मेरा बा
आन्दोलन गर्ने भनी हिँडेका
फर्कदै फर्केनन्
आमा पनि खै कता हिँडिन्
बालाई पर्खंदै पर्खिनन्
अलिकति भएको श्रीसम्पती पनि
साहुको हातमा कसरी गयो थाहै भएन
म पनि
तिमी जस्तै
घाम खाँदै
झरी खाँदै
दुई चार बोतल लाउने भाको छु
सहिदज्यू हजुर पनि एक प्याक तान्ने कि ?
आज त जर्किन नै बोकी ल्याको छु ।

कसैले भन्छन्
मेरा बालाई गोली लागेको
कसैले भन्छन्
मेरा बालाई डोरीको फाँसी लागेको
तिम्रो नाममा कतिले पद जमाए
बाको नाममा कतिले दाम कमाए
तिमीलाई पनि कसैले पुज्दैनन्
सहिदको छोरो पनि
मलाई कसैले पुछ्दैनन्
त्यसैले मन भुलाउन
आज टुन्न लोकल ठर्रा लाको छु
सहिदज्यू एक गिलास लाउने कि
त्यसैले एक जर्किन नै बोकी आको छु ।

मेरै कोटामा
खै को डाक्टर बनी आयो रे
मेरै बाको नाममा पैसो निकालेर
खै कसले कति खायो रे
तिमी पनि बिच सडकमा दिन कटाउँदै छौ
म पनि सडक छेउमा रात कटाउँदै छु
सधैं भोको भए पनि आज खाको छु
म पनि तिमी जस्तै जिउँदो सहिद भाको छु
त्यसैले आज
टुन्न पेवर लोकल लाको छु
सहिदज्यू हजुर पनि
एक प्याक तान्ने कि
आज त जर्किन नै बोकी आको छु ।
दाङ, हाल– काठमाडौं