कविताको हत्यारा !
हुन सक्छ
हत्यारा पनि कवि
तर
रुपान्तरित भएपछि कविमा
हत्यारा
रहिरहँदैन ऊ !
तुषारोले कटकटाएका
उसका दाँत
उज्यालोको आगमनपछि
परिवर्तित हुन्छन्
आफैं पनि प्रमुदित प्रकाशमा
संसारको दुखबाट निसृत
उसका वेदना
फूलहरूको प्रस्फुटनपछि
रुपान्तरित हुन्छन्
आफैं पनि सुविचारित सुवासमा
हुन सक्छन्
पृथक् उसका प्रतिध्वनि
हुन सक्छन्
असमान उसका स्वप्नबिम्ब
तर
पार गर्नै पर्छ उसले पनि
शब्दका हिमनदी
टेकेर खालि खाली पैतालाले
र
हुर्काउने पर्छ उसले पनि
चेतनाको मधुर भ्रुण
आफ्नै हृदयको न्यानो गर्भमा
सङ्गीत जस्तो
अमूर्त संवेगको थाँक्रो लगाएर
जतिसुकै झलमलाओस् न रवि
धर्तीमा पत्रपत्र परेका
अँध्याराहरू काटेर
जतिसुकै तताओस् न
ओसिला भीर
र
जतिसुकै समेटोस् न सुस्केरा र पिर
तर छुट हुन सक्तैन
उसैलाई पनि
उज्यालोको हत्या गर्न
अनि
कसरी छुट हुन सक्छ
एउटा सर्जकलाई
आफ्नै सिर्जनाको हत्या गर्न ?
भइसकेपछि
पटक पटक प्रमाणित
आफ्नै कविताको हत्यारा
ररिरहन्छ र ऊ
फेरि पनि
कवि नै ?
काठमाडौं