खुइलिएका तालु कठै पल्टिएका ठालु
नेता हुन् कि अभिनेता ? कि कुहेका आलु ?
गमक्क छन् विदेशीका धोती धोई धोई
तर आफ्नै स्वदेशमा संविधान खोई ?

डमरु चैँ बजाउँदा छन् हेर डिमी डिमी
काम कुरो एकातिर कुम्लो बोकी ठिमी
ढलपल बनेका छन् मत्ता अनि ढोई
तर अझै बनाएनन् संविधान खोई ?

गाउँ घर सबैतिर पिटेका थे डङ्का
यसपाली त ल्याउँछौ पक्कै, नगर भो शङ्का
चुनावमा भन्थे यसै हाम्रा पाउ छोई
तर अझै ल्याएनन् त संविधान खोई ?

आँखा सधैं सत्तामाथि गर्दै लुछाचुँडी
कमिसनले उक्सिएछ ठण्डाराम भुँडी
‘हाम्रा’ मात्रै खोजी खोजी ‘राम्रा’ छैनन् कोई
ल्याएनन् त अझैसम्म संविधान खोई ?

मन लागे कुर्सीतिरै घुर अनि बस
बेफ्वाँकमै हसुर्यौ कि भत्ता हसहस
कुन दल जोइ पर्यो कुन दल पोइ ?
ब्याएनन् त अझैसम्म संविधान खोई ?

मङ्सिर २४, २०७१
कलङ्की, काठमाडौं