हाँसोसँग रमाउने हाम्रा हास्यदेव
व्यङ्ग्यप्रिय बाबा थिए हाम्रा वासुदेव
कसो गर्दा उम्रिएला हाँसो भन्ने पिर
आजीवन समर्पण उनको यतैतिर ।

जो कसैको बेहोरालाई हेक्का राखी राखी
बोलाउने गर्थे सधैँ बेग्लै नाम राखी
छेउ कोही पर्दा बोली गाली बनी खस्थ्यो
त्यही गाली मनभित्र माया बनी बस्थ्यो ।

‘कौवा’ अझै कराउँदै छ हास्य साहित्यमा
‘छ्याकन’ छाँटा जीवितै छ व्यङ्ग्य साहित्यमा
पंडित हुन् तर उनी ‘भालुपुराण’ लाउँथे
हुन्थे सबै ‘उल्लीबिल्ली’ ‘सेलको माला‘ लाउँथे ।

भन्थे उनी आफूलाई ताहाचलको स्याल
कस्ले कहाँ के भनेको खुबै राख्थे ख्याल
मन्त्री पात्रो फिँजाएर गफ चुट््न पाउँदा
मज्जा मान्थे तिनै गफ टेप भर्न पाउँदा ।

जो कसैलाई जैलेसुकै लेख्न उल्क्याउने
बेसोमतीहरूलाई उँधै सुल्क्याउने
भूत थिए, भूत भए यी भूतका भेना
अभूतपूर्व कामसँग उनको लेनादेना ।

हाँसोसँग रमाउने हाम्रा हास्यदेव
व्यङ्ग्यप्रिय बाबा थिए हाम्रा वासुदेव ।
कलङ्की, काठमाडाैं