जीवनमा एउटा नयाँ अनुभूति । तीस वसन्त उकालो लाग्दासम्म चाख्न नपाएको स्वाद तर पनि त्यति धेरै रहरले कुत्कुत्याएन । किन कुत्कुत्याएन ? धेरै गफ लगाइयो भने तपाईँहरू नपत्याउन सक्नुहुन्छ, थोरै भनौँ भने पनि मनमा फेरि कसो–कसो हुने । एउटै शब्दमा नढाँटी बताउनुपर्दा कुरा के भने नि– दुलहा नबने पनि दुलहा भए पछाडि पाइने एउटा जवानीको मिठो स्वाद मैले धेरै पटक चाखिसकेको थिएँ । त्यसैले पनि नकुत्कुत्याएको हुनुपर्छ जवानीले, नअत्याएको हुनुपर्छ प्रत्येक थप वसन्तले । तापनि आज परिवेश नौलो छ, वातावरण नौलो छ, एउटा छुट्टै रौनक छाएको छ घरमा । मम्मी प्रशन्न मुद्रामा हुनुहुन्छ । आज वधु ल्याउने दिन । मनमा जतिसुकै आनन्द लागेजस्तो गरे तापनि भित्रभित्र कताकता दुख्ने गर्छ रे मम्मीहरूलाई आफू सासू बन्ने दिन । आजसम्मको आफ्नो एकलौटी छोरो अब बुहारीको कब्जामा हुने भयो भन्ने पिरले होला । तर यसमा भने मेरो चौरानब्बे प्रतिसत नै असहमति छ । आफू सासू बन्दा, आफ्नो वैंशको बेला, भर्खर विवाह भएको बेला श्रीमान–श्रीमतीको एउटा नौलो परिवेशको मज्जा लिएर आफ्नो छोरोलाई पनि सत् प्रतिशत बुहारीको एकलौटी हुन दिनुपर्छ । अनि बल्ल पो प्रत्येक ड्याडहरूले प्रत्येक मम्हरूलाई सय प्रतिशत नै अधिकार जमाउन सफल हुन्छन् ।
झ्याइँझ्याइँ पञ्चैबाजा बज्न थाल्यो, मेरो मन पनि त्यसै–त्यसै नाच्न थाल्यो । जन्तीको लस्कर निस्कन थाल्यो । कोही दुई पाङ्ग्रे, कोही चारपाङ्ग्रे, कोही चारखुट्टे, कोही मनखुट्टेमा सयर गर्न थाले । म पट्टिका सबैको आकर्षणको केन्द्रविन्दु म बनेको थिएँ । आजको दुलहा बाजे, आजको हिरो... आदि–आदि यस्तै शब्दगुच्छाहरूले झटारो हान्दथे मलाई आफ्नै दौँतरीहरूले । आफ्नै उमेरका साथीहरू बाउ–छोरा भएर मेरै बिहेका जन्ती भएर आउँदा म त्यसै त झरिसकेको थिएँ, किन झटारो हान्नुपर्दथ्यो र ? मेरो मन अमिलो भएर आयो । कता–कता आत्मग्लानिले पुत्पुतायो । बिहे आज हुँदैछ, भइरहेछ दुनियाँको आँखामा प्रमाणित रुपमा पञ्चैबाजा ठोकेर, फजुल खर्च धोकेर तर सुहागरात धेरै वर्ष अगाडि धेरै ठाउँमा बिताइयो भनौँ कि मनाइयो । त्यही बेलामा नै एउटा घुतुमुने छोरोको साहस पनि गरेको भए कसले इन्कार गर्ने थियो र ? आफू नै हुतिहाराको पोइ बनियो कति जनाको । हिसाब गरेर साध्य पनि छैन । यस्तै–यस्तै भावनाहरूमा भल्किन थालेँ म बेहुला भएर बेहुलीको घरतिर हिँडिरहेको यात्राभरि ।
तपाइँहरूले पत्याउनुहुन्छ भने मेरो लागि एउटा नयाँ अनुभव भनेको यही हो, जुन यात्राभरि कल्पना गरँ । नत्र भने बेण्डबाजा बजाएर बिहे नै नगरे पनि गर्लफ्रेण्ड भनाउँदाहरूलाई श्रीमतीलाई भन्दा पनि राम्रो व्यवहार त कति गरियो–गरियो । एउटी रसियन गल्र्स फ्रेण्डलाई दुई चार महिना मम् र ड्याड्कै घरमा राखेको थिएँ । छरछिमेकका सबैले मेरै श्रीमती भन्दारहेछन् । मैले त्यस्ता छरछिमेककाहरूलाई मज्जाले नै भनिदिएँ । यस्ता गर्ल फ्रेण्ड त मेरा थुप्रै छन् । कोही इण्डियन, कोही अमेरिकन्, कोही जापनिज, कोही कोरियन् ....। एउटी बूढीआमैले त बाबु गर्ल फ्रेण्ड भनेको दुलही हो भन्नुभएको थियो, मैले पनि लाजै नमानीकन उस्तै–उस्तै हो आमा भनिदिएको थिएँ । वास्तवमा आइमाईको जात नै अचम्मको, जति राम्रा भेटिए पनि अर्को दिनमा अझै अर्कीलाई राम्रो मानिने । मन उनैतिर तानिने । त्यसैले त होला गाँठे मर्दका दस गनिने ।
हो वास्तवमा मलाई समाजले धेरै छुट दिएको छ । मलाई मात्र नभनौँ, हामीहरूलाई धेरै छुट दिएको छ । बिहे नै नगरे पनि श्रीमती कतिओटालाई बनाइयो तर एउटा पनि प्रमाण केही छैन । आज कुमार केटो बनेर सुट, बुट र पाइन्टमा घाँटीभरि फूलको गुच्छा बोकेर स्वयम्बरको तयारीमा हिँड्दैछु । भित्रभित्रै अचम्मको गर्व लागेको थियो मलाई । बेहुली घरमा पुगिएछ, गाडी रोकियो । म भावना छोडेर यथार्थमा उभिएँ । बडो राम्रो स्वागतले जन्ती पर्सिने र स्वयम्वरको बेला भयो । मेरी हुन लागेकी वैधानिक श्रीमती सा¥है राम्री देखिएकी थिइन् दुलही पहिरनमा । मैले मुसुक्क हाँसेर उनको आंँलामा औंठी लगाइदिएँ । त्यतिबेला त्यस्तो खासै नयाँ अनुभूति केही भएन सुरुसुरुमा गर्ल फ्रेण्डसँग ठोकिँदा बरु कस्तो–कस्तो करेन्ट लागेजस्तो हुन्थ्यो । केही बेरमा नै कर्मका काम जति सबै सकियो । सबै घरतर्फ फर्कन थालियो । मेरो सिटमा वैवाहिक श्रृङ्गारमा सजिएकी अति राम्री बेहुली थिइन् । म त्यसै–त्यसै मख्ख परिरहेको थिएँ । पश्चिमतिर गाडीमा हिँड्दा पनि कामुक बन्ने मेरो बानी मन ढुक्क बनाएर प्रियाको सुकुमार चिउँडो मसार्न थालेँ । उनी लाजले रातो भइन् । मलाई अचम्म लाग्यो । गर्ल फ्रेन्ड्हरूलाई त यात्रा गर्दागर्दै के–के गरियो भने यिनी त अझ वैधानिक श्रीमती नै हुन् । किन लजाउनु परेको होला ? यस्तैलाई नै होला खेपा भन्ने । विचरी कस्ती मोरी आधुनिक बन्न पनि नजानेकी । यस्तै–यस्तै तन्द्रामा तन्किँदा तन्किँदै घर नजिकै आइपुगिएछ । दुलहा–दुलहीलाई हेर्न बस्ने मानिसको जमात व्यापक थियो ।
सबै विधि पु¥याएर हामीहरूलाई भित्र्याउने काम सम्पन्न भयो । आफूलाई त बेलैमा सुहागरातको तयारीमा बस्ने मन थियो तर नयाँ दुलहीलाई हेर्ने कामले बा¥ह नबजी कोठामा जान पाइएन । जब मैले उनलाई पहिलोपल्ट आफ्नी बनाउन थालेँ, त्यतिबेला मैले विगतमा बिताएका थुप्रैसँगका थुप्रै सुहागरातहरूको स्मरण भएर आयो । बत्तीको मधुर उज्यालोमा उनको सौन्दर्यमाथि गौण बनेर हेर्न थालेँ मैले । उनीभित्र मेरा अगाडिका थुप्रै गर्लफ्रेण्डहरू थुप्रैको आकृति सलबलाइरहेको पाएँ । आँखा क्रिष्टीको जस्तो, नाक रसुको जस्तो, कपाल पिङ्कीको जस्तो वक्षवदन लिजाको जस्तो उस्तै...आदि–आदि । उनलाई हेर्दाहेर्दै थुप्रै सुहागरातको मिठो स्वादमा हराइरहेँ म । उनी भने एउटा अनौठो मुहारमा, लज्जालु नजरमा मलाई हेरिरहेकी थिइन् । आफ्नै श्रीमती हुँदाहुँदै पनि उनीसँगै एक हुन निकै लामो समय लाग्यो । मलाई पूर्ण रुपमा थाहा भयो म त एउटा पाखे दुलहीको दुलाहा पो बन्न पुगेछु ।
वालिङ, स्याङ्जा