भविष्यको नेपाली राजनीति कोचेलगाँडो नेतृत्वको फन्दामा फस्दै जाँदा तुमडी विषयमा पनि कचेडाको महल खडा हुने हेक्का भएरै देवकोटाले 'के नेपाल सानो छ?' निबन्ध लेखेको हुनुपर्छ। नत्र, हाम्रा राजनीतिक दलहरू आजपर्यन्त नेपाल सानो कि ठूलो? भन्ने विषयमा पौंठेजोरी खेलिरहेका हुन्थे। महाकविको दूरदर्शिताका कारण नयाँ नेपालका खुरन्धार बुद्धिवीरहरूले 'नेपाल किन बनेन र कसरी बन्छ?' भन्ने सम्मको मात्र टन्टा सुमर्न पाएका छन्।

सार्क सम्मेलनको तयारीले त निखट्टु राज्य संयन्त्रको कारण नेपाल नबनेको झयाली पिट्नेहरू पूरै जिल् खाएका देखिन्छन्। मूड चल्दा सरकारले शहरबीच रातारात मनोरम उपवन र जंगलमाझ् सुन्दर शहर उमार्न सक्ने व्यवहारतः पुष्टि गरेको छ। तर त्यसका मूड चाहिं एकपटक मुहार देखाएर वनवास हिंडे'सी कहिले फर्किने टुङ्गो नहुँदो रहेछ। धुस्रे सडक छेउको घरमा नाक थुन्दै सिरकभित्र घुसि्रएको मान्छेले भोलिपल्ट बिहान झयाल बाहिर उत्पत्ति भएको उद्यानसहितको चिल्लो सडक देख्दा अमरावतीको टिकट काटिएछ कि भन्दै कहालिनु परेको स्थिति छ। यस्तो सरकार भएको देश नबन्ने कुरै छैन!

सरकारी सक्रियताका कारण सकारात्मक माहोल बनिरहेको बेला पाकिस्तानी प्रधानमन्त्रीले भारतीय गाडी नचढ्ने घोषणा गरिदिंदा भने हलुवामा हल्का बालुवा मिसिएको छ। भौतिक चमत्कारसँगै फोहोरमैला छोपछाप कार्यक्रममा अर्बौं बुत्याइरहेको सरकारले विशिष्ट पाहुना चढाउन 'बुलेट प्रुफ' गाडी भिक्षा माग्नुपर्ने स्थिति कसरी आयो भनिएला, तर हामीसँग त्यस्तो गाडी हुँदै नभएको होइन, मर्मत गर्न बिर्सेको मात्र हो। बुझनुपर्ने कुरा के छ भने, मर्मतमा भन्दा खरीदमा ज्यादा पोसाउने हुँदा बिर्सिनु स्वाभाविकै हो।

एकथरी अङ्खोटेहरूले बीएमडब्लु, मर्सिडिज झिकाएर नचाहिंदो फुर्ती लाउनुको सट्टा गच्छे अनुसारको सरदाम जुटाउनुपर्थ्यो भन्दै खोचे थाप्न सक्छन्। यस्तै अपजसे मति भएकाहरूले सरकारलाई 'उठी सुख न बसी सुख' पारेका छन्। हात बाँधेर बस्दा अल्छीको पुङ भन्छन्, विकास गर्दा नचाहिंदो फुर्ती झारेको, जनताको पैसा सखाप पारेको भन्छन्।

विकासमा खन्याउँदा जनताको पैसो नखन्याएर कसले आफ्नो खल्ती रित्याउँछ? सार्क सम्मेलनका लागि दाँत ङिच्याउँदै ऐंचो–पैंचो, सरसापट बटुलबाटल गर्दा पनि तिनै खनिन्छन्, सरकार विरुद्ध। चिल्याइएका सडकबाट धूलोका कणहरूको उठिबास लगाउन करोड खर्चेर 'ब्रुमर' मेशीन किन्दाचाहिं सरकारी खोपडीले हल्का गच्ची खाएकै हो। बरु एउटा भ्रमर मेशीन खरीदेर अतिथिहरूमाझ् नेपाल हराभरा, कञ्चन र भौतिक पूर्वाधारले लदालद मुलुक भएको भ्रम फैलाउन सक्दाहुँदी सरकारले अनेक पापड बेल्दाको सास्ती बेसाउनुपर्ने थिएन।

कान्तिपुरीको दुर्गन्ध धपाउन अत्तरवृष्टि गराउने योजना छ भने अविलम्ब स्थगन गरियोस्, अन्यथा नेपाल हिंडेको त झुक्किएर यूरोप पो आइपुगेको आशंकामा तीनकुने नकट्दै अतिथिहरू उल्टो पाउ फर्किने खतरा छ भन्दै सरकारलाई सजग बनाउने असल नागरिकहरू पनि देखिन थालेका छन्। यद्यपि, 'गुगल'देव वर्णित काठमाडौ खाल्डो प्रवेश गरेको बारे अतिथिहरू अल्मलिने जोखिम कमै देखिन्छ। त्यसो त, कतिपय अतिथिहरू हाम्रो आतिथ्य प्रबन्धबाट अनुगृहीत हुँदै आफ्नो व्यवस्था आफैं मिलाउन पनि अग्रसर भइसकेका छन्।

यस पटक हाम्रो सरकारले विकास गर्ने नयाँ सूत्र पनि हातलागी गरेको छ– 'नेपाललाई अन्तर्राष्ट्रिय सम्मेलन स्थलका रूपमा उभ्याई विदेशी राष्ट्र–सरकार प्रमुखहरूलाई गाउँ/शहर घुमाऊँ, शक्तिशाली पाहुनाको खिदमत गरौं र पंचायतलाई नपत्याएको विकासको मूल फुटाऊँ।' सम्मेलन हुँदा राष्ट्रको नाक ठडिने, पाहुनाहरूलाई गाउँ–शहर डुलाउँदा विकासको मूल पनि फुट्ने! सरकारले आफ्नो पाइन देखाइरहेको र मित्र देशको सदासयता समेत थपुवा भएको मौकामा चौका हान्दै यो विकासे मन्त्र फुक्न सके हामी ठोकेर भन्न सक्छम्, किन बन्दैन नेपाल ?

'हिमाल' खबर पत्रिका, २०७१ मङ्सिर