सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

यसरी बनें म कार्टुनिस्ट : राजेश केसी

Nepal Telecom ad

सानै उमेरदेखि म चित्रकलामा रूचि राख्थें । केही न केही नकोरीकन बस्दिनथें । स्कुल जाँदा कालोपाटीमा के–के चित्र कोरिरहन्थें । कालोपाटीको कुनामा मैले बनाएको कार्टुन प्रायः रहिरहन्थ्यो । ती साथीभाइ र सरहरूकै कार्टुन हुन्थे ।
सर आउँदा अपठ्यारो लागेजस्तो हुन्थ्यो । गाली गर्नुहुन्छ कि जस्तो लाग्थ्यो । तर सरले मैले कोरेको चित्र नमेटाइकन पढाउनुहुन्थ्यो । मलाई एक प्रकारको हौसला आएजस्तो महसुस हुन्थ्यो ।
खासमा म टाइम्स अफ इण्डिया अखबारका कार्टुनहरू हेरेर प्रभावित भएको हुँ । आर के लक्ष्मणले बनाएको कार्टुन खुब मनपथ्र्यो । तर कहीँ कतै आफ्नो सिर्जना लिपिबद्व गर्न भने थालेको थिइनँ ।
सन् १९९० मा गोरखापत्र र द राइजिङ नेपालमा पहिलोपटक कार्टुन बनाउँछु भनी पहल गरें । त्यहाँ सकारात्मक कुरा आएपछि मैले काम सुरू गरें । तर त्यहाँ स्वतन्त्रपूर्वक कार्टुन बनाउन छुट थिएन । यस्तो, उस्तो बना भनी हस्तक्षेप गरिन्थ्यो । स्वतन्त्रतापूर्वक काम गर्न नपाउँदा म खिन्न हुन्थें । मैले आफ्नो सिर्जना प्रस्तुत गर्न नपाएपछि अन्ततः ती अखबार छोडिदिएँ ।
कान्तिपुर स्थापनाको डमीमै मैले कार्टुन बनाएको थिएँ । सम्पादक योगेश उपाध्याय हुनुहुन्थ्यो । उहाँले डमीमै मैले बनाएको कार्टुन मन पराउनुभयो । स्थापनाकाल फागुन ७ गतेदेखि नै मैले कान्तिपुरमा कार्टुन नियमित बनाउन थालें । सुरू–सुरूमा कार्टुन बनाउन गाह्रो लाग्थ्यो । त्यति पोख्त हुन सकिरहेको भने थिइनँ । तामलमेल मिलाउन गाह्रो हुन्थ्यो । तर स्वतन्त्रतापूर्वक कार्टुन मनाउने मौका मिलेको थियो । यसैलाई मैले सदुपयोग गर्न थालें ।
अचेल सशक्त ढङ्गले कार्टुन बनाउन थालेको छु । अहिले हरेकजसो पत्रिका कार्टुनबिना प्रकाशित भएका हुँदैनन् । अझ पत्रिकालाई ‘क’ श्रेणी वर्गीकरणमा पार्न त कार्टुन अनिवार्य चाहिन्छ भन्ने नियम नै छ ।
नारायण वाग्ले, युवराज घिमिरे, प्रतीक प्रधान लगायत सम्पादकसँग काम गर्दाको स्मरण छ । कार्टुन एक सिर्जना भएकाले बनाउने स्वयं स्वतन्त्र हुनुपर्छ । उहाँहरूले कहिल्यै पनि कार्टुनमा हस्तक्षेप गर्नुभएन । अझ मैले बनाएको कार्टुन सम्पादकले भोलिपल्ट ‘अखबारमा प्रकाशित भएपछि नै हेरौंला नि’ पनि भन्ने गर्नुहुन्थ्यो ।
पुराना राज्यसत्ताधारीका कारण कार्टुन बनाउन सकिन्नथ्यो । अहिले धेरै स्वतन्त्रता छ । संस्था भित्र पनि । नसकेको दिन वा मन नलागेको दिन नबनाई फर्किए पनि हुन्छ । वास्तवमा आफू काम गर्ने संस्था कस्तो छ त्यहीअनुसार भरपर्छ ।
अखबारमा बढीभन्दा बढी किन राजनीतिक कार्टुन बनाइन्छन् भने मुलुकको सम्पूर्ण शासनसत्ता राजनीतिक पार्टीको काँधमा छ । अहिले मुलुक संक्रमणकालमा रहेकाले सामाजिक विषयवस्तुमै कार्टुन बनाए पनि त्यो कुनै न कुनै माध्यम हुँदै राजनीतिमा पुगेर जोडिन्छ । शासन गर्ने जिम्मेवार व्यक्ति, राजनीतिक दल वा त्यसको को जिम्मेवार छ, उसकौ टाउकोमा धेरै जिम्मेवारी रहेकाले यस्ता कार्टुन बढीभन्दा बढी बनाइन्छन् । अखबारको संरचनाकै कुरा गर्ने हो भने पनि धेरैजसो समाचार राजनीतिक हुन्छन् । पहिलो पृष्ठ प्रायः राजनीतिक विषयवस्तुका समाचारले भरिन्छ । त्यसैले, राजनीतिक कार्टुन नै धेरै रूचाइन्छन् ।
जिम्मेवार व्यक्तिले गरेको कमजोरी औंल्याएर व्यङ्ग्य गरी कार्टुन बनाउँदा पाठकहरू आकर्षित हुन्छन् । व्यङ्गात्मक चित्र हेरेर मनोरञ्जन पनि लिन्छन् । कार्टुन हाँसीमजाक वा रमाइलो गर्ने माध्यम मात्र भने होइन । यसले त्रुटि गर्नेलाई, विकृति विसङ्गतिलाई कोट्याउँछ र त्यसका जिम्मेवारहरूलाई सचेत गराउँछ ।
जस्तै आज केही महिना अघिको नागरिक दैनिकमा मैले काठमाडौंका सडकका खाल्डाखुल्डीलाई व्यङ्ग्य गरेर कार्टुन बनाएको थिएँ । यो सामाजिक विषयवस्तु भए पनि राजनीतिक दल अथवा राजनीतिक दलद्वारा सञ्चालित वा उनीहरूद्वारा निर्माण गरिएको (खिलराज रेग्मी) सरकारमाथि यसले व्यङ्ग्य गरेको छ ।
राजनीतिक कार्टुन बढी चल्ने भएकाले नेताको आकृति चित्रण महत्वपूर्ण पक्ष हो । कसको बनाउन लागेको हो उसलाई ठ्याक्कै चिन्नसक्ने आकृति बनाउनुपर्छ । नेताको कार्टुन कसरी बनाउने भन्ने प्रश्न आउने गर्दछ । पहिला नेताको अनुहार, मुखको आकार, जुँगा, गाला, च्युँडो, कपाल, नाक जीउडाल लगायत नै हो । गिरिजाप्रसाद कोइरालाको नाक लामो भएकाले लामो नाकको आकार बनाउँदा उनलाई ठम्याउन सकिन्छ । माधव नेपालको बनाउनुपर्यो भने उनको जुँगालाई आधार बाइन्छ । झलनाथ खनालको बनाउनुपर्यो भने उनका पुक्क पुक्क गाला, सुशील कोइरालाले लाउने ठूलो फ्रेमको चश्मा र फुलेका दाह्री, प्रचण्डको बनाउनुपर्यो भने उनको पछाडि फर्काइने कपाल र बाक्ला जुँगा, बाबुराम भट्टराईको च्युँडो, जुँगा, मुख भित्र पसेको, शेरबहादुर देउवाको आँखीभुइँ ठूलो, चारपाटे फ्रेमको चश्मा र त्रिकोणात्मक आकारको ओठको आकृति ल्याइन्छ ।
हो, अखबार हेरेर त्यो कुन राजनीतिक पार्टीसँग झुकाव राख्छ भन्ने कुरा पत्ता लगाउन सकिन्छ । तर दुई दशक लामो मेरो व्यावसायिक जीवनमा मैले कुनै राजनीतिक पार्टीप्रति झुकाव राखेर कार्टुन बनाएको छैन । पहिलो जनआन्दोलनपछि प्रायः गरेर राजनीतिक पार्टीहरू नै जिम्मेवार निकायमा पुगे । मैले सबैलाई बराबरी व्यङ्ग्य गरेर कार्टुन बनाएको छु । मेरो कार्टुन हेर्दा निष्पक्ष हुन्छ, त्यस्तो कुनै राजनीतिक पार्टीको वकालत गर्दैन ।
(नेपालका चर्चित कार्टुनिस्ट केसीले सर्वनाम थिएटर कालिकास्थानद्वारा आयोजित नेपाली व्यङ्ग्य चित्र ‘हिजो, आज र भोलि’ अन्तरक्रिया कार्यक्रममा व्यक्त भनाइको सम्पादित अंश ।)
प्रस्तुति : खिला ढकाल
(‘सेतोपाटी’बाट जस्ताको तस्तै)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad