गाउँमा पिल्पिली दीप बल्दै थियो
काम आफ्नो सकी साँझ ढल्दै थियो
ली तमिस्रा सँगै रात पर्दै थियो
शान्तिले मौनको गीत छर्दै थियो ।

गाउँभन्दा उता पट्टिको जङ्गल
फैलिएको छ झैं मङ्गलै मङ्गल
वृक्ष छन् ध्यानमा मग्न मौनी सरि
चल्छ हाबा नहोस् बिघ्न झैं सुस्तरी ।

वन्दना विश्व ब्रह्माण्डको शक्तिको
अर्चना मौनको ध्यानको भक्तिको
कामना श्रेयको जीव निर्जीवको
भावना शान्तिको स्नेह आत्मीयको ।

एउटा स्यालको हूल आयो त्यहाँ
घुम्न थाल्यो यहाँ चल्न थाल्यो उहाँ
खोज्न थाल्यो सिनो भेटिने हो कहाँ
शान्ति भत्काउँदै गर्न थाल्यो हुआँ ।

शान्तिको मूल्य के स्यालले के बुझोस्
मौनको मूल्य के मूर्खले के चिनोस्
नामले नै घृणापूर्ण जो स्याल हो
निर्दयी लालची खल्बले व्याल हो ।

लेखनीले निकै चाख मानी सुनी
के भने स्यालले गौर गर्दै गुनी
लेखियो जे कुरा सामु राखें सब
हाँस वा रोउ यो हात तिम्रै अब ।

एउटा स्यालले भूप को हो भन्यो
झुण्ड सारा चनाखो बनी यो सुन्यो
झट्ट यौटा करायो म है लौ म है
झुण्ड बास्यो तुरुन्तै ल है हुन्न है ।

हैन है हुन्न है हुन्न है हुन्न है
मात्र आवाज आयो ल है हुन्न है
हुन्न है हुन्न है मा यसै रात गो
मात्र निद्रा बिगार्यो नयाँ प्रात भो ।
कमलपोखरी, काठमाडौं