बेच्छु भन्छ
आँखा बेच्छु भन्छ ऊ नानी बेच्छु भन्छ
साँझ नबिके के भो बिहानी बेच्छु भन्छ ।
अभाव नै अभावले सीमा नाघेपछि
पापी पेट पाल्न जवानी बेच्छु भन्छ ।
सुन्नुहोस् न कतिसम्म मुर्ख कुरा गर्छ
घरमा आगो लगाएर खरानी बेच्छु भन्छ ।
यही हातको सिरान लगाई निदा’को थ्यो हिजो
हेर्नुस् न आज त्यही सिरानी बेच्छु भन्छ ।
शब्दको व्यापार यहाँ नगर भन्छु म त
ऊ गजलसँगै आफ्नो कहानी बेच्छु भन्छ ।
ओखलढुङ्गा