सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हावा

Nepal Telecom ad

हावा हाम्रो हाइ हाच्छिउँ र हँसाइमा हुन्छ । बँचाइ, मराइ, बोली वा कराइ हावाकै हातमा हुन्छ । जहाँ, हावा त्यही प्राणीका छावा । जहाँ पवन त्यहाँ हवन, सर्वत्र, बतास त्यहाँ के–को हतास ? हावालाई हतियार बनाएर केबुल लाइन टेबुल–टेबुलमा र सञ्चारका साधनहरू गोलायमान पृथ्वीमा चलायमान छ । हावाकै कारण आगो बल्छ, आन्द्रो चल्छ, फलाहार फल्छ, पन्छी चिरबिर्याउँछन्, नदी ओरालो लाग्छ ध्वनि पहरामा ठोकिएर फर्किन्छ । गानुगोला वा ग्याष्टिकजस्ता रोगका पिण्डहरू हावाकै कारण सिर्जन्छन् भने अथाह रोगहरू भगाउने, लगाउने वा हैजा, महामारी, स्थानान्तरण हुने, हुर्किने काम हावाबाटै हुन्छ भने हावाको हाली मुहालीलाई हामीले चानचुने हल्का रूपले कसरी लिने ?

हावा ह्वास्स गनाउने र सुगन्धित पनि हुन्छ । मीठो गनाए पोरा फुलाउने र नमीठो गनाए पोरा सुकाउने, थुन्ने वा नाक चेप्राउने, चलन अद्यावधि जीवित छ । हावाको धर्म– जो छ सो नाकमा ठोक्याई दिने । के को सुवास, कहाँबाट आयो, कसले कुन वस्तु खायो भन्ने कुराको लेखाजोखा हावा र नाकमा सुरक्षित रहन्छ । हावाको सहयोगमा सुगन्ध वा दुर्गन्धको छिनोफानो गर्न स्वस्थ नाकको एउटै प्वाल पर्याप्त हुन्छ । हावा र नाक प्राणीमात्रका स्वार्थरहित सेवक, सहयोगी हुन् । “मुला खाई वन पस, अदुवा खाइ सभा बस” हावा र नाकको ठोस निर्णयबाट तयार पारिएको लोक उखान हावाको पृथक प्रकृतिलाई ख्याल गरेर भनिएको हुनुपर्छ ।

घनाबस्तीको कारण कोही चाहेर पनि हावा पाउँदैनन् भने शिक्षित बेरोजगारहरू, नचाहेर पनि हावा खान बाध्य भएका छन् । सरकारी कर्मचारीहरू राजाको काम कहिले जाला घाम भन्दै उँग्दै हावा खान्छन् ।

हावा शरीरको माथिल्लो भागबाट खाइन्छ र तल्लो भागबाट फालिन्छ । यो जीवित ज्यानमा मात्र लागू हुन्छ । यसो भएन भने मान्छे पीण्डरोगी ठहरिन्छ । हावारहित प्राणीलाई स्वास्थ्य विशेषज्ञहरू मृत घोषित गर्छन् भने समाजमा हुने गरेको पनि त्यही हो । हावाले साथ छोड्यो छोडेन भन्ने कुराको छिनोफानो तापक्रम वा घ्याम्पे भुँडीको चालबाट पत्तो पाइन्छ । हावा छ तापनि सुरबेसुर चम्किने वा लम्किनेलाई हावा फुस्किएको बौलाहा वा पागल भनिन्छ । हाम्रो समाजमा मान्छे मर्नुभन्दा बौलाउनुलाई निको मानिन्छ । आतङ्ककारीको आन्तरिक रुचि पनि त्यही हो । तर, दुर्भाग्यवश संसार मर्ने बौलाउने बराबरीमै गुडिरहेको छ ।

हिमालयका हिँउ र प्रणीको जिउमा हावा सरसराइ रहेको हुन्छ । बाहिरी त्वचालाई स्पर्श गरेरमात्र हुँदैन नलीका नसा–नसामा र हृदयको अन्तरकुन्तरसम्म पवन पसेकै हुनुपर्छ । अन्यथा हावाविनाको प्यारो ज्यान हावा फुस्किएको भकुन्डोझैं लडिरहन्छ । श्वासप्रश्वासविनाको सुताइ नै मुर्दा सुताइ हो, जसलाई खेलाउनुको सट्टा सेलाउनु श्रेयस्कर हुन्छ । बल हावा छउन्जेल उफ्रे जस्तै प्राणी पनि हावाले साथ दिउन्जेलमात्र हाइ हाच्छिउ र हँसाइमा बुर्कुसी मार्छ । ज्यानलाई सुरम्य सुरक्षित र सुकसुकाउँँदो देखाउन दावाका साथ भन्न सकिन्छ हावा अनिवार्य अपरिहार्य र आवश्यक छ ।

“वायुदेवताभ्यो नमः” भन्दै हावाको उपासना आराधना गर्दा गर्दै एक दिन हावा खाने पिङ् चुडिन्छ र नै हामी उडिन्छ । कोही स्वाभाविक रूपमा उड्दछन् भने कोही नचाहेर र वाध्यताले पनि उड्दछन् । पानीको ताल वा बन्दुकको नालबाट उड्नु रुचिकर हुँदैन वा अनिष्टकर मानिन्छ । एकचोटि उड्नैपर्छ भनेर असामयिक मृत्युलाई सहज मान्ने वातावरण समाजमा हुँदैन, त्यसैले हावा लि“दै जाऊँ, दि“दै जाऊँ, बाँच्दै जाऊँ, मर्दै जाऊँ, किनकि ‘नमरी स्वर्ग देखिँदैन ।’

यस संसारमा हावाको हुलिया थाहा नपाउने कोही छैनन् । यसको उत्पत्ति, उत्पादन रूप वा स्वरूप सबैलाई थाहा छ । हावाको काम, कर्तव्य र अधिकार राज्यले निर्धारण गर्न सक्दैन । हावा नदी भन्दा स्वतन्त्र छ । हावा चराचुरूङ्गीभन्दा स्वतन्त्र छ । हावा आकाशजत्तिकै अनन्त र धर्तीजस्तै फाँटिलो छ । यसको पनि आफ्नै खुट्टा छ, मुख छ, आँखा छ, अस्तित्व छ, दाँत छ, नङ्ग्रा छ, मिजास अनि मिठास छ । कसैप्रति दुव्र्यवहार, चाकरी वा चाप्लुसीसँग हावा अल्मलिदैन । हावा प्राणीजस्तो निकृष्ठ सङ्कुचित र स्वार्थी हुँदैन । त्यसैले हावा सर्वग्रा≈य छ । यसको शालीनता र मलिनता रुग्ण मानवचोलामा उतार्न सक्नुपर्छ,।जान्नुपर्छ  तबमात्र म मानव हुँ भनेर दाँत ङ्च्यिाउन सुहाउँछ । हावाजस्तो आँखामा हालेर नबिझाउने मानव कोही छ त यस धर्तीमा ?

प्रहरीहरूले हावामा गोली चलाउँछन् । हावाप्रतिको अगाध आस्था र विश्वासका कारण अश्रुग्यास छाड्ने गर्दछन् । खुर्सानीले जस्तो पोल्ने र अभियुक्तले रूँदै आँखा नखोल्ने भएको हुनाले देशका रक्षक वा संरक्षक्ले शत्रुशमन वा दमन गर्न हुलमुलमा देखाउने वा सेकाउने भरपर्दो हतियारको रूपमा लिने गरिन्छ, यसलाई ।

हावाको पर्यायवाची शब्द पवन, हुरी, हुन्डरी, सिरेटो, वायु र झर्रो नेपालीमा बतास भनिन्छ । बतास वा वायु नै प्राणीमात्रको आयु हो । यसको अभावमा पसिना चुहिने, कुहिने र एकुसमुकुस भएर रूइने गरिन्छ । त्यसैले हावा नै प्राणदाता, हावामै छ हाम्रो मृत्यु बँचाइको खाता, हावाकै कारण जोडिन्छ प्राणीको नाता, हावाकै कारण कोही सेता कोही राता प्रकृतिका निःशुल्क उपहार हावालाई अति उपयोगी भन्छु म ता ।

आज आतङ्ककारी हावाले संसार निसासिएको छ । सानो गरीब राष्ट्र नेपाल आतङ्ककारी हावाका कारण नाङ्गै भुतुङ्गै भएको छ । निसास्सिएको छ । आफ्नो अभिभावक वा गार्जेन निसासि“दा लालाबाला कति रून्छन् होला । नरोऊ भनेर कसले भन्ने । त्यसैले हे हावा ∕ तिमी सही ढङ्गले चल । तिमी यस धर्तीमा अपरिहार्य छौ भने मलाई ग्रहण गर…. भनेर घाँटी सुकाउनु पर्दैन । सञ्जीवनी हो भने त्यसको सेवन एक दिन हावा फुस्किएको मान्छेले पनि अवश्य गर्नेछ ।
गोरखापत्र, २०५९ असार ३१

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
म्वाई महात्म्य

म्वाई महात्म्य

शेषराज भट्टराई
थाङ्ने चिन्तन

थाङ्ने चिन्तन

शेषराज भट्टराई
साँढे स्वास्नी

साँढे स्वास्नी

शेषराज भट्टराई
किन चाउरिस् मरीच ? आफ्नै रागले !

किन चाउरिस् मरीच ?...

शेषराज भट्टराई
घाँटी 

घाँटी 

शेषराज भट्टराई