डम्म पेट पुड्को मान्छे सुसुपाल खुट्टा
यो भन्दा नि ठूलो कुरा बोल्छ सधैं झुट्टा
आजै गर्ने कामलाई भन्छ भोलि पर्सि
हेरहेर के आश्चर्य कुर्सीमाथि फर्सी ।

तलकालाई सधँै हेप्छ माथिकालाई सलाम
टोपी झिकी हिँड्ने गर्छ ज्युँदाहरूको मलाम
रातो देख्दा सातो उड्छ झसङ्ग हुन्छ तर्सी
लाज शरम ठ्याम्मै छैन कुर्सीमाथि फर्सी ।

चाकडी र चापलुसी उसको धर्म कर्म
‘माथि’ लाई खुसी राख्ने उसको मूलमर्म
यत्ति भए आशिर्वाद आफैं आउँछ बर्सी
यै तालले टिकी रे’छ कुर्सीमाथि फर्सी ।

बियरको त कुरै छोडौं, डिजेल समेत प्युँछ
हन्तकाली कालो मन कमिसनमा ज्युँछ
जत्ति दुह्यो उत्ति पैसा कामधेनु जर्सी
कुन् कुर्सीमा छैन साथी ? कुहिसक्या फर्सी ।

कालो आए कालै हुन्छ, गोरो आए गोरै
औशर छोप्न ओड्नु परे ओडिदिन्छ बोरै
पदीयदेव खुसी पार्छ फूल्अक्षता पर्सी
छ्या के औधी गन्हायो है कुर्सिमाथि फर्सी ।
कलङ्की, काठमाडौं
०५४ असार ४