कुरा गर्नुहुन्छ र पनि ! केको यो जात र त्यो जात, यो दलित र त्यो दलित भनेर दलितका कुरा गर्नुहुन्छ ? आफ्नै जातिकाले आफ्नै जातिका हक अधिकारबाट पाउने भागबन्डा मुठ्याउँदै मुख मिठ्याउँदै गरेका छन् ! जाति, जनजातिकै कुरा गर्नुहुन्छ भने पनि क्षेत्री, बाहुन, मगर, तामाङ, गुरुङ, चेपाङ, थारु, दनुवार, कामी, सार्की चाहे जो जुन जातको भए पनि उहीउही वर्गका बाठाटाठानै दलित हुँ भनेर जिल्ला र केन्द्रबाट पाउने सुविधा लिएर मोटाएकै छन् । एउटै शरीरका अङ्गअङ्गमा त रङ्गढङ्ग नमिलाएर अङ्गभङ्गको राजनीति गर्ज खोज्छ मान्छे ! अनि को दलित चुप लागेर बस्न सक्छ ?
आफूबाट आफ्नै दुईखुट्टालाई दलित बनाएर दलेको कुरा कुन दल र दक्षले बुझेको छ ? प्रत्येक शरीरबाट हामी खुट्टाहरू दलित भएका छौँ । नानाभाँतिका नाक ठड्याएर हिँड्ने मान्छेले जाबो खुट्टोलाई किन वास्ता गर्दोरेछ र ?
आजको दुनियाँमा दलित भनेर कुनै जातजातिमा मात्र मापन नगर्नोस् । मान्छेबाट मान्छेकै खुट्टो दलित भएका छौँ । हिँड्न नसकेर गलित भएका छौँ । जे पाए पनि खानेचाहिँ मुखले, सकिनसकी हिँड्नुपर्ने चाहिँ हामी खुट्टाले ? अनि यसरी दलिएपछि दलित भएनौँ त हामी खुट्टा ? हामी खुट्टाका अधिकार खोई ? कानुन खोई ? अझ त्यस्तै परे टाउको र छाती जोगाएर खुट्टामा गोली हान भन्छ रे कानुन ! भारी बोकाएर होस् वा भुँडी बढाएर होस् खुट्टालाई भारी बढाएर जोत्न पाएकै छन् । जात वर्ग लिङ्गका सबै मान्छेले । कानुन त मुकदर्शी भैसकेपछि कसको के लाग्छ ?
विश्वमा जतिकरोड मान्छे छन् ती सबैका खुट्टा दलित छन् । यहाँ जातजातिको सङ्कुचित घेराभित्र बसेर दलित हुँ, भएँ भनेर मात्र के गर्ने ? कार्य विशेष जो पनि दलित भएका छन् । पिछडिएका र थिचिएका कुनै वर्गलाई पनि दलित होइन भन्दैनौँ । दलितभित्रका पनि महादलित हामी खुट्टानै भयौँ भन्न खोजेका हौँ । जुन दलितभित्र पनि हामी खुट्टा झन्झन् दलित भएका छौँ । जातको कुरो नकोट्याऊँ । कार्यविशेष दलित बाहुन पनि हुन् । शिक्षा आदिका कारणले पिछडिएका मात्र नभई पढेलेखेका बाहुन पनि कार्यविशेष दलित नै भएका छन् । लौ हेर्नोस् त, कर्मकाण्डी बाहुन केरा र पेँडाका गुलियोमा भुलेर कामको ज्याला तोक्नै बिर्सेछन् । जजमान उसैले नछोएकी सुत्केरीलाई बाहुनले गएर वैदिकमन्त्र पढी कुशपानीले चोख्याइदिनु पर्दा र कसैले नछोएको किरियापुत्रीलाई त्यसैगरी चोख्याइदिनु पर्दा जजमानले जति दक्षिना दियो त्यसैमा चित्त बुझाएर फर्कनु परयो । हामी पनि पारिश्रमिकमा दलित भयौँ भन्छन् पुराना पुरेत । खनजोत गर्नेले दिनमा तोकियो चारपाँचसय ज्याला पाउँछ । आफू त सयपचास दछिनामा डल्लिनुप¥यो भन्दै त्यतिबेला दलित भएको महसुस पनित बाजेले गरेको हामी खुट्टाले सुनेका छौँ । यसरी दलिनेजति सबै दलित हुन् भन्ने हामीलाई लागेको छ ।
शतप्रतिशत सधैँ दलिने त हामी खुट्टा । हामीभन्दा धेरै दलिने को छ यस दुनियाँमा ? यो संसारमा ? मुलुकले नहेरे हामी अन्तर्राष्ट्रिय कानुनको शरणमा जान्छौँ ।
शरीरधारी दङ्ग छ तर खुट्टाको मर्म अर्कै छ । जुनसुकै जात, थर, वर्गको भएर के गर्ने ? धनीगरिब जोसुकै होऊन् । शरीरको तौलभन्दा ठूलो भारीसमेत बोकेर हिड्न बाध्य हुने हामी खुट्टा ! उता घुस, जुस, भुस जे खाएर मोटाए पनि त्यो भुँडीवाललाई बोक्नु परेको छ हामी दुईखुट्टाले । हाकिमसाहेबको ह्यामानको भुँडी गाडीबाट ओर्लनेबित्तिकै थाम्नुपरेको छ यही खुट्टाले । चोरफटाहाका मन र हातले बदमासी गर्छ अनि डाँडाकाँडा नभनी उसलाई जोगाउन कुद्नुपर्छ हामी खुट्टाले । अझ भाग्न सफल हामीलाई दागा धरेर भन्छन् भेटेको भए खुट्टो भाँच्थेँ। किन खुट्टो नै तारो हुन्छ ? कार्यालय बिदा होस्, काममा जान नपरोस् तर पनि झरीबादल, चीसोतातो नभनी हरेक प्रकार, प्रकृति र चरित्रका मान्छेलाई बोक्नु परिरहेको छ खुट्टाले । आजसम्म खुट्टाको समस्या कसैले बुझेको छ ? काँडो बिझोस्, गोलेनी फाटोस् घाउनै किन नलागोस्, सकीनसकी शरीर बोक्नै पर्छ खुट्टाले । कसले बुझेन खुट्टाको कथा र व्यथा ? मानिसको खुट्टा मानिसबाटै उपेक्षित छौँ । अपहेलित छौँ ।
पठ्ठी नानी मुखमा क्रिम पाउडर दल्छिन् तर तिघ्रादेखि तलका खुट्टाका भाग र भेग नाङ्गै राखेर अनुहारमा बैश देखाएर हिड्छिन् । उनीहरूबाट पनि खुट्टा दलित छौँ, पीडित छौं । गरिबले लाजमात्र छोपेर खुट्टातर्फ कपडाले छोप्न नसक्दाको खुट्टो पनि हामी नै हौँ । हिरोइनहरूले मुखमण्डलदेखि नाइटासम्म सिँगारे पनि खुट्टालाई अझै सकस दिन होला एकबित्ता अग्लो हिलजुत्ताले झनै सास्ति दिएका छन् हामीलाई । मान्छेले मुखले केही भन्यो, हातले केही गल्ती गरयो भने यही दलित खुट्टोलाई ताकेर तोकेर तेरो खुट्टो भाँच्छु भन्छन् । खुट्टा तान्ने धेरै छन् । खुट्टा समाउने, खुट्टामा छिर्की हान्ने खुट्टा तेस्र्याउनेजस्ता अवरोध खडा गर्छन् हामीलाईनै ।
साँच्चै भन्ने हो भने ज्ञानविज्ञानले पनि हामी खुट्टालाई त्यति हेरेको छैन । नाक, कान, आँखा, घाँटी, मुटु कलेजो, फोक्सो, किड्नी गुप्ताङ्ग केलाएर खेलाएर प्रत्येक अङ्ग हेर्ने छुट्टाछुट्टै डाक्टर भैसके । पुरुषले स्त्री अङ्ग र स्त्रीले पुरुषका अङ्ग हेरेर सही रोगको मात्रा मिलाएर लेख्ने डाक्टर भैसके । तैपनि आजसम्म खुट्टाको डाक्टर एउटा लेखिएको छैन, देखिएको छैन । हामीलाई दलितदलित गलितगलित बनाएका छन् सबै टाउकेहरूले ।
सुत्दा टाउकोलाई तकिया चाहिने, ओढ्दा टाउकोनै छोपिनुपर्ने, खुट्टो भने खाली ! बस्दा पुठोले कुर्सी, चकटी पाउँछ तर सधैँ दिनरात नभनी मान्छे बोकेर हिड्ने हामी खुट्टालाई सजिलो आसन कसले दिने ? लौ आफैँ भन्नोस्, खुट्टो कति दलित छ ? जात वर्ग लिङ्गका आधारमा दलित हुनेको बरु ज्यान पातलो हुँदा हामीलाई बोक्न हल्का होला, भकारीजत्रो भुँडी भएका खुरापाती हाकिम, पूरापाती ब्यापारीलाई डुलाएर हिड्न हामीलाई सधैँ हम्मेहम्मे परिरहेको छ । पहिले पहिले बरु बाबुले छोरालाई, सासूले बुहारीलाई खुट्टा माड्न लगाउँथे तेल दल्थे र त्यो परम्पराको पिँढी सर्दै जादा सबैका खुट्टाले राहत पाएका थिए । अहिले त्यो रुढ कुरो रुढी भयो । मसाज सेन्टरतिर गयो उल्टै इन्द्रियको सास्ति, पैसा नास्ति । पैसा नभई कसैका खुट्टा कसैले छुँदैन । नवबधूले जग्गेमानै श्रीमान्को खुट्टो छुन मोटो रकम मागेर मात्र छोएको त देखिहाल्नुभो । त्यसपछि न त रकम दिए न त खुट्टो छोइन् । खुट्टो सधैँ उपेक्षित, सधैँ दलित भएको छ । किन सघन उपचारदेखि सदन दुराचारसम्म खुट्टाको उपचार र उपकारका कुरा हुँदैनन् ? अब दोस्रो विधानसभामा पनि खुट्टाको सुनुवाइ भएन भने देशभरका हामी करोडौँ खुट्टा उचाल्छौं । यता जाम, उता जाम होइन खुट्टानै जाम गर्नेछौँ भन्ने खुट्टाको खवर सुनेपछि मैले पनि चुनाबमा भोटमाग्न गाउँपसेका नेताले जनतालाई मसारमुसुर गरेझैँ आफ्नो खुट्टामा आफैँले तेल दलेर मसारमुसुर गर्न थालेको छु !
ट्याङ्ला, कीर्तिपुर