बाउ– उठ फुच्चे फूर्तिसँग अब पढ्न बस
       भोलि के के हुनु पर्छ आजै कम्बर कस
       पढ्दै जाऊ, बढ्दै जाऊ हुनु पर्छ ठूलो
       पैल्याउनै पर्छ तिम्ले दाम आउने दुलो ।
छोरो– बुझें ड्याडी, तपाइँको कुरो बुझें मैले
       दाम कमाउन ठूलो हुनु पर्छ पैले
       औंला भाँची एक दुई अब गन्ने हो
       लौ भन्नोस् त पछि मैले के के बन्ने हो ?
बाउ– प्यारो छोरा कति जाती तिमी साह्रै ज्ञानी
       डाक्टर बने हुन्छौ तिमी खूब धनीमानी
       बिरामीको रोग हैन खल्ती मात्रै छाम
       कामै त्यस्तो खुरुखुरु झर्ने गर्छ दाम ।
छोरो– एक् हपतामे भत्की दिने बाटो बनाउने
       लाख करोड् कमिशन च्याप्प समाउने
       हैन ड्याडी इन्जिनीयर बन्ने हैन र ?
       देशै रोगी पारी पैशा तान्ने हैन र ?
बाउ– हुन्छ छोरा, इन्जिनियर बने पनि हुन्छ
       मन्त्रालय छिरी सचिव बने पनि हुन्छ
       त्यता पनि फल्छ फेरि घुसैघुस्को बाली
       दुई–चार दिन्मै महल बनाई गरौ ढलीमली ।
छोरो– भ्रष्टमाथि कार्वाइ हुने हल्ला चलिरेछ
       काठ्माण्डूको फोहर जस्तै नाम गनाइरेछ
       नाम दाम ताम झाम एकैमुष्ट झर्ने
       अर्को कुनै पेशा छ कि मैले गर्नु पर्ने ?
बाउ– साह्रै उत्तम कुरा गर्यौ प्यारो मेरो छोरा
       जनता हुन् यो देशका लाटागाँडा मोरा
       तिन्कै भोट बटुलेर नेता बने हुन्छ
       जति भ्रष्ट भए पनि तिन्लाई कस्ले छुन्छ ?
       ऐसै ऐसा पैसै पैसा झर्या झर्यै गर्छ
       राज्नीतिको भर्याङ चढी नेता बन्नु पर्छ ।
कलंकी, काठमाडौं