मस्त निन्द्रामा थियो शहर
सपनामा तल्लिन थिए मनहरू
कसैले केही थाहा पाएनन्
रातका छुल्याहा व्यवहारहरू
तर
मेरै घर छेउ
सधैजसो बाटाको किनारामा देखापरिरहने
अर्धनग्न बहुला
झिसमिसे बिहानी मै
मच्चीमच्ची हाँसिरहेथ्यो...
हा...हा....हा........
अझै सुतिरहेछौ... ?
म पागल रे...!
म नाङ्गो रे... !
ए मानिसहरू हो... ?
लौ भन,
म नाङ्गो कि
तिमीहरूले चुनेका
तिमीहरूले मानेका
आलिसान भवनभित्रका भलाद्मीहरू...
हा... हा... हा... ।
काठमाडौं