सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कम्पनी मोहर

Nepal Telecom ad

एउटा सीमावर्ती गाउँ, जसको नाम भएको पाना, “नयाँ नेपालको इतिहासको किताब”बाट च्यातिएको थियो, मा एकदिन भयानक हुरी चलेसरि हल्ला चल्यो– गाउँभरिका गाई, भैंसी र बाख्रा चराउने किशोर गोठालाहरूका झुन्डले एउटा अद्भूत वृक्ष, ताडको वृक्ष, फेला पारेको छ ।

यो हल्ला ‘एक कान दुई कान मैदान’ भएर सानो गाउँको चौघेरामा एक फन्को मारी सर्पाकार मुद्रामा यहाँदेखि त्यहाँसम्म फैलियो ।

“हँ, के यो साँचो हो केटाहरू ?”

रबर, पराल र पहेँलो माटोका ससाना झुपडीबाट टाउको निकालेर पाका गाउँलेहरूले अविश्वासको बोलीमा सोधेकाले यो हल्लाका पछि–पछि वेगले दगुरिरहेका केटाहरूले पाइला एक्कासी रोकेर फुलेको सास तल–माथि गरी भने, “हामीसँग त्यतैतिर हेर्न जाउँ न त काका !”

गाउँका बालक, जवान र बूढा, सबै डेढ कोस परको अलिकति पनि पानी नभएको सुख्खा तलाउ– कुन्नि, कहिलेदेखि यही अवस्थामा रहेको स्थानीय जलाशय छेउ एकत्रित भएका थिए । सुख्खा तलाउको ठिक्क मध्यभागमा बेलुकीको एक टुक्रा घाममा चमचम गरिरहेको सुनौलो रङ्गको ताडको गाछी ठिङ्ग उभिएको थियो । यसले माथि–माथि आकाशमा निस्फिक्रीसँग डुलिरहेका काला बादललाई भालाको टुप्पोले जस्तै छेडेर नीलो आकाश छोएको देखिन्थ्यो । यसको तना, चारै दिशामा निस्किएका हाँगाबिँगा र विशाल आकारका लामा–लामा पातहरूबाट निरन्तर झरिरहेको ताडीरसले एकबित्ता पनि पानी नहुने सुख्खा तलाउ भरिन–भरिन लागेको थियो ।

यस्तो अपूर्व दृश्य देखेर भर्खर–भर्खरै जुँगारेखी आएका केही गाउँले ठिटा विस्मय र उत्तेजनाको साझा प्रभावले अन्ततः आनन्दित भई दुवै हातका अञ्जलीमा भरी–भरीकन ताडी पिउन थाले ।

“पख–पख ठिटाहरू हो !” हिउँझैं सेतो दाह्री भएको एक वृद्धले एकदमसँग अघि बढेर रोक्न खोज्यो, “यो कुनै सामान्य वृक्ष नभएर सोझै स्वर्गलोकबाट पृथ्वीतलमा झरेको पवित्र ताडको वृक्ष भएकोले पहिले यसको विधिपूर्वक पूजा–अर्चना गर्नु आवश्यक छ ।”

“मलाई त किन–किन यो कुनै निपुण कलाकारको जादुगरीले भरिएको एक तिलश्मी रूखजस्तो लागिरहेको छ भाइ–बहिनीहरू !” एकापट्टिको कानभरि झ्याप्प रौँ भएको अधबैंसे गाउँलेले तुरुन्तै थप्यो, “यो जादूको राम्रो–नराम्रो प्रभावबाट हामी गाउँलेहरूले होसियार रहनुपर्छ ।”

“कुनै भयानक भूत, जिन्न र प्रेतको आराम गर्ने बासस्थान त होइन यो ताडको गाछी ?” कसैको सुइरोजस्तो आवाजले शंका प्रकट गरी च्वास्स घोचेकोले एउटा असामान्य ढङ्गको चुच्चो मुखको गाउँलेले आफ्नो मुख खोलेर भन्यो, “होइन–होइन, यो कुनै साधारण वृक्ष नभएर एक अलौकिक ताडको वृक्ष हो । त्यसैले अघि दाह्रीवाल बूढाबाले भनेबमोजिम यसको पूजा हुनुपर्छ । (केही बेर रोकिएर) अझ म त के पनि भन्छु भने यो ताडको विशिष्ट रस हामीले उपयोगमा ल्याउनुभन्दा अगाडि यसको गाउँको कुनै बुज्रुगबाट बकाइदा शुभारम्भ अनुष्ठान गराउनु राम्रो हुन्छ ।”

“के हो यो शुभारम्भ अनुष्ठान ?” सबैले एक स्वरमा गरेको उच्चारण असामान्य चुच्चो मुखलाई छोएर ताडको रूखमा गएर बेसरी ठोक्कियो ।

“सहरका मानिसहरू जसरी ठूलठूला भवन, विद्यालय, अस्पताल, मन्दिर, पुल, पसल, मठ आदिको उद्घाटन गर्ने गर्छन्, एक प्रकारले त्यस्तै हो यो शुभारम्भ अनुष्ठान ।” असामान्य चुच्चो मुखद्वारा केही समय सोचेर दिइएको यो उत्तरलाई “ठीक हो, ठीक हो” भनी सामूहिक तबरले समर्थन जनाएर सबै गाउँलेहरू सन्तुष्ट भई आआफ्ना घर फर्कंदा भए ।

अलौकिक ताडको वृक्षको कसबाट शुभारम्भ अनुष्ठान गराउने भन्ने विषयमा ‘नयाँ नेपालको इतिहासको किताब’बाट नाम गायब भएको गाउँका वासिन्दाहरूका एउटा ठूलो हिस्सा गाउँको रवाफिलो मुखियाको हातबाट शुभारम्भ अनुष्ठान गराउन चाहन्थ्यो भने अर्काे समूह सात गाउँको अखडा (वरिपरिका अरु छ गाउँबाट पनि सहज मान्यता प्राप्त) को प्रमुख पहलमान गुरुको बलशाली बाहुबाट शुभारम्भ अनुष्ठान गराउने एकनासले जिकिर गरिरहेको थियो ।

“पुस्ता–दरपुस्ता गाउँ चलाउने महत्त्वपूर्ण अभिभारा पाएका सम्मानीय मुखिया नै गाउँको एकमात्र गण्यमान्य व्यक्ति भएकाले अन्य कसैले अलौकिक ताडको वृक्षको शुभारम्भ अनुष्ठान गर्ने प्रश्न नै उठ्दैन ।” मुखिया पक्षको नरम भाषामा आएको यस्तो कडा भनाइको प्रत्युत्तरमा पहलमान गुरुका खास शिष्यहरूका गर्जन भयो, “हाम्रा पहलमान गुरु पनि आफ्नो पुरुषार्थको बलले एक होइन, दस हात माथि उक्लेर गाउँको मुख्य मानिस भइसकेकाले गुरुकै हातबाट शुभारम्भ अनुष्ठान गराउनमा कसैले पनि अडङ्गा लगाएको सहन गर्न सकिँदैन ।”

“पहलमानीको आडमा नशालु पदार्थको अवैध ओसार–पसार गरेर कोही गाउँको मुख्य मानिस हुने हैसियतमा पुग्न सक्दैन भन्ने बुझनु जरुरी छ, भाइहरू ।” मुखिया पक्षको यो भनाइ असत्य नभएकोले पहलमान पक्षधरहरूका आवाज केही मन्द भयो, “पहिले मुखियाजीको पनि त्यही काम हो, अहिले भलादमीको चोला लगाएर धर्माचारी हुँदैमा के हुन्छ ? फेरि अन्डा, माछा, मासु, रक्सी त्याग गरेर शाकाहारी पनि बनेका छन् । यस्ता पवित्र पुरुषले नशालु पदार्थमा गनिने ताडको रूखबाट निस्कने ताडीको रसको शुभारम्भ अनुष्ठान गर्न काइदाले मिल्दै–मिल्दैन ।”

प्रभातकालीन ताडी नशा नभएर विशुद्ध फलको रससरह हुने भएकोले सम्माननीय मुखियाले अलौकिक ताडको वृक्षको शुभारम्भ अनुष्ठान गर्न शतप्रतिशत मिल्छ ।” मुखिया पक्षले यस्तो जिरह गर्नासाथ पहलमान गुरुका कठोर दण्ड–बैठक गर्ने कसरती सदनका चेलाचपाटीहरू ताल ठोकेर आआफ्ना आसनबाट उभिएर कराउन थाले, “सात–सात गाउँका तन्नेरीहरूलाई कुमार्गमा जानबाट रोकेर तन्दुरुस्तीको बाटोमा लगाउने हाम्रा पहलमान गुरुलाई अलौकिक ताडको रूखको शुभारम्भ अनुष्ठान गर्नबाट कसले रोक्नेछ, हामी पनि हेर्नेछौँ ।”

कुनै पनि उपाय सिद्ध नभएकाले आखिरीमा परम्परागत “सिक्का उफ्राइ”बाट यो जटिल द्वन्द्वको समाधान गर्ने अचुक युक्ति, चित आए मुखियाले र पट आए पहलमान गुरुले अलौकिक ताडको वृक्षको शुभारम्भ अनुष्ठान गर्ने, अपनाउने निर्णय गरी एक तटस्थ गाउँले अर्थात् गाउँको गणेश मन्दिरको चाउरी नै चाउरीले लादिएको वयोवृद्ध पुजारीबाट सिक्का उफार्ने कार्य गर्न लगाइयो ।

“नयाँ नेपालको इतिहासको किताब”बाट नाम च्यातिएको सीमावर्ती गाउँका समस्त गाउँले बाल, वृद्ध र बनितामाझ त्यसबखत दुवै सीमावारि र पारि चलनचल्तीमा रहेको बेलायती महारानीको आकृति अङ्कित कम्पनी मोहर पण्डितको हातबाट हावामा सरर्र माथि, धेरै माथि पुगेर, एउटा लयमा तल जमिनमा आएर बजारियो, तर त्यो न पट अवस्थामा थियो न चित, दुईतिर नखसेर विलकुल स्थिर रूपमा ठाडो भई खडा थियो, कम्पनी मोहर ।
कान्तिपुर, २०७० पुस २७

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
ज्वाइँबाबा

ज्वाइँबाबा

विमल निभा
छेपाराख्यान

छेपाराख्यान

विमल निभा
जुत्ता

जुत्ता

विमल निभा