सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बुद्धिजीवीको पुच्छर कस्तो छ ?

Nepal Telecom ad

मुन भन्नु र जून भन्नुमा कुन अन्तर छ भनेर सोध्नेलाई हात्ती र हात्तीछाप जस्तै हो भनिदिए फरक पर्दैन । भाषा फरक भाव एउटै भन्ने हो भने पनि अङ्ग्रेजी र नेपाली सम्झे हुन्छ । तर, जुन मुनको कुरा आज हुन गइरहेको छ, ती अलि भिन्न छन् । कान्तिपुरमा झरेका भए पनि जनकपुरमा जागिर गरेका गोत्रेभाइ भएको हुँदा उनीप्रति स्नेहले हाँस्नु, सद्भावले माया गाँस्नु मेरा लागि असहज भएन । पद्मानन्दले लेखन्दास बनाएको हुनाले हो या ‘सफलताका तीन मन्त्र’ (२०५६) हात परिसकेकाले हो उनी बुद्धिजीवीमा दरिएका दारीवाल मानिन्छन् । नेपालीहरूले जुँगादारी नपलाएका युवालाई केटौलेपनमै अड्िकएका अल्लारे माने पनि थुप्रै अधबैँसे नरनारीको अनुहारमा मैले जुँगादारी उम्रेको देख्न पाएको छैन । आफ्नाे वंश–लहराको संस्कारले होला, मङ्गोल मूलका मान्छेका बारेमा मेरो ज्ञान गहिराइमा पुगेको छैन । तैपनि बुद्धिजीवी र पुच्छरको सम्बन्ध अटुट छ । कसैको पुच्छर अगाडिपट्टि उम्रन्छ त कसैको पछाडिपट्टि अर्थात् पिठ्युँतर्फ लर्कन्छ । हामी मनुष्यको कुरा गर्दैछौँ । त्यसो त बाँदर र पशुपन्छीसँग पनि पुच्छरको साइनो जोडिन्छ । दारी पनि त सारी नलाउनेको पुच्छर मान्न सकिन्छ । पुच्छर जो छ त्यो पछाडि नै हुनुपर्छ, ढाडतर्फ नै उम्रनुपर्छ भन्ने होइन । बुद्धिको पोको मानिसको टाउको हो भने टाउकामै पुच्छर लर्काएर हिँड्ने जनानाजी र घाँटीमा गलसुर्के झुन्ड्याएर हिँड्ने मर्दानाजी दुवै बुद्धिजीवी हुन् । दुवैको विशेषता परस्पर हेप्नेमात्र होइन, हेर्ने र घुर्ने, मिल्ने र थुर्ने पनि रहिआएको छ । बुद्धिजीवीको पुच्छर थर गोत्रमा भन्दा विनयस्तोत्रमा झुन्डिन्छ । डिग्रीका दम्भमा होस् वा दिमागी आलम्बमा होस् अगाडितिर डा प्रा झुन्डिएमा साप्रा दारेर हाँस्ने अवसर प्रशस्तै मिल्छ । परिश्रमको नाममा जिरो भए पनि परिपञ्चले ती हिरो बन्न पुग्छन् र माथितिर पुच्छर हल्लाउँछन् । तपाईं–हामी सबैलाई थाहा छ– माथितिर पुच्छर हल्लाउनेले तलतिर सिङ नचाउँछन् । त्यसो त प्रार्थना भनेकै कामनाको पुकार हो र त्यसको सोझो अर्थ दयाको भीख माग्नु हुन्छ । गणेशलाई लड्डु चढाएर बुद्धि माग्ने बुद्धिजीवीहरू के बिर्सन्छन् भने स्वयं गणेशको सल्लाहकार मुसो थियो । मुसाको बारेमा धेरैलाई थाहा छ– खेतबारी, घरआँगन, सडक र संसद् सबतिर यो भेटिन्छ । तर, मुन जुन छन्, ती कहिलेकाहीँ गजल महोत्सवतिर फेला परे पनि साहित्यका सबै विधामा फेला पर्दैनन् ।

नाममा मात्र कुमार झुन्ड्याएर सुकुमार देखिन चाहने अधबैँसे हुन्– मुनकुमार पौडेल । त्यसो त उनलाई कतिपयले शर्माजीका नामले पनि जान्दछन् । श्रीमतीसँगको ठाकठुकले उनलाई पत्नीपीडित पुरुष ठान्नेहरू भेटिए पनि पतिपीडित पत्नीहरूको वेदना बोकेर आएको हुँदा दुवै ध्रुवका मनुष्यले उनलाई माया गर्ने गर्दछन् । पुरुष ध्रुवमा उनको स्वर मुकुश पौडेल हुन्छ । यहाँ नझुक्किनु होला उकुसमुकुस पौडेल होइन । त्यसो त जीवनमा भोगेका उकुसमुकुसकै बिटो त हास्यव्यङ्ग्यबन्छ भन्न सक्नुहुन्छ । ‘मनको बह कतै नकह’ भनेर चुपचाप बसेका बुद्धिजीवी र त्यसलाई सामान्य बनाएर बताउने खूबी भएका बुद्धिजीवीमाझ निकै अन्तर छ । एउटासँग कला र गला दुवै टालिएको अवस्था हुन्छ, अर्को सँग प्रभावकारी संरचनाको सीप हुन्छ । त्यसकारण त साँच्चैका बुद्धिजीवीको पुच्छर उम्रन्छ । चौबीस रचनाको बिटोलाई एक पार्दा ‘बुद्धिजीवी र पुच्छर’ बन्न पुगेको छ । मतलबी बुद्धिको वर्गीकरण गर्दा सरकारी पक्ष र गैरसरकारी पक्षमा विभक्त गर्नु, हास्यभावको प्रादुर्भावका लागि रतिराग प्रयोग गर्नु र आफ्नाे पुच्छर उम्रेको श्रीमतीलाई हेर्न लगाउने कामद्वारा त्यसलाई रोचक बनाउनुले उनको रचनाकौशल प्रस्तुत गर्दछ । नयाँ राष्ट्रिय खेलको प्रस्ताव झनै राम्रो र मीठो छ । जुवाडे प्रवृत्तिसँगै कर्मचारीहरूबीच फस्टाएको ‘तास’ निबन्धमा व्यङ्ग्यको मिठास भेटिन्छ । यसले प्रभातको ‘तेल घस्ने खेल’ सम्झाउँछ । सरल प्रस्तुति र गम्भीर सम्प्रेषण भाव उनका रचनाको क्षमता बनेको छ । माइत गएकी श्रीमतीलाई पत्र लेखेर हिनासँग हिनहिनाउने बानीका आधुनिक श्रीमान्हरूको पोल खोल्दा सहरी सभ्यताको बजारूपनमा रमाउने वर्गले बुट हान्ने खतरा पैदा हुन्छ । तर, हामी बियरमा आत्मनिर्भर छौँ, त्यसैले अन्डरवियर खुस्के पनि पिइरहन्छौँ । प्रजातन्त्र पारदर्शी हुन्छ, बलियाबाङ्गालाई मस्ती दिन्छ, निर्धाङ्गालाई सास्ती दिन्छ । भन्नेहरूले भन्दै गर्दछन्, गुन्द्रुक–ढिँडेले के पो गर्छन् । आवश्यकता त बियरमरुवाको छ । ‘चियर चढ्न होस् वा डियर, एउटा एक्सपोर्ट अर्थात् ‘गलत बिसौनी नसम्झनुहोला, पानीभन्दा बियर उत्तम हो भन्ने पौडेल–वाणी सम्झनुहोला । जलस्रोतको धनी देशमा पानीको अभाव भएपछि बियरको प्रभाव बढ्नु स्वाभाविक हो । त्यसमाथि चक्कर चलेपछि अक्करमा परे पनि मान्छे निस्फिक्रि भइजान्छ । मुन पौडेलजीको चक्कर कपालको छ । त्यसो त कपालको मोह तालुखुइलेहरूलाई नै बढी हुन्छ र विशेषगरी तिनका श्रीमती यस मामिलामा चनाखो भेटिन्छन् । पुच्छर उमार्ने परिकल्पनाकार रौँ उमार्ने अक्करमा च्यापिएपछि नपाउनु सास्ती पाउँछन् । आखिरमा जुक्ति लगाएर बेलमुण्डनको खेल जितेपछि मात्र बबुराको व्यक्तित्व बन्न पुग्छ ।

नयाँ पुस्ताका वक्र–लेखन्ताहरूमा मुन पौडेल जून बनेर झुल्किएका छन् । उनको छेप्पनमा सामयिकताको लेप्पन छ । नरम–नरम तर गरम कुरा गर्दै, अलिकता छाँसो छर्दै र अलि बढी हाँसो हुल्दै रेकर्ड तोड्ने सुर लिएर डुल्दैछन् । संयुक्त लेखनको जँड्यौली हिस्सेदारीमा उनी रमाउँदैनन् । यसकारण जङ्गलमा गएर कविता पाठ गर्नुभन्दा सादा कागजलाई नै अतुलनीय कविता बनाएर पेश गर्दछन् । साहित्यिक चोरी अघोरी आदत हो । मर्यादा हनन् विधागत अज्ञानताको उपज हो । गुटबन्दीले प्रतिभा उब्जाइरहेको वर्तमानमा प्रायोजक व्यवसायीबाट पद, प्रतिष्ठा र पुरस्कारको किनबेच भइरहेको छ । त्यसैले मुन पौडेलले साहित्यका क्षेत्रमा पसेको यो घुन उधिन्छन् र भन्छन्– ‘यस्तो साझेदारी प्रथाले साहित्य फस्टाउने भए कथा कविता निर्माण कम्पनी, खोलेर मान्छेहरू मालामाल भइसक्ने थिए । एक थोक हराउँदा दुई थोक हात पार्ने हैसियतवाला हाकिमको कुरा पासपोर्ट–काण्डले उहिल्यै वर्णन गरेको थियो । तर मुनले जुन कला देखाएका छन्, त्यो भने विशिष्ट छ । सुरक्षाको ठेकेदार बनेका लुटपिट कम्पनीका ‘साब’हरू कतिसम्म मूर्ख हुन्छन् भन्ने चित्रण यस कथामा छ । यसलाई व्यङ्ग्यकथा मान्न सकिन्छ । सम्पादकप्रति पनि तिखो छेप्पन हानिएको छ । सर्वसाधारण जनतामा इमान्दारिता बाँकी छ भन्ने तथ्य सङ्केत गर्न पनि यो रचना सफल छ । ‘कालोमोसोको व्यापारिक सम्भावना खोजमूलक समीक्षा भने हुन्छ । यसमा उनले प्रजातन्त्रको नाममा बढेको अराजकता, विकृति र बिब्ल्याँटोप्रति प्रहार गरेका छन् । युवाहरूको स्तुतिगानले जङ्की–पङ्की बनेका बैँसमत्ता मक्खी– हरूमाथि मार हानेको छ । पढ्न–लेख्नमा जिरोहरू नै आधुनिक हिरो बनेको यथार्थ अघि सारेर परिश्रम गरेर मुलुक सपार्ने आह्वान गर्दछन् । पार्टी खोल्ने मानिसहरूमा हुनुपर्ने ठूलो गुण अवसरवाद हो भन्ने तथ्यबोध गरेका भए पनि बहत्तरौँ पार्टीमा समावेश हुनका लागि आप्mनो योग्यता प्रदर्शन गर्दछन् – ‘खानदानमा कोही पनि वाम छैन, शरीरमा कतै नीलडाम छैन ।’ यसले सुविधाभोगी नेताको रइसीचाल र दुःखभोगी कार्यकर्ताको पीडातर्फ ध्यानाकर्षण गराउँछ । आखिरमा ‘च्याँखेदाउ पार्टी’ उनको अभीष्ट बन्न पुग्छ । यो स्वयम् चोटिलो व्यङ्ग्य हो, जनआधारबिना राजधानीमा गठन भएर निर्वाचन आयोगमा विसर्जन हुने विराट–विराट भुरे पार्टीलाई ।

स्वतन्त्र देशको आप्mनो अलग पहिचान दिने एउटा मुख्य आधारविन्दु हो – सीमा । सीमा हुनुको अर्थ हो – राहदानी प्रथा अर्थात् सर्वसाधारणदेखि असाधारण आगन्तुकसम्मको व्यवस्थापन । घरमा को आयो को गयो भन्ने जानकारी रहेजस्तै देशमा पनि के आयो के गयो, सँगै को आए को गए – को जानकारी जरुरी हुन्छ । तर चौतर्फी खुला ह्वाङ्गै हुनु कुनै छेकबार तगारा नहुनुले गर्दा देश चौपट भएको, खुलादेश बनेको, जो जे आए पनि केही नहुने र त्यसरी आएका आगन्तुक नै अधिपति बन्ने अवस्थाप्रति मार्मिक, रसदार एवम् खुला व्यङ्ग्यभरिएको रचना बनेको छ– ‘खुलादेश’ । राष्ट्रिय भावनाको अभिव्यक्ति केलाउँदा यसलाई निकै राम्रो व्यङ्ग्यमान्न सकिन्छ । परन्तु बन्दको सङ्गीतमा भने सामयिकताप्रधान रचना हो । अचम्मको रोगमा श्रीमती–प्रसङ्ग आइदिन्छ । नआओस् पनि किन ? जब मान्छे हाँस्नै बिर्सिदिन्छ, तब भैरवको ए ज्या भुसुक्कैले के लछार्छ र ? निधार त खाली नै छ ले सिउँदो खाली छ भन्ने गीत होइन पोष्टर टाँसको चुनावी बालीका रखवाली बनेको पार्टीप्रति व्यङ्ग्य गर्दछ । दुलाहा विक्रिमा छ ले दाइजो तिलक प्रथालाई सिस्नुपानी लगाउँछ । ‘छापा किन्न लाप्पा’ दुई मनोवृत्तिको चित्रण हो । हँस्यौलीप्रधान भएर पनि राशिफलका भक्तमण्डलीको अज्ञानतामाथि यसले चोटिलो व्यङ्ग्यगर्दछ । मुन पौडेल भाषामा खेल्छन्, भावमा दगुर्छन् र सुधारका लागि सन्देश दिन्छन् । थुप्रै झर्रा शब्दको प्रयोग, लोकोक्ति र उपमाले उनको लेखनलाई निकै माझिएको, सुकिलो मात्र होइन सुन्दरसमेत बनाएको छ । चुनाव जितिसकेको नेताजस्तो, सुनसान र खाली–खाली सडक लमतन्न मुर्दाजस्तो र एकलात दिए पनि आनन्द आउँलाजस्तो कुरा गर्न उनी खप्पीस छन् ।

श्रीमतीलाई उपहारमा रल्लिँदा पीर परे पनि क्यान्सर प्रबद्र्धन उद्योगमा हल्लिँदा उनलाई आनन्द नै लागेको छ या छैन, त्यो सोध्न बाँकी छ । उँभौली उँधौली व्यहोर्न नपेरको हुँदा उपभोक्तावादी संस्कृतिले श्रीमतीलाई डोर्याउँछ, तर श्रीमान्हरू धुरुधुरु रुन्छन्, निराश हुन्छन् र फ्रिजमा जमेर मुक्त हुन चाहन्छन् । यो वेदना बुझेपछि भने तपाईं–हामी सबैले टाउको समाउनुपर्ने हुन्छ । मुनकुमारको जय होस् !

इतिहास भनेको विजेताहरूको भजनमाला ठान्ने हो भने जितुवाहरूलाई बधाई दिनु असहज लाग्दैन । चितुवा स्वभावका मनुष्यले दानको महिमा गान गरेजस्तै स्वाभिमानका बेपारीले धोती लगाए पनि, सुरुवाल लगाए पनि अभ्यन्तरको अभिमान शुभलाभमा झुन्डिएको हुन्छ । नाल–नाता ओहोदामा पुगेपछि आम्दानी थन्क्याउन सम्झिने र बिहेवारीमा विगोत्री सम्बन्ध जोर्न खोज्ने चलनमा अडिएको छ, सुखदुःखमा होइन । नाफा र फाइदा नहेरी कसले पो काम गर्र्छ ? बजारवादका जमानामा । त्यसैले बसको यात्रा जात्रा हुनुमा हैसियतको अभाव मात्र होइन, हैकमवालाको भ्रष्टाचारले पनि बल पुर्याएको छ । पिँडालीको ‘शूरवीरको नरक यात्रा’ हँस्यौलीप्रधान छ भने मुनको बसयात्रामा व्यङ्ग्य बाहुल्य पाइन्छ । त्यसो त हाम्रो देशको राजमार्गको विशेषता भन्नु नै खाल्टाखुल्टीको जोल्ठ्याङ–पोल्ठ्याङ त हो । हवाईजहाजमा त हर्नको खाँचो छ भने ओजनकै भोजन गर्ने पङ्क्तिबाट शान्तिको आशा कसरी गर्ने ? त्यसकारण थोत्रा नेता ग्रसित नेपाल र कोत्रे पेट ग्रसित नेपालीबीच गौतमजीको वेदना मार्मिक बन्दछ ।

अन्त्यमा कान्छीको खुट्टासौन्दर्यमा रमाउने कि कलाको बुट्टासौन्दर्यमा ? त्यो आफ्नाे वर्गबानाको गाना हो । जतिसुकै सिँगारपटार गरे पनि विचार नै कलाको छाना हो । त्यसकारण मुन जून बन्दा मधुरदीप्ति छर्ने प्रकाश भइदिन्छन् अर्जुन बन्दा हास्यव्यङ्ग्यमा महाभारत जन्मन्छ । बाँकी कुरा आफैँ पढेर हेर्नोस् । बुद्धिजीवीको पुच्छर कस्तो छ ?
‘कान्तिपुर’ २०५९ साउन २५

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
तेल घस्ने खेल

तेल घस्ने खेल

विष्णु प्रभात
खाओवाद जिन्दावाद !

खाओवाद जिन्दावाद !

विष्णु प्रभात
स्वार्थजीवी भव सब !

स्वार्थजीवी भव सब !

विष्णु प्रभात
एघारौँ अवतार

एघारौँ अवतार

विष्णु प्रभात