निक्कै भयो । उल्का नेता छट्टाए जस्तै छ । प्रकृति पनि राजनेता जस्तै भइन् भन्या ! नेताले बिहान सबैरै आहा ! कति स्वच्छ निर्वाचन भयो भनेर प्रशंसा गरेको र नतिजा आउन थाले पछि ‘धाँधली भयो’ भनेर भुक्न थाले जस्तै भयो । यो बर्ष कति जाडो हुन्छ भनेर अन्दाज गर्न पनि अप्ठेरो भयो । अब राजनीति कता जाने हो भनेर अड्कल काट्न नसकिए जस्तै गारो गारो हुँदै आयो ।
उहिले उहिले त राजनीति गर्नेहरू सोचेर बोल्थे र बोले अनुसार आचरण गर्ने गर्थे । पत्याउँथे सर्वसाधारण जनता नेताजीका कुरा । मैले पनि पत्याउने गरेकै हो । अहिले त कुन कुरा पत्याउने कुन चाहिँ नपत्याउने भो भन्या ! भालुका रौं ठम्याउन गारो भए जस्तै । सबै उस्तै ।
मिश्रमामा यस्तै यस्ता कुरा फतफताउदै हाम्रै घरतिर आएको मेरी श्रीमतीले देखिछन । त्यसरी फतफताउने मिश्रमामा भनेर चिनेपछि त उनलाई हासौं हासौ लागिहाल्यो । त्यसमा पनि मिश्रमामा त हास्यपात्र भएरै आएका रहेछन । श्रीमतीजीले मलाई भनिहालिन् ‘हेर्नुहोस् त मामाको गति !
मामा दौरा सुरुवाल बाहिर भित्री गञ्जी लगाएर पो आउनु भएको रहेछ । देख्नासाथ पहिले त मलाई लाज लाग्यो । पछि हाँसो । मेरो हाँसो फुत्कन फुत्कन खोज्यो । तर त्यसो गरिहाल्न त भएन नि भनेर सहें । मेरी श्रीमतीलाई पनि त्यस्तै भएको मैले बुझेको हुँ । तर हामी हाँसेनौं । हामी हाँसो रोक्न मुख थुनेर बसेका थियौं मिश्रमामाले माथिका कुरा दोहो¥याए पछि हाँसो रोक्न सकिएन । हामी खुतुतुत्त हाँस्यौं । हामी हाँसेको देखेर मामाले सोचेछन् हामी उनकै कुरा सुनेर हाँसेका हौं । ऊ, बक्दै गए हामी पेट मिचिमिचि हाँस्यौं । हाम्रो हाँसो चुनावको बिषयसित सम्बन्धित थिएन । मामाको लवाइसँग थियो ।
हाँसो लहराइसकेपछि मिश्रमामाले भने “यस्तो गाइजात्रे पनि हुन हुन्छ नेता ?”
मैले भने ‘के भो र मामा ?’
मामाले भने ‘देख्नुभएन ? नेता दहीचिउरे भएको ? यिनिहरूका त कान छैनन कि क्या हो । आफैले बोलेको बोली आफै सुन्दा रहेनछन ।’
मामाका कुरा सुनेपछि हाम्रो हाँसो पुनः फुस्क्यो । आफूले बोलेका कुरा आफै नसुन्ने पनि कोही हुन्छ होला त ?
मामा पड्के सुनेको भए यस्तो गाइजात्रा हुन्थ्यो ?
मामा धेरै रिसाए जस्तो लाग्यो । मैले भनें “भो मामा ! यस्ता राजनीति गफ नगरौं । ”
मिश्र मामाको रिसले त अझ ठूलो रूप लेला जस्तै भयो । उनले भने ‘राजनीति गफ नगरेर हुन्छ ? के हामी उनीहरूका दास मात्र हौं ? उनिहरू जहाँ जे जे गरुन् हामीले सहि रहेर त देशको अहिले यस्तो हाल भैसक्यो । हामी नबोलेरै यस्तो भएको हो बुझ्नु भो ? अझै सहिरहने ?’
बेसार बेचुवा मामाको सोच त यस्तो भैसकेको छ भने तपाइ हामी पनि अव चुपचाप रहन हुदैन भन्दै थियो मेरो मन । केही भन्न सकिरहेको थिइन । मामाले नै निर्वाचनका कुरा निकालेर धेरै धेरै कुरा गरे । यस्तैमा चिया नास्ता लिएर आएकी मेरी श्रीमतीले गञ्जीतिर हेरेर भित्र लगाउन भन्ने आदेश दिन खोजिन् । मैले त्यो हिम्मत गर्न सकिन । मेरो मनले भन्यो “यी पनि त गाईजात्रे नेता नै हुन् । मौका परे मसँग जुध्न खोज्छन् ।”
म चुपचाप सुन्न थालें । मामा गाईजात्रे चालामा फत्फताउँदै रहे ।

नयाँबानेश्वर, काठमाडौं